राजनीति

शेखर कोइराला भन्छन्- पन्ध्रौँ महाधिवेशनमा सभापतिमै उठ्छु, कन्फ्युजनमा कोही नपर्नुहोस् 

By खबरहब

October 18, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईँहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्,’कोइरालाले भने ।

कोइरालाले जतिसुकै कोशिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भने जति काम गर्न नसकेको समेत बताए ।

विराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौँ महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।