कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ? | Khabarhub Khabarhub

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण संघीय राजधानी उपत्यकाका तीनै जिल्लामा ठूलो क्षति गर्‍ यो । असोज १२ गते बिहानको बाढीमा खास गरी काठमाडौं र ललितपुरमा दर्जनौँ बासिन्दा बगिरहँदा सरकार पूरै निद्रामा थियो । निद्रामा यसअर्थमा थियो कि असोज १२ गते बिहानैदेखि बाढीमा परेका नागरिकले जगुहार मागिरहँदा राज्यसंयन्त्रको अत्तोपत्तो थिएन ।

त्यहीबेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा व्यस्त थिए । असोज १० गते महासभामा सम्बोधन गरिसकेकाले नेपालमा बाढीले बर्बादी निम्त्याइरहेका बेला उनलाई पनि छिटो आउन दबाब थियो । तर उनी समय छोट्याएर फर्किएनन् ।

असोज १२ गते बिहान बाढीले उपद्रो मच्चाएर ठूलो जनधनको क्षति गरिरहँदा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह भने दावाँली मिलन क्लबको कार्यक्रममा माला थापेर बसिरहेका थिए । त्यहीकारण नागरिकको उद्दार र राहतमा जुट्ने गरी संघीय सरकारको बैठक दिउँसो मात्रै बग्यो ।

उता बाढीमा बगेका नागरिकको बरु सर्वसाधारणले उद्दार गरेर ज्यान बचाए । अर्कातिर गृहमन्त्री रमेश लेखक पनि कुहिरोको काग बनेर अल्मलिएका थिए । तत्कालै सरकारले सुरक्षा संयन्त्रलाई उद्दारमा खटाउन सकेन । सुरक्षाकर्मी आफ्नो तरिकाले ढिलोगरि उद्दारमा जुटे, नागरिकको ज्यान बचाए ।

राज्यको प्रतिनिधिका रुपमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) ले सरकारको लाज ढाकिदिए । संघीय राजधानीमै निम्तिएको बाढीको बबार्दी हेर्न गृहमन्त्री लेखक १० दिनपछि बल्ल ललितपुर पुग्न भ्याए ।

प्रधानमन्त्री र अन्य मन्त्रीले त बाढी प्रभावित क्षेत्रमा निस्कने जाँगर नै चलाएनन् । बरु गृहमन्त्रीले संसदीय समितिमा पुगेर असोज १२ गते काठमाडौंको आकाशको भिजिबिलिट कम हुँदा बाढीपीडितको उद्दारमा समस्या भएको भनेर ढाँटिदिए । जबकि त्यस दिन बिहानैदेखि काठमाडौंको आकाशको भिजिबिलिटी ५ किलोमिटरभन्दा धेरै रहेको र जहाजहरू पनि निर्वाध उडेको विवरण त्रिभुवन विमानस्थल कार्यालयबाट सार्वजनिक भइसकेको छ ।

नेकपा एमाले–नेपाली कांग्रेसले बनाएको दुईतिहाइ बहुमतसहितको सरकारको काम गर्ने शैली कति चुस्ता दुरुस्त छ भन्ने कुराको पोल असोज १२ को बाढीले खोलिदिएको थियो ।

फेरि उही गल्ती

दुईतिहाइ बहुमतनजिकको शक्तिशाली सरकारले त्यस्तै गल्ती फेरि एक पटक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि दोहोर्‍याएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको अर्को ढिलासुस्तीका कारण फेरि हाँसीमजाक र आलोचना खेप्नु परेको छ ।

खासमा ८३ वर्षीय पूर्वसभामुख ढुंगानाको निधन आइतबार दिउँसो २ बजे नै नयाँबानेश्वरको फ्रन्टलाइन अस्पतालमा भएको थियो । कलेजोका बिरामी उनी २०४८ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । त्यसपछि उनी २०४८ असार ९ गते सभामु बने । उनले राजनीति, संसद् र मानवअधिकार क्षेत्रमा देशलाई गतिलै योगदान दिएका हुन् ।

त्यही भएर ओलीले आइतबार दिउँसो ३ बजे नै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलीका शब्द खर्चिए । ‘२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु’, ओलीले आइतबार दिउँसो नै भनेका थिए, ‘नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’

आइतबार दिउँसो श्रद्धाञ्जलीका शब्द खर्चिएका ओलीले त्यहीबेला मन्त्रिपरिषद् बैठक डाक्न सक्थे । संवैधानिक पद सम्हालिसकेको एकजना राजनीति व्यक्तित्वलाई गुमाउँदा देशले ठूलै क्षति भोगेको सन्दर्भमा आइतबार नै क्याबिनेट बोलाएर शोकसम्बन्धी निर्णय गराउन सकिन्थ्यो । तर सोमबार बिहान मात्रै मन्त्रिपरिषद्को नियमित बैठक बस्यो ।

पूर्वसभामुख ढुंगानाको श्रद्धाञ्जलीका लागि सोमबार शोक बिदा दिने निर्णय यही मन्त्रिपरिषद् बैठकले गर्‍यो । उक्त शोक बिदासम्बन्धी निर्णयबारेको जानकारी प्रधानमन्त्रीको सचिवालयले बिहान ९ बजेर ३० मिनेटमा ह्वाट्एप ग्रुपमा पठायो । जुनबेला विद्यार्थी, बैंकका कर्मचारी, सरकारी कर्मचारी र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू घरबाट निस्केर कार्यालयतर्फ हिँडिसकेका थिए । कोही कार्यालय पुग्दैथिए, कोही पुगेका थिए ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कार्यालय खुल्ने समयमा दिए । उनले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि कार्यालय खुल्नै लाग्दा सुनाए ।

अनौठो त के छ भने मन्त्रिपरिषद्को उक्त निर्णय औपचारिक रुपमा गृहमन्त्रालयले सार्वजनिक गर्दा मध्यान्ह सवा १२ बजिसकेको थियो । गृहले मन्त्रिपरिषद्को शोकबिदासम्बन्धी निर्णय सार्वजनिक गरिसक्दा अधिकांश सरकारी कर्मचारी पनि कार्यालयमा हाजिर भइसकेका थिए ।

विद्यालय र कार्यालय खुल्नेबेलामा सरकारले दिएको सार्वजनिक बिदा काठमाडौंमै लागु भएन । खासगरी विद्यालयहरूले यो बिदालाई मानेनन्, किनभने पढ्न आएका विद्यार्थी कक्षाकोठामा छिरिसकेका थिए । सरकारको यो निर्णय हिमाली र पहाडी जिल्लाका विद्यार्थी आधा बाटोमा पुगिसकेपछि आएको थियो ।

आलोचना र हाँसीमजाक

कार्यालय खुलिसकेपछि सरकारले दिएको यो सार्वजनिक बिदा सामाजिक सञ्जालमा मजाकको विषय बनेको छ । दमननाथको योगदानको सम्मानमा दिइएको शोक बिदाका नाममा सरकारले उनकै अपमान गरेको कुरा सामाजिक सञ्जालका टिप्पणीबाट बुझ्न सकिन्छ ।

ट्वीटरमा टुटुल्केले सरकारप्रति व्यंग्य कस्दै लेखेका छन्, ‘दमननाथ हिजो अप्रत्यासित रुपमा बिते, तैपनि ब्युँतिन्छन् कि भनेर सरकारले एक रात कुर्यो, तर फर्किएनन् । त्यसैले आज अप्रत्यासित रुपमै बिदा दियो ।’

ट्वीटरमै राजन दादाले सार्वजनिक बिदाबारे सरकार र कांग्रेस–एमालेको संयन्त्रलाई प्रहार गरेका छन् । ‘सार्वजनिक बिदा दिने निर्णय कतिखेर गुर्नपर्छ भनेर सुझाव चाहिँ संयन्त्रले दिन सकेनछन्, यो सर्कस जारी रहोस् ।’

रञ्जित तामाङले पनि शोकबिदाबारे सरकारमाथि कटाक्ष गरेका छन् । ‘बिदा हिजै बेलुका दिए हुन्थ्यो । लाखौँ मान्छेको कार्यतालिका बिग्रिने गरि कार्यालय लाग्ने बेला किन बिदा दिनु ? यसको असर कतिसम्म पर्छ भने, त्यत्रा सरकारी क्यान्टिनमा पाक्दै गरेको खाना खेर जान्छ । डुबेका ती साना व्यवसायीका कुरा कतिलाई ख्याल ठट्टा लाग्न सक्छ, तर तीतो यथार्थ यही हो ।’

समिरमणि दीक्षितले पनि देशलाई योगदान दिनेलाई आदर देखाउने अरु उपाय खोज्न सुझाएका छन् । ‘सार्वजनिक बिदाको लागि मापदण्ड तोकिएको छैन र ? कि सत्ताधारीले गर्ने हो आफूखुसी ? दिवंगतलाई आदर देखाउने अरु उपाय छैनन् हो ?’, उनले सोधेका छन् ।

शोकबिदालाई लिएर हिमाल दाहालले अर्को घतलाग्दो टिप्पणी गरेका छन् । ‘ सरकारले शोकबिदा दिएको बेला कर्मचारी साथी त फिल्म हेर्न र घुम्न चल्दिरहेका । अघि टिल्ल भइसकेछ । शोकभन्दा पनि मोज पो भो त यो’, उनले भनेका छन् ।

शोकबिदाबारे जगदीश थापाले मजाकसहित सरकारलाई ब्यंग्य गरेका छन् । ‘अफिसमा साथी शौचालय गएको बेला सार्वजनिक बिदाको सूचना आएछ । कार्यलय सहयोगीले शौचालयमा चाबी लगाएर घर हिँडेछ, भर्खरै साथीले फोन गरेर यस्तो बिजोग भयो भन्दै थियो’, उनले सरकारलाई यसरी व्यंग्य गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ५८ बजे

केपी ओली कप : गण्डकी र काठमाडौं फाइनलमा 

पोखरा– सीईसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप

राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

एजेन्सी – जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको

आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २६ वर्षपछि कार्यान्वयन हुँदै

काठमाडौं– जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण