ओलीलाई एमालेभित्रै ‘कु’ को डर | Khabarhub Khabarhub

ओलीलाई एमालेभित्रै ‘कु’ को डर

विद्यादेवी भण्डारीलाई ओलीको विकल्पमा उभ्याउने प्रयास



काठमाडौं– नेकपा एमालेभित्र सल्किएको भुसको आगो बाहिरै धुवाँउन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २९ र ३० गते एमाले मुख्यालय च्यासलमा आयोजित कार्यशाला गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे जे बोले, त्यसले एमालेभित्र देखिएको अन्तरविरोधको धुँवालाई सतहमा ल्याएको छ ।

एमाले अध्यक्ष ओलीले ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम लिएका हुन् । उनले पार्टीको आन्तरिक कार्यक्रममा भने, ‘पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किने रे, महाधिवेशनमा नै पो उठ्ने रे भन्ने हल्ला बाहिर चलेको छ । साथीहरूले के कुरा बुझ्नुपर्‍यो भने हिजो विद्या भण्डारीलाई एमाले पार्टीले नै राष्ट्रपति बनाएको हो । अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ । यस्ता कुरामा हल्ला गर्नुपर्दैन । उहाँले पार्टीमा फर्कने भए हामी नेतृत्वसँग छलफल गर्नुहोला नि । बाहिर हल्ला गर्नेहरूसँग गरेर त उहाँलाई पार्टी राजनीतिमा फर्कन गाह्रो होला ।’

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंखर पोख्रेलको नामै लिएर पार्टीभित्र उनीहरूको कुनै गुट नभएको बताए ।

‘विष्णु पौडेल गुट, शंखर पोख्रेल गुट, ईश्वर पोख्रेल गुट भनेर तल्लो तहका नेता तथा कार्यकर्तामाझ आफू हिरो हुनलाई हल्ला गरिएको छ रे’ ओलीले कार्यशालामा भने, ‘उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो । एमालेमा कसैको गुट–उपगुट छैन । माथि पार्टी एक ढिक्का छ, तल गुट भनेर मान्छेहरू खेलेका छन् । मलाई त अचम्म लाग्छ । यस्ता कुराका पछि नलाग्नू ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नो बचाउ गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको समेत प्रशंग कोट्याए । ‘चिनियाँ कम्युनिष्ट पार्टीले राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण छ । त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने कारण पनि विकास सहज भएको छ’ कार्यशालामा ओलीको भनाइ थियो, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई कहिल्यै पनि दोषी देखाउँदैनन् । यहाँ त केमा चित्त बुझेन भने यस्तो र उस्तो भन्ने चलन छ ।’

त्यसो त प्रतिपक्षी दल माओवादी केन्द्रले पनि पार्टीभित्रको अन्तरविरोधलाई भिन्न आकार दिनका लागि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा फर्काउने तयारी गरेको चर्चा छ । यससँगै एमालेभित्र ओलीलाई टक्कर दिने नेताका रूपमा पूर्वराष्ट्रपति भण्डारीको नाम चर्चामा ल्याउन थालिएको छ ।

कसले खोज्दैछ ओलीको विकल्प ?

भनिन्छ, हावा नचली पात हल्लिँदैन । पार्टीभित्र अध्यक्ष ओलीको विकल्पमा विद्यादेवी भण्डारी सक्रिय हुन लागेको चर्चा चुलिएपछि नै ओलीले यसबारे मुख खोलेका हुन् । विगतमा ओलीसँगै रहेका केही नेताहरु भण्डारीतिर ढल्किएको चर्चा एमालेमा व्यापक बनेको छ । च्यासलमा ओलीको बोलीले पनि यसलाई थप पुष्टि गर्छ ।

एमाले स्रोतका अनुसार विगतमा ओली गुटमै रहेका केही नेताहरु अहिले ओलीको कार्यशैलीसँग सन्तुष्ट छैनन् । साथै, विगतमा ‘१० भाइ समूह’ भनेर चिनिएका तर एकीकृत समाजवादीमा नलागेका केही नेताहरु पनि ओलीको विकल्प खोज्दै विद्या भण्डारीतर्फ नजिकिन थालेको स्रोतको दाबी छ ।

तर, ‘१० भाइ समूह’ मध्येका अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई र गोकर्ण विष्ट भने विद्या भण्डारीको कित्तामा लागेका छैनन् ।

एमालेमा ‘१० भाइ समूह’ भनेर विगतमा माधव नेपाल समूहमा रहेका तर एकीकृत समाजवादीतिर नलागी एमालेमै बसेका अल्पमत पक्षका नेताहरुलाई चिनिन्छ । जसमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, योगेश भट्टराई र भीम आचार्य पर्छन् ।

यी १० जनामध्ये घनश्याम भुसाल केही समयपछि एमाले छाडेर एकीकृत समाजवादीको महासचिव बनिसकेका छन् भने डा. भीम रावल एमाले नेतृत्वबाट बहिस्कृत अवस्थामा छन् ।

बाँकी रहेका ८ मध्ये योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहोरा ओलीसँग मत बझाउने अवस्थामा छैनन् । गोकर्ण विष्ट तटस्थजस्तै छन् । बाँकी ४ जना भने ओलीका आलोचक हुन् ।

त्यसो त माधवकुमार नेपालले विद्रोह गर्ने बेलामा, खासगरी संसद विघटनको विषयलाई लिएर पार्टीभित्र ओली पक्षले ‘१० भाइ समूह’ सँग लिखित सम्झौतासमेत गरेको थियो । त्यसलाई एमालेभित्रको ‘१० बुँदे सम्झौता’ भनेर चिनिन्छ ।

ओली पक्षले यसको इमान्दार कार्यान्वयन नगरेको भन्दै माधव नेपाल दोस्रो तहका नेताहरुलाई लिएर पार्टीबाट बाहिरिए भने माधव नेपाल समूहकै १० नेताहरु शुरुमा एमालेमै रहे ।

माधव नेपाल पक्षसँग ०७८ असार २७ मा १० बुँदे लिखित सहमति भएको थियो । र, यो सहमतिले पार्टीभित्रको अन्तरसंघर्षलाई सहमतिमा लगेर टुंग्याएको थियो । तथापि भीम रावलमाथि केपी ओलीले गरेको पेलान हेर्दा १० बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नभएको र संस्थापन पक्षले पार्टीभित्रको भिन्न मतलाई दमन गरिरहेको असन्तुष्ट पक्षका नेताहरुको आरोप छ । र, त्यही अन्तरविरोधको बाछिटा र तुष एमालेमा देखिन थालेको नेताहरु बताउँछन् ।

त्यसो त यसवीचमा पूर्वमाधव नेपाल समूहका नेताहरुले मात्र होइन, स्वयंओली समूहमै रहेका नेताहरुले पनि ओलीको विकल्प खोज्न थालेको चर्चा छ ।

केपी ओलीको ठाउँमा विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाएको खण्डमा वाम एकता हुन सक्ने कतिपय ओली समूहकै नेताको बुझाइ छ । जस्तो– ओली समूहकै नेताका रुपमा चिनिएका एमाले नेता कर्ण थापाले विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउन पाए पार्टी एकतावद्ध हुने एउटा अनलानइनलाई दिएको अन्तर्वार्तामा सार्वजनिकरुपमै बताइसकेका छन् ।

कर्ण थापाजस्तै ओलीको साथ छाडेर विद्या भण्डारीको पक्षमा लाग्ने यस्ता नेताहरुको संख्या बढ्दै गएको छ । उनीहरु आफू ‘एक्सपोज’ हुन चाहँदैनन् तर अब पार्टी बचाउने हो भने विद्याले नेतृत्व सम्हाल्नुपर्ने धारणा व्यक्त गर्छन् ।

राजनीतिक र कार्यनीतिक रुपमा पनि ओलीमाथि नेताहरुको असन्तुष्टि बढ्दै गएको छ । पछिल्लो समय नेपाली कांग्रेससँग गठबन्धन गरेको विषयमा ओलीले पार्टीभित्र सल्लाह नै नगरी गुपचुप काम गरेको गुनासो ओली समूहकै कतिपय नेताहरुको छ ।

प्रतिस्पर्धी दल नेपाली कांग्रेससँगको सहकार्यले एमालेलाई घाटा भइरहेको र यसले ०८४ को चुनावमा ठूलो क्षति पुर्‍याउन सक्ने असन्तुष्ट एमाले नेताहरुको तर्क छ । उनीहरुको तर्कलाई हालै सम्पन्न उपचुनावले समेत पुष्टि गरिदिएको एमालेका एक नेताले बताए ।

त्यसैगरी, पार्टी कार्यकर्ताबाट आर्थिक सहयोग उठाइरहेकै अवस्थामा विवादित व्यवसायी मीनबहादुर गुरुङसँग जग्गादान लिएको आरोप पनि ओलीमाथि लागेको छ । विगतमा ओली समूहमै रहेकी बिन्दा पाण्डेले त सार्वजनिकरुपमै मीनबहादुर प्रकरणको विरोध गरेकी छिन् । यसवापत पाण्डेलाई स्पष्टीकरणसमेत सोधिएको अवस्था छ ।

वामपन्थी दलवीच एकताको वातावरण बनाउनुपर्नेमा कांग्रेससँग मिलेर ओलीले झनै दुरी बढाएको गुनासो पूर्वराष्ट्रपति भण्डारीसमक्ष नेताहरुले गर्दै आएको एमाले नेताहरु बताउँछन् । तथापि भण्डारीले सार्वजनिक रुपमा ठोस प्रतिक्रिया दिएकी छैनन् ।

भण्डारीको ‘मुभ’

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि विद्यादेवी भण्डारी गतसाल जेठ १६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा एमालेको राष्ट्रिय महिला भेलामा सहभागी भइन् र भाषणसमेत गरिन् । त्यसअघि उनले बैशाख १० गते कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा गोदावरीमा एमाले पार्टीले प्रदान गरिएको ‘गणतन्त्र गौरब सम्मान’ ग्रहण गरिन् ।

तथापि भण्डारीले एमालेको नेतृत्वमा जाने खुलेर बताएकी छैनन् । सम्भावनाका ढोकाहरु भने बन्द नगरेको उनको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले ०८१ असारमा कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानसँगको राजनीतिक अन्तरवार्तामा भनेकी थिइन्–

‘तपाईंहरू सबैलाई के लाग्छ भने, म पार्टीमा सक्रिय भइरहेको छु । कहिलेकाहीँ कार्यक्रममा बोलाउँछन् । पार्टीले मलाई गणतन्त्र गौरव सम्मान अर्पण गर्ने भन्यो । देशको प्रधानमन्त्री भइसकेको नेताले बोलाएपछि म नजाने भन्ने हुँदैन । यी सबै कुराले गर्दा म एमालेमा सक्रिय भएँ, मैले सदस्यता पनि लिएँ भन्ने प्रचार भएको छ ।…..पदीय जिम्मेवारीमा रहने कुरालाई मैले ‘क्लोज’ पनि गरेको छैन । राष्ट्रको आवश्यकतालाई ‘ओपन’ नै राखेको छु ।….अहिलेसम्म पार्टीले तपाईं हाम्रो अनुबन्धमा हुनुभयो भनेर भनेको छैन । ‘सर्कुलर’ पनि गरेको छैन । मेरो सदस्यता नवीकरण गरेको भनेर कार्ड दिएको पनि छैन । मैले निवेदन दिएको छैन । दिनुपर्‍यो भने सहज रूपमै हुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्वमा फर्कने स्पष्टरुपमा नबताए पनि प्रधानमन्त्री ओलीले चाहिँ यो विषयलाई आफूमाथिको चुनौतीका रुपमा सोचेको उनको अभिव्यक्तिबाट आकलन गर्न सकिन्छ । किनभने, भण्डारीलाई तपाई पार्टी नेतृत्वमा फर्कनुपर्‍यो र अभिभावकत्व लिइदिनुपर्‍यो भनेर आग्रह गर्ने एमाले नेताहरुको संख्या बढ्दै गएको छ । र, ती नेताहरुको सूचीमा ईश्वर पोखरेल र विष्णु पौडेलको समेत नाम छ भन्ने रिपोर्टिङ ओलीलाई भएको छ ।

विद्या भण्डारीको नेतृत्वमा प्रचण्ड र माधवकुमार नेपालसमेत एकै ठाउँमा आउन सक्ने र विगतको नेकपासमेत ब्युँतिने कतिपयले विश्लेषण गरेका छन् । उता, एकीकृत समाजवादीका नेताहरुले ओली अध्यक्ष रहुञ्जेल एमालेसँग एकता नहुने बताउँदै आएका छन् । यो परिस्थितिमा विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाएर ओलीलाई प्रतिस्थापन गर्ने तयारी एमालेभित्रैबाट हुन थालेको सुइँको पाएका ओलीले च्यासलको कार्यशालामा त्यसको असन्तुष्टि पोखेका हुन् ।

पहिले सँगै, अहिले दुई फ्याक ?

राष्ट्रपति बन्नुपूर्व विद्यादेवी भण्डारी नेकपा एमालेकी उपाध्यक्ष थिइन् । तत्कालीन उपाध्यक्ष अशोक राईले पार्टी छाडेको, उपाध्यक्ष भीम रावल विस्तारै किनारामा पर्दै गएको र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि विद्यासँगको अन्तरविरोधका कारण छायामा परेको अवस्थामा केपी ओलीकै पहलकदमीमा विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्न सफल भइन् ।

राष्ट्रपतिमा रहँदा विद्याले संसद विघटन गर्ने ओलीको कदमलाई चलाखीपूर्ण तरिकाले साथ दिइन् र ओलीलाई सरकार र पार्टीको सत्तामा टिकाइरहन भूमिका खेलिन् । शायद उनले आफूलाई राष्ट्रपति बनाउने ओलीमाथिको ‘गुन’ तिरेकी थिइन् ।

एमालेमा केपी शर्मा ओली र विद्या भण्डारी एउटै गुटका नेता मानिन्थे । मदन भण्डारी जिवितै रहँदा ०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनमा सीपी मैनाली, झलनाथ खनाल लगायतले मदन भण्डारीको बहुदलीय जनवादको आलोचना गरेका थिए भने ओलीले खुलेर मदन भण्डारीलाई साथ दिएका थिए । त्यसबेला माधवकुमार नेपाल र वामदेव गौतम पनि ओलीजस्तै मदन भण्डारीकै जबजको लाइनमा थिए । सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ को वकालत गरेका थिए भने झलनाथले ‘जबज’लाई ‘दक्ष प्रजापतिको टाउको’ भनेर कटाक्ष गरेका थिए ।

दासढुंगामा मदन भण्डारीको मृत्यु भएपछि ०५० सालमा माधवकुमार नेपाल एमालेको महासचिव बने । त्यसबेलासम्म विद्या भण्डारी, केपी शर्मा ओली लगायतका नेताहरु पनि माधव नेपालकै पक्षमा रहे । त्यसबेला माधव, ओली, विद्या सबैजना मिलेर सीपी मैनालीलाई कर्नरमा पारेर पार्टी छाड्न बाध्य बनाएको गुनासो मैनालीले पोख्दै आएका छन् ।

माधव नेपाल करिब १५ वर्षसम्म एमालेको शीर्ष नेतृत्वमा रहे । यसवीचमा विस्तारै माधव नेपालसँग ओलीको दुरी बढ्दै गयो र त्यसमा विद्याले पनि ओलीलाई नै साथ दिइन् । यसबीचमा माधव नेपालसँग महाधिवेशनमा केपी ओलीले प्रतिस्पर्धा गर्दा विद्याले ओलीलाई सघाइन् । झलनाथ खनाल र ओलीबीचको प्रतिस्पर्धामा पनि विद्याले झलनाथलाई साथ नदिएर ओलीलाई नै साथ दिइन् ।

एक प्रकारले भन्ने हो हो भने विद्या भण्डारी नेकपा एमालेभित्र केपी ओलीको कोर टिमकै नेता हुन् । र, ओलीभन्दा ‘जुनियर’ हुन् । तर, पार्टीभित्र गुट चलाउन ओलीबाटै सिकेकी विद्याले दुई कार्यकाल उपाध्यक्ष रहँदासम्म ओली समूहभित्रै खुसुक्क आफ्नो बलियो उपगुट खडा गरिसकेकी थिइन् । राष्ट्रपति भएपछि त झनै उनको व्यक्तित्वले पनि साथ दियो र ओलीलाई नै चुनौती दिने ठाउँमा पुर्‍यायो । तथापि ओली अहिलेसम्म पुरानै पाराले ‘हामीले नै उहाँलाई राष्ट्रपति बनाएको हो’ भन्ने भाषा प्रयोग गरिरहेका छन् ।

एमालेका एक पुराना नेता भन्छन्, ‘मदन भण्डारीका पालामा एमालेभित्र सीपी मैनालीको गुटलाई ‘देखिने गुट’ भनिन्थ्यो । केपी ओलीको गुटलाई चाहिँ ‘नदेखिने गुट’ भनिन्थ्यो । पछि माधव नेपालका पालामा ओली समूह ‘देखिने गुट’ बन्यो, विद्या भण्डारीचाहिँ ओली समूहभित्रै ‘नदेखिने उपगुट’का रुपमा उदाइन् र बलियो बन्दै गइन् । शायद अहिले उनी ओली नेतृत्वको एमालेमा ‘देखिने गुट’ बन्न लागेकी छन् ।’

एमाले अध्यक्ष ओली ७२ वर्षे उमेर हद पार गर्ने अवस्थामा छन् । विद्या भण्डारी भने भर्खर ६३ वर्षकी भइन् । उमेरको हिसाबले सक्रिय राजनीति गर्ने सुविधा ओलीलाई भन्दा विद्यालाई बढ्ता छ ।

आगामी महाधिवेशनमा ओलीको उत्तराधिकारी बन्ने अन्य कुनै ठोस विकल्प नदेखिएको अवस्थामा विद्याले अध्यक्ष दाबी गरिन् भने के होला ? त्योबेला ओलीले विद्यालाई नै अध्यक्ष हस्तान्तरण नगर्लान् पनि भन्न सकिँदैन । किनभने, उनीहरुको विगतको गुट एउटै हो । तर, एमालेभित्र महाधिवेशनअघि नै अर्कै चिज पाक्न थालेको पो हो कि ? जसबाट ओली अलिकति आत्तिएको छनक च्यासलको उनको अभिव्यक्तिले दिन्छ ।

दुई दिनसम्म चलेको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष/महासचिव र महानगर/उपमहानगरकारका एमालेबाट निर्वाचित प्रमुख/उपप्रमुखहरू गरी करिब ३ सयजना सहभागी थिए । त्यहाँ ओलीले अमूर्तरुपमा विद्या भण्डारी पार्टीमा फर्कने सन्दर्भ कोट्याउनु र नेताहरुतिर फर्केर कसैको गुट छैन भन्नु निकै नै अर्थपूर्ण छ एमालेको आन्तरिक पार्टी जीवनमा ।

तथापि, ओली पक्षमा रहेका एमाले नेताहरु भने अध्यक्षको च्यासलको अभिव्यक्तिलाई सामान्य र स्वाभाविकै मान्छन् । राष्ट्रपति एमालेमा फर्कने कुरा बेमौसमी भएको उनीहरुको तर्क छ ।

एमालेलाई भलो नचिताउनेहरुले पार्टीभित्र गुटको हल्ला गरेका कारण अध्यक्षले यसलाई स्पष्ट पारेको तर्क एमाले सचिव पदमा अर्यालको छ । अन्य पार्टीमा गुट नै गुट छन्, एमाले त्योबाट पर भएकाले अफवाह गरे’ अर्याल भन्छिन्, ‘यो कार्यशालाले सबैलाई एक ढिक्का बनाएको छ । यो सन्देश पार्टीको तल्लो तहसम्म पुग्छ ।’

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पूर्वराष्ट्रपति पार्टीमा फर्कने भए पार्टीले सम्मानपूर्वक फर्काउने भन्दै महाधिवेशन अगाडि यो कुरा ‘बेमौसमको फल’ हुने बताउँछन् । उनी भन्छन्, ‘यसको सिजन महाधिवेशन नजिकिँदा हो । अध्यक्षले भन्नुभएको कुरा ठीक छ । उहाँलाई आवश्यकता परे पार्टीले फर्काउँछ ।’

एमालेमा विद्या भण्डारीको उदय

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन (०५० जेठ ३) अघि विद्यादेवी भण्डारी पार्टीको खासै जिम्मेवार भूमिकामा थिइनन् । तथापि उनी पञ्चायतकालदेखि नै पार्टी संगठनमा लागेकी थिइन् ।

पतिको निधनपछि ०५० सालमै काठमाडौं–१ को उपनिर्वाचनमा विद्याले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराइन् र संसदमा प्रवेश गरिन् । यहीँबाट विद्या भण्डारीको राजनीतिक उदय भएको मान्न सकिन्छ । पछि उनले ०५१ को मध्यावधि र ०५६ को आम निर्वाचनमा समेत काठमाडौं– १ बाटै लगातार जित हासिल गरिन् र मन्त्रीसमेत बनिन् ।

मदन भण्डारीको निधनको चार वर्षपछि ०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैठौं महाधिवेशनबाट विद्या भण्डारी एमालेको केन्द्रीय सदस्य चुनिइन् । ०५९ को आठौं र ०६५ को नवौं महाधिवेशनबाट उनी दुईपटक लगातार एमालेको उपाध्यक्ष निर्वाचित भइन् । १० औं महाधिवेशनमा भने राष्ट्रपति बनेका कारण उनको राजनीतिक सिलसिला टुट्यो ।

एमालेको महिला संगठनमा विद्याको बलियो पकड थियो । ०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष बनेकी उनी लगातार तीन कार्यकाल सो पदमा रहिन् ।

 

त्यसअघि उनले पार्टीभित्र ओली समूहको दरिलो साथ पाएर ०५० देखि ०५४ सम्म मजदुर विभागको इञ्चार्जको भूमिका निभाइन् । उनले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा समेत काम गरिन् । जसबाट उनले संगठनको तलैसम्म बलियो पकड जमाइन् । एमालेमा जिफन्टबाटै करिअर बनाएका विष्णु रिमाल (हाल प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार) सँग पनि जिफन्टमा रहँदा विद्याले सहकार्य गरिन् । एमाले पार्टीको ‘सोसियल इञ्जिनियरिङ’ मा रिमालको भूमिका प्रभावकारी रहेको बताइन्छ ।

भण्डारी ०५४ सालमा राप्रपाका लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकारमा वातावरण तथा जनसंख्या मन्त्री बनिन् । राप्रपा चन्द समूह र एमाले मिलेर बनेको उक्त सरकारलाई त्यसबेला ‘चमाले सरकार’को उपमा दिने गरिएको थियो ।

त्यसबेला तत्कालीन महासचिव माधवकुमार नेपालले विद्यालाई राज्यमन्त्री मात्र बनाउन चाहेका थिए । सिनियर नेताहरुको बरियतामा विद्याभन्दा माथि अरु पोलिटब्यूरो कमिटीका नेताहरु रहेकाले मन्त्री छनोट गर्दा पार्टीमा निश्चित विधि बनाउनुपर्छ, मदन भण्डारीकी पत्नी भएकै आधारमा मात्र विद्यालाई विशेष महत्व दिन मिल्दैन भन्ने नेपालको त्यसबेलाको तर्क थियो । तर, ओली समूहले दबाव दिएर उनलाई क्याबिनेट मन्त्री बनाइएको एमाले नेताहरु सम्झन्छन् । माधव नेपालको यही भूमिकाका कारण विद्या भण्डारी नेता नेपालसँग चिढिएको माधव पक्षका नेताहरुको विश्लेषण छ ।

आखिर ०५४ मा मन्त्री बनेकी विद्या ०६६ सालमा माधव नेपालकै प्रधानमन्त्रित्वकालमा रक्षा मन्त्री बनिन् । रक्षामन्त्रालय सम्हालेपछि भण्डारीको सेनामा पनि राम्रो प्रभाव रह्यो । उनले विवादमा नपरीकन मन्त्रालय सम्हालिन् र सेनाको विश्वास जित्न सफल भइन् । र, सेनाको परमाधिपतिका रुपमा राष्ट्रपति रहँदा पनि उनले नेपाली सेनासँग कुनै विवादमा मुछिनु परेन ।

ओलीको चरमोत्कर्ष

नेकपा एमालेमा खड्गप्रसाद (केपी) ओलीको उदय पनि रोचक र संघर्षमय छ । तेह्रथुममा जन्मेर झापा बसाइँ सरेका प्रधानमन्त्री ओलीले किशोरावस्थामै झापा आन्दोलनमा लागेका कारण औपचारिक शिक्षा खासै पठ्न पाएनन् । उनले माध्यमिक तहसम्म मात्र अध्ययन गरे । झापा काण्डमा सरिक भएको अभियोगमा उनले १४ वर्ष जेलमा बिताए र पञ्चायती व्यवस्थाको उत्तरार्धमा मात्रै बाहिर निस्कने अवसर पाए । उनी ०२८ देखि ०४४ सालसम्म जेलमै थिए ।

ओलीले ०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताइन्छ । ०४४ सालमा जेलमुक्त भएपछि तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य बनेका ओली ०५४ मा लुम्बिनी अञ्चल इञ्चार्ज बनेका थिए । बहुदल आएपछि उनी एमाले निकट युवासंघको प्रथम केन्द्रीय अध्यक्षसमेत बने । उनले ०४८ पछि केही समय पार्टीको विदेश विभाग पनि चलाए ।

संसदीय निर्वाचन ०४८ मा झापाबाट सांसद विजतेका ओलीले ०५१ को मध्यावधि चुनाव पनि जिते । त्यसबेला मनमोहन अधिकारीको नेतृत्वमा बनेको एकमालेको ९ महिने सरकारमा ओली गृहमन्त्री बनेका थिए । त्यहीँबाट राष्ट्रिय राजनीतिमा ओलीको व्यक्तित्वले उचाइ लिन थाल्यो ।

एमाले र माले विभापिजत भएका बेला ०५६ को आम निर्वाचनले ओलीले झापाका २ वटा निर्वाचन क्षेत्रबाट जिते । सीपी र वामदेवको नेकपा मालेलाई शून्य सिटमा झार्ने बताएका ओलीले सो पार्टीलाई शून्यमै झारेर देखाए, जसले गर्दा एमालेमा उनको पोजिसन थप बलियो बन्दै गयो ।

माओवादी जनयुद्धकालभर ओली माओवादीका चर्को आलोचक थिए । यसले गर्दा उनी माओवादी विरोधीहरुमाझ चर्चित बने । ०६२ को जनआन्दोलनपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ओली उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बने ।

तथापि ०६४ को पहिलो संविधानसभा चुनावमा ओली झापाबाट पराजित भए । अर्को वर्ष एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालविरुद्ध पार्टी अध्यक्षमा चुनाव लडेका ओली त्यहाँ पनि हारे । यी दुबै हार।का कारण उनले संसद र पार्टी दुबै ठाउँमा प्रतिनिधित्व गर्न पाएनन् । तथापि, पार्टीमा उनी स्थायी प्रतिपक्षजस्तो बने भने राजनीतिमा माओवादीको कडा विरोधी ।

दोस्रो संविधानसभा चुनावपछि ओलीको उदय सुरु भयो । झापाबाट उनले संसिवधानसभाको चुनाव जिते । लगत्तै पार्टी अध्यक्ष झलनाथ खनाललाई हराउँदै एमाले संसदीय दलको नेतासमेत भने । अर्को वर्ष ०७१ मा भएको नवौं महाधिवेशनमा उनले एमाले पार्टी अध्यक्ष पदमा समेत जित निकाले । र, त्यहीँदेखि गुटको नेता रहँदै आएका ओलीले समग्र पार्टीमाथि आफ्नो ‘अकुपाई’ स्थापित गरे ।

ओली ०७२ असोजमा संविधान जारी भएपछि माओवादी, राप्रपा र अन्य साना दलको समर्थनसहित पहिलोपटक प्रधानमन्त्री बने । तर, करिब ९ महिनापछि माओवादी र अन्य दलले समर्थन फिर्ता लिएपछि ०७३ साउनमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

माओवादीसँग अप्रत्याशित तालमेल गरेर ओलीले ०७४ को चुनावमा एमालेलाई पुनः सत्तामा पुर्‍याए । चुनावपछि एमाले र माओवादीवीच पार्टी एकता भयो र नेकपा बन्यो । ओली र प्रचण्ड दुबै अध्यक्ष रहे । ओली झण्डै दुई तिहाई बहुमतका साथ दोस्रोचोटि प्रधानमन्त्री बने ।

ओलीले नेकपाभित्रको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने स्थिति आएसँगै ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरे । नेकपा गम्भीर विवादमा फस्यो । ओलीले ०७८ बैशाखमा मध्यावधि चुनाव गर्ने मिति घोषणा गरेका थिए ।

तर, सर्वोच्च अदालतले ०७७ फागुन ११ मा प्रतिनिधिसभा पुनस्थापना गरिदियो । तर, फागुन २३ मा सर्वोच्चकै अर्को फैसलापछि नेकपा नाम खारेज भयो र एमाले–माओवादी विभाजित बने । ओलीले ०७८ बैशाखमा प्रतिनिधिसभामा विश्वास गुमाए । तर, शीतलनिवास र बालुवाटार मिलेर सत्तामा बसिरहने कुर्सीदौड चलिरह्यो । ०७८ जेठ ८ को मध्यरातमा ओलीले दोस्रोपटक संसद विघटन गरेर मध्यावधि चुनावमा जाने अर्को घोषणा गरे । सर्वोच्च अदालतले ०७८ असार २८ मा प्रतिनिधिसभा ब्युँताउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश थियो ।

संसद विघटनसम्बन्धी विवादकै कारण नेकपा एमालेमा विभाजन आयो । २२ सांसदसहित माधव कुमार नेपालले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरे ।

संविधान बनेपछिको दोस्रो आम निर्वाचन ०७९ मा एमालेविरुद्ध कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र घेराबन्दी बनेको थियो । तथापि ओलीले एमालेलाई समानुपातितर्फको पहिलो र प्रत्यक्षतर्फको दोस्रो दल बनाए ।
यसरी अनेकौं उतारचढाव झेल्दै राजनीतिमा टिकिरहेका ओली पछिल्लो समय अलोकप्रिय बन्ने शिलशिला सुरु भएको छ । ०७२ मा भारतले गरेको नाकाबन्दीको विरोध गरेर ‘राष्ट्रवादी’ छवि बनाएका ओली ०७४ को चुनावसम्म ‘पपुलर’ नेता थिए । तर, ०७९ मा आइपुग्दा ओलीको लोकप्रियतालाई चुनौती दिँदै रास्वपाले ११ लाख भोट खोस्यो, जसले गर्दा एमालेले एकल बहुमत ल्याउन त के, दोस्रो दलमा खुम्चनु पर्‍यो ।

अत्यधिक बहुमतसहित दोस्रो कार्यकालको प्रधानमन्त्री बनेका ओलीले बहुमत बचाउन र आफ्नै पार्टीलाई मिलाएर लैजान सकेनन् । हुँदाहुँदा अहिले उनले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने अनि वामपन्थी दल र नयाँ उदाएको रास्वपालाई चिढ्याउने नीति अवलम्बन गर्न पुगेका छन् । यससँगै नेपाली राजनीतिमा ओलीको लोकप्रियता चरमोत्कर्षमा पुगेर ओरालो लाग्ने क्रम सुरु भएको छ ।

स्यालको सिङ खोज्दै एमालेजन !

के अब अलोकप्रियताको सिँढी ओर्लन थालेको एमालेलाई विद्या भण्डारीले नेतृत्वमा आएर रोक्न सक्लिन् ? यसबारे हाल एकीकृत समाजवादीमा रहेका नेकपा एमालेका एकजना पूर्वनेताले रोचक विम्वको प्रयोगसहित कटाक्ष गरे । उनको दाबी छ, एमालेको स्खलनलाई रोक्न विद्या भण्डारी उपयुक्त विकल्प होइनन् ।

ती पूर्वएमाले नेताले कटाक्ष गर्दै खबरहबसँग भने, ‘मान्छेले व्यापार व्यवसाय डुब्यो र टाट उल्टियो भने मूलतः तीनवटा बाटो रोज्छ । एकथरि आत्महत्याको बाटो रोज्छन् । अर्काथरि विदेशतिर भासिन्छन् र ऋण तिर्ने प्रयास गर्छन् । तेस्रोथरि चाहिँ स्यालको सिङ खोज्नतिर लाग्छन् । अहिले एमालेका साथीहरु स्यालको सिङ खोज्नतिर लागेका छन् ।’

एमालेका ती पूर्वनेताको दाबीअनुसार वैचारिक र कार्यशैलीगत दुबै हिसाबले ओली र विद्याभण्डारीवीच खासै भिन्नता छैन । विगतमा ओलीले गरेको संसद विघटनलाई हेर्ने कुरामा होस् या पार्टीभित्रको फरकमतप्रतिको व्यवहार, दुबैमा यी दुई नेताको चिन्तनधारा एउटै हो ।

यति चर्चा गरिसकेपछि एमाले नेताहरुमाथि एउटा यक्ष प्रश्न तेर्सिन्छ– के आगामी महाधिवेशनमा केपी ओली र विद्या भण्डारीबाहेक एमालेमा अर्को नयाँ नेतृत्वको विकल्प नै छैन त ? पार्टीमा युवा नेतृत्व कहिले आउने ?

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ४२ बजे

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

कास्की – गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको

परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट