काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अब दुई खेल मात्रै बाँकी छन्– दोस्रो क्वालिफायर र फाइनल ।
दोस्रो क्वालिफायरमा एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुर बोल्टस् प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमसँग उपाधिका लागि भिड्ने छ ।
दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।
फाइनका लागि प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरका क्वालिफायरमा दोस्रो भेट हुनेछ । लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो । मंसिर १७ गते भएको त्यस खेलमा कर्णालीले दिएको १४१ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभर २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
डेब्यूमै अर्धशतक
एलिमिनेटरमा कर्णालीसँग २१ रनको पराजय भोगेपछि चितवन घर फर्किएको छ । अर्थात्, चितवन प्रतियोगिताबाट बिदा भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा १७५ रन बनाएको थियो । यसका लागि दुई ब्याटर जयकिशन कोलसावाला र विलियम बिस्सटोले अर्धशत पूरा गरे ।
चितवनविरुद्ध भारतीय खेलाडी जयकिशनको एनपीएलको डेब्यू खेल हो । उनले पहिलो खेलमै अर्धशतकसहित ५३ रन जोडे । २९ बल सामना गर्दै उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
विलियमले चितवनसँगको खेलबाटै प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीमा आफूलाई राख्न सफल भए । आजको खेलमा उनले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे ।
विलियमले पहिलो अर्धशतक विराटनगरविरुद्ध प्रहार गरेका थिए । त्यसबेला उनले ४९ बलमा ५ चौका ३ छक्काको सहयोगमा ६६ रन जोडेका थिए ।
बोपाराले उछिने रोहितलाई
एलिमिनेटर खेलमा १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका रवि बोपारले अर्धशतक प्रहार गरे । प्रतियोगितामा तेस्राे अर्धशतक प्रहार गर्ने उनी एक्ला खेलाडी हुन् ।
यसअघि उनले लिग चरणको खेलमा कर्णालीकै विरुद्ध र पोखराविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
यससँगै उनले लिगमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि राखे । बोपाराले लुम्बिनीका कप्तान रोहित पौडेलको कीर्तिमानी भङ्ग गरेका हुन् ।
रोहित लिग चरणका ७ खेलमा २७९ रन जोड्दै लिगको सबैभन्दा बढी रन प्रहार गर्ने ब्याटर थिए । कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेर बोपाराले लिग चरणको ७ र एलिमिनेटरको १ गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन् ।
बोपाराले कीर्तिमानी प्रदर्शन गरे पनि चितवनले नतिजा आफ्नो पक्षमा पार्न सकेन । अन्य खेलाडी नचल्दा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमा समेटियो ।
दोस्रो भेटमा पनि हार्यो जनकपुर
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जनकपुरका जेम्स नीशमले सर्वाधिक ४५ रन बनाए । अन्य ब्याटर सुदूरपश्चिमका बलरसामु टिक्न सकेनन् ।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गर्यो ।
८ विकेटको फराकिलो जित निकालेको सुदूरपश्चिमविरुद्ध जनकपुरका बलर चल्न सकेनन् । ललित राजवंशी र किशोर महतोले एक–एक विकेटमा चित्त बुझाए । अरु विकेटविहीन रहे ।
सुदूरपश्चिमविरुद्ध ४ ओभर बलिङ गरेर ३७ रन दिएका ललित खर्चिला सावित भए ।
३ ओभर बलिङ गरेका जनकपुरका जेम्स नीशमले २५ रन खर्चिए । ३ दशमलव ३ ओभर बलिङ गरेका मोहम्मद मोहसिनले ३३ रन दिए ।
बलर नचल्दा सुदूरपश्चिले दोस्रो भेटमा पनि जनकपुरलाई ८ विकेटको सहज जित निकाल्यो । यसअघि यी दुई टोली लिग चरणको खेलमा मंसिर २६ गते आमनेसामने भएका थिए । उक्त खेलमा पनि सुदूरपश्चिमले ७२ रनको सहज जित निकालेको थियो ।
त्यस खेलमा टस जितेर जनकपुरले पहिले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो ।
प्रतिक्रिया