कांग्रेस महासमिति बैठक पार्टी शुद्धिकरणका लागि अवसर | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक पार्टी शुद्धिकरणका लागि अवसर



नेपाली कांग्रेस पार्टीको महासमितिको बैठकमा जुटेको छ । पार्टीको विधान अनुसार हरेक वर्ष महाधिवेशन हुने र महासमिति बैठक भएको वर्ष बाहेक महासमिति बैठक गर्नै पर्ने एउटा बाध्यकारी वैधानिक व्यवस्थाका बाबजुद पनि पार्टी स्थापनाको साढे सात दशक लामो इतिहासमा १४ औँ महाधिवेशन यता उसले यो ११ औँ महासमितिको बैठक गरिराखेको छ । बैठक भइरहँदा पार्टी भित्र संस्थापन संस्थापन इतर वा अर्को तेस्रो धार फरक फरक धारको फरक फरक रणनीति देखिन्छ । जसलाई पार्टीले यति बेला विधान अधिवेशनको रूपमा वा नीति अधिवेशनको रूपमा व्याख्या गरेको छ । तर अहिलेको रणनीति हेर्दा संस्थापन इतरको धार  संस्थापन पक्षलाई गलाउने रणनीतिमा कमजोरी बनाउने छिद्र खोज्ने रणनीतिमा अहिलेको सत्ता गठबन्धनका सन्दर्भमा भएका विगतका भद्र अभद्र सहमति पुनर्विचार, समीक्षा गर्नुपर्ने रणनीतिमा उभिइराखेको देखिन्छ । कांग्रेस महासमिति बैठक : तीन समूहका तीन तयार, के गर्लान् देउवाले ? यिनै विषयमा जोडिएर राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

कांग्रेस यतिबेला ११ औँ महासमिति को बैठकमा छ । यो बैठकपछि राष्ट्रिय राजनीतिमा कांग्रेसले खेल्ने भूमिकामा तात्त्विक फरक होला ?
कांग्रेसभित्र अहिले जुन संस्थापनको बहुमत देखिएको छ । त्यो भित्र भएका तथ्यहरू अब सतहमा आउँदै छन् । अहिले देशको सबै भन्दा ठूलो समस्याका रूपमा युवा पलायन छ । त्यसलाई रोक्न पार्टी भित्र बाहिर युवा नेतृत्वहरुले दबाब सिर्जना गरेको देखिँदैन ।  गाउँ खाली हुँदै गइसके । पछिल्लो समय देशमा जुन किसिमको भ्रष्टाचार व्याप्त छ, सुशासन कायम गर्न युवाहरूले त्यो खालको दबाब पार्टीभित्र सिर्जना गरेको जस्तो देखिँदैन । यी समग्र कुराले कांग्रेस तल्लो तप्का कमजोर बन्दै गएको छ ।  अहिले आम्दानी कम र खर्च बढी छ । यो यथार्थले तल्लो तहका कार्यकर्तामा एकखाले दबाब छ । गठबन्धन नगरी चुनाव नजितिने भयो भनेर त्यसलाई सच्याउन केही विषय जल्दो बल्दो रूपमा उठाउने र त्यसभित्र सङ्घीयताको प्रश्न, निर्वाचन आयोगको गठबन्धन नगर्ने कुरा छ । हिन्दु राष्ट्रको एजेन्डा छ । संस्थापन र इतर दुईवटैले यस विषय इन्कार गर्ने ठाउँ छैन ।

पदाधिकारी रहेका युवा नेतृत्व र तल्लो तहबाट आउनेको हुटहुटीको मिलन विन्दु के हो ?

संविधानमा मौलिक हक भनेर शिक्षा र स्वास्थ्यको विषयमा कसैले सरकारको क्षमता पुग्दैन, पब्लिक कम्पनी बनाऊ त्यो विषयको बहस नै सुरु भएको छैन । सबै हामीले विदेश नै पठाउने भयौँ । बिरामी हुँदा एउटा नेतृत्व तहले सिटामोल पनि यहाँको नखाने भयो ।  यो परिवेशले जसको विरोध गर्‍यो, त्यसैलाई अप्रत्यक्ष  रूपले समर्थन गर्ने दोहोरो मुखुण्डो देखियो राजनीतिमा । त्यसको विरुद्ध जनताको भावना पार्टीले उठाउनु पर्छ धारणा आएको छ । त्यसमा केन्द्रीय नेतृत्वको ध्रुवीकरण कता छ त्यसले प्रभाव पार्छ । पछिल्लो समय भ्रष्टाचारका पक्ष कमजोर देखिन्छन् ।  पछिल्लो समय आएका ललिता निवास देखि पछि आएका काण्डहरूमा संस्थापन र इतर भएकाहरू को को पर्छन् भन्ने छ । यो कारणले पनि उनीहरूसँग नैतिक बल छैन र यो स्वर्णिम अवसर हो भनेर जो सत्तामा गएनन् तिनीहरूलाई एउटा मौका हो भन्ने देखिन्छ ।

हिजोको दिनमा संस्थापन धारको नेतृत्व देउवाले गरेका थिए । गत महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला अलग रंगमा देखिए । यसको मतलव कांग्रेसमा अब तेस्रो धारको जन्म हुँदै छ ?

संस्थापन भित्र देउवा र यता गगनहरूको समूह पनि संस्थापन इतर भन्दा फरक धारमा देखिन्छन् । यो परिदृश्यले हेर्दा नयाँ धारको उदय हुन्छ भन्ने देखिन्छ । किनकि अहिलेको सबैका आ–आफ्ना एजेन्डाहरूले अहिलेको राष्ट्र र पार्टीको एजेन्डालाई छुन्छ भन्ने आम बुझाइ पार्टी कार्यकर्ताको तल्लो तप्कासम्म छ । र उनीहरूको यो परिदृश्यले ०८४ को निर्वाचनमा आफ्नो हैसियत कमजोर हुने भएकोले ८० र ८१ मा नै पार्टीलाई एउटा संरचनामा लैजाऊ र नयाँ एजेन्डामा जाऊँ भनेर आउँछन् ।

नयाँ धारको नेतृत्व सम्भवतः हिन्दुत्वको पक्षमा उभिएका संघीयताको विरोध गर्नेहरू कांग्रेसको राजनीतिमा नयाँ धारको रूपमा स्थापित हुँदै छन् कि भन्ने हो ?

एजेन्डाहरूको आधारमा जस्तो : हिन्दुराष्ट्रको एजेन्डा, संघीयता विरुद्धका एजेन्डाहरू बलियो हुन सक्छन् । र त्यसले संविधान संशोधनमा यो संविधानलाई भारतले पनि पूर्ण रूपमा स्वीकार नगरेको देखिन्छ । राम मन्दिरको उद्घाटनपछि दक्षिणको राजनीतिमा फरक परिदृश्य छ ।

हिजो पार्टीको आन्तरिक व्यवस्थापन,  भातृ संस्था तथा शुभेच्छुक संगठनहरुको दुरावस्थाको एजेन्डा उठाएर नेतृत्व सम्हाल्ने नेताहरूले आफ्नो एजेन्डा बिर्सिएको अवस्था हो ?

पछिल्लो समय लोक रिझाउनकै लागि अलमलिएको आम युवाको आरोप छ । अर्कातिर पपुलिस्ट हुन गगन थापा पछि युवाको अर्को तप्का लागेको देखिन्छ । त्यसमाथि मतदाता पलायन हुँदै जाने, सनातन धर्मको एजेन्डा स्थापित गर्न सकियो भने पार्टी पुनर्ताजगी गर्न सकिन्छ भन्ने विश्वास पाल्नेहरूको अर्को पक्ष त्यतिकै लागेको देखिन्छ ।

अब नेतृत्व देउवाबाट पूर्णबहादुर खड्कामा नभएर अर्को पुस्तामा जाने देखिन्छ । त्यसको तयारी र अहिलेको जनदबाब भएको हुनाले यसको पृथक् धार निर्माण हुन्छ र पार्टीको नेतृत्व नयाँ नवीनतम सोच भएको पुस्ताले गर्छ कि जस्तो देखिन्छ ।

देउवाले यही सत्य बुझेर कतै गठबन्धनमा बढी जोडबल लगाएका त हैनन् ?

टीआरसी विधेयक पास हुने बित्तिकै आउने परिवेश, वैदेशिक ऋण बढेको, हेटौडा कपडा उद्योग नेपाली सेनालाई सञ्चालन गर्न दिने लगायतका कुरा हेर्दा कांग्रेस भित्र दुई वटा वैचारिक धारको ठुलो लडाइँ छ । एउटा बिपीको समाजवाद भनेर नाम बेच्न माहिर छ । अर्को बिपीको समाजवादलाई प्रयोग गर्ने सोच भएका नव उदारबादीहरु छन् । यो बीचको टकराबले पार्टीलाई कहाँ पुर्‍याउँछ ?

यो महासमिति बैठक केका विरुद्ध परिलक्षित होला ?

अहिले कांग्रेससँग ठूलो चेतना भएको नेतृत्व तह पार्टी पंक्तिमा आउने सम्भावना देखिन्न । यो सबै हुन नैतिक बल चाहिन्छ । युवापुस्ता पनि कुनै न कुनै रूपमा भ्रष्टाचारमा संलग्न भएको देखिँदा नैतिक बल भएको परिस्थिति बुझेको जुझारु नेतृत्व आवश्यक भएको हुनाले त्यो परिस्थिति निर्माण भएको देखिँदैन । त्यसैले यसमा नवीनतम विचारलाई पार्टीको अहिले भइराखेको संरचनाले पार्टी जोगाउन र देशका खातिर भनेर केही कुरा आउन सक्छ ।

त्यो ध्रुवीकरणको बाछिटा गठबन्धनमा पर्दा र सरकार फेरिने स्थिति आयो भने देउवामाथि निषेधको राजनीति सुरु होला ?

यसरी भ्रष्ट्राचारका प्रकरणहरू छान्दै जाने हो भने जो धेरै शक्तिमा बस्यो त्यो सँग जोडिन्छ । त्यसले पार्टी भित्र सुशासनका कुरा युवाले उठाए भने अहिले भएको नेतृत्व स्वघोषणा गरेर मैले रिटायर लिएँ भन्नुपर्ने परिस्थिति आउन सक्छ । अहिले युवाले यो महासमितिभित्र उठाउनुपर्ने विषय सुशासनको कुरा हो । स्वघोषणा गरेर पार्टीलाई शुद्धिकरणको बाटोमा लैजानुपर्ने हुन्छ । त्यस कारणले यो महासमितिमा आउने अधिकांश तह तप्काका मान्छेहरूले कुनै न कुनै रूपमा राज्यकोषका सुविधा भोगीहरू पनि छन् , त्यो कुरा उठ्छ भने महत्त्वपूर्ण हुन्छ ।

कांग्रेसले यो महासमितिको बैठकबाट सरकारको वा मन्त्रीको कामको समीक्षा हुन्छ भनेको छ । त्यो समीक्षा भयो भने जस–अपज के को पल्ला भारी होला ?

जब लोकतान्त्रिक पार्टीको चरित्र पार्टीमा नदेखिएपछि त्यो निहित स्वार्थका लागि प्रयोग भएको गुटले सञ्चालन गरेको गठबन्धन र सरकारमा जस परिणाममा त केही देखिएको छैन । परिणाम नदेखिएसम्म यसको जस पाउने त कुरा नै हुँदैन । पाउने त अपजस नै हो ।महासमिति बैठक आगो लागेर खरानी भइसकेपछि बोलाइएको दमकल हो । कांग्रेस यस्तो पार्टी हो, जहाँभित्र कुनै पनि एजेन्डाको अपनत्व कसैले लिँदैन । हामीले हाम्रो राजनीति र कांग्रेसको एजेन्डालाई यतिमा मात्र सीमित बनाएका छैनौँ, कसलाई सत्तामा लाने र आफ्नो निहित स्वार्थ पूरा गर्ने भन्ने छ ।

कांग्रेस आफै रक्षात्मक भएको बेलामा सिङ्गो राष्ट्रिय राजनीतिलाई के नेतृत्व गर्ला ?

अहिले सबै कुरामा आन्दोलन गर्ने जनशक्ति नै नेपालमा छैन । दलहरूले योजनाबद्ध ढङ्गले देशी विदेशी शक्तिहरूको स्वार्थभित्र रहेर सबै मानव बेच्ने र आफूले कमाउने मानव तस्करीको सङ्गठित सञ्जालले विद्रोह नहुने कुरामा उहाँहरू ढुक्क हुनुहुन्छ किनकि विद्रोह गर्ने शक्तिलाई त बेची सक्नुभयो । त्यसैले यो अवस्था कहालीलाग्दो छ । सबै गुटका युवाहरू एक भएर अगाडि बढे भने केही नयाँ हुन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : १६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला