महामन्त्रीको प्रतिवेदनले कस्सियो महासमितिको गाँठो, दबाबमा देउवा | Khabarhub Khabarhub

महामन्त्रीको प्रतिवेदनले कस्सियो महासमितिको गाँठो, दबाबमा देउवा



काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्र अघि महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमाथि तीव्र बहस भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकबाट टुङ्गिनुपर्ने प्रतिवेदनमा सभापति शेरबहादुर देउवाको असहतिका कारण अन्तिम रुप लिन सकेको छैन ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने उल्लेख छ । तर, सभापति देउवा चुनावी गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने पक्षमा छन् । यही विषयका कारण आजदेखि सुरु भएको महासमिति बैठकको उद्घाटन करिब डेढ घण्टा ढिला भएको थियो ।

महासमिति बैठकका लागि देशैभरबाट आएका दुई हजार बढी महासमिति सदस्यहरु समयमा कार्यक्रम सुरु नहुँदा अन्योलमा देखिन्थे ।
महासमिति बैठक उद्घाटन अघि नै प्रतिवेदनलाई टुङ्गोमा पुर्‍याउन पार्टी सभापतिसहित शीर्ष नेताहरुको प्रयास असफल भएको खबरपछि बैठक स्थलमा सहभागीहरुले समुह-समुहमा आफ्ना राय ब्यक्त गरिरहेका थिए ।

बागलुङदेखि महासमिति बैठकका लागि आएका हरिहर शर्मा पार्टी भित्रको यो विवादलाई सामान्य मान्न नसकिने बताउँछन् । उनी भन्छन, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन महामन्त्रीले तयार गर्ने हो । प्रतिवेदन पार्टीको विधि र विधान अनुसार नै तयार भएको छ । तर सभापतिज्यू किन यसमा असहति जनाइराख्नु भएको छ भन्ने अचम्म छ ।’ सधै कांग्रेस अर्काको सहारामा चल्न नहुने उनले राय ब्यक्त गरे ।

महामन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरेको चुनावमा गठबन्धन नगर्ने एजेण्डालाई कांग्रेसका सबै शुभेच्छुकले स्वागत गरेको उनी बताउँछन् ।
तर सभापति देउवा यो विषयमा सहमत हुन सकिरहेका छैनन् । महासमितिको बैठकलाई सम्बोधन गर्दै सभापतिले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तात्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।’

तर, महामन्त्री थापा अहिले नै गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने अडानमा छन् । अहिले नै चुनावी गठबन्धनबारे घोषणा गर्दा सत्ता गठबन्धनमा तलमाथि हुनसक्ने भय देउवामा देखिन्छ ।

पर्वतदेखि महासमिति बैठकमा आएका अर्का महासमिति सदस्य बसन्त सिके सभापतिमा देखिएको चुनावी भयले पार्टीलाई फाइदा नहुने बताउँछन् । उनी भन्छन, ‘सभापति गठबन्धनका विषयमा केही पनि बोल्नै चाहनुहुन्न, यसले पार्टीलाई कहाँ पुर्‍याउला ?कांग्रेसको तल्लो तह कहिल्यै पनि गठबन्धनको पक्षमा छैन् । तर सभापति गठबन्धनलाई आफ्नो अभिष्ट पूरा गर्ने हतियार ठान्नु हुन्छ ।’ उनले थपे कांग्रेस अझै पनि गठबन्धनको पछि लाग्ने हो भने आउँदो चुनावमा पार्टीले ठूलो क्षति ब्यहोनुपर्नेछ ।

सभापति देउवाले महामन्त्री थापाको मात्र होइन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको राजनीतिक प्रतिवेदनबाट पनि कोशीको प्रसंग हटाउन भनेका छन् । शर्माले कोशी प्रकरणपछि जुनसुकै बेलामा गठबन्धन संकटमा पर्नसक्ने उल्लेख गरेका छन् । सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा उभिएका छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा चुनावको विषय अहिले निर्णय गर्न आवश्यक नहुने बताउँछन् । उनी भन्छन, ‘चुनावको समयमा परिस्थिति अनुकूल निर्णय गर्ने अधिकार पार्टीमा हुन्छ । अहिले हतारमा निर्णय गर्नु उपयुक्त देखिदैन् । नेपाली कांग्रेसको देउवा पक्षधर नेताहरु गठबन्धनको विषयमा अहिल्यै कुनै निर्णय नगर्ने पक्षमा छन् ।

उनीहरु जसरी पनि गठबन्धनसँग सम्बन्धित बुँदा प्रतिवेदनबाट हटाउनुपर्ने पक्षमा देखिएका छन् भने महामन्त्री थापाले चुनावमा गठबन्धन गरेर नजाने भन्ने शब्द हटाउन नसक्ने बताउँदै आएका छन् । यो बुँदा प्रतिवेदनबाट हटाउँदा आफूले फरक मत ल्याउने चेतावनी महामन्त्री थापाले दिएका छन् । महामन्त्री थापाको प्रतिवेदनलाई डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरूले समर्थन गर्दै आएका छन् ।

सभापतिमाथि शंका
कांग्रेस महासमिति बैठकस्थल ललितपुरको गोदाबारीमा उद्घाटन सत्र ढिला गरी सुरु भयो । कांग्रेसको बैठकले तीन हजार क्षमताको सभाहल भरिभराउ मात्र थिएन्, बैठक स्थल बाहिर पनि शुभेच्छुकहरुको उपस्थिति उल्लेख्य थियो ।

ढिला गरी सुरु भएको कार्यक्रम लामो समय चल्ने हो कि भन्ने भयमा उपस्थित भएका शुभेच्छुक देखिन्थे भने महासमिति सदस्यहरु आजै बन्दसत्र सुरु होला कि भन्ने आशमा थिए । तर, कार्यक्रम सोचेको भन्दा फरक भयो । सभापति देउवाको आगमसनसँगै एक बजे तय भएको कार्यक्रम साढे २ बजेपछि मात्र सुरु भयो र डेढ घण्टामा कार्यक्रम सकियो ।

कार्यक्रममा कांग्रेस सभापति देउवा बाहेक उपसभापति धनराज गुरुङ, डिना उपाध्यायले मात्र सम्बोधन गरे । सभापतिको सम्बोधनपछि कार्यक्रम सकिएको जानकारी दिइयो र बन्दसत्र भोलिदेखि सुरु हुने सूचित गरियो । उद्घाटन सत्र डेढ घण्टामा सकिएपछि उपस्थित महासमिति सदस्यहरु भयमा देखिन्थे । सभाहल बाहिर निस्कँदै गर्दा उनीहरुले नीति माथिको मन्थन नभई कार्यक्रम यसैगरी सकिएका कि भन्दै एकअर्कामा कुराकानी गरेको सुनिन्थ्यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : १४ बजे

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं– सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य