काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न हुने एक प्रकारको रोग हो। शरीरको कुनै अङ्ग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ। यो शरीरको कुनै पनि भागमा हुनसक्छ। धेरैजसो मानिसलाई पेटको हर्निया हुनसक्छ। समयमै उपचार गरे यो पूर्ण रुपमा निको हुने चिकित्सक बताउँछन्। समयमै उपचार नगरी लापरवाही गरेमा ज्यानै जाने जोखिम हुने भएकाले समयमै उपचार गर्न चिकित्सकको सुझाव छ। हर्निया कस्तो रोग हो ? यो के कारणले लाग्छ ? समयमा उपचार नभएपछि कस्तो जोखिम हुन्छ ? यसबाट बच्न के गर्ने ? यी र यस्तै विषयमा आधारित भएर मेडिसिटी अस्पतालमा कार्यरत ग्याष्ट्रो सर्जन डा. पवन सिंह भाटसँग गरिएको कुराकानी :
हर्निया कस्तो रोग हो ?
शरीरको कुनै पनि भागमा नहुनुपर्ने ठाउँमा प्वाल भएर भित्रको अंग बाहिर निस्किएको अवस्थालाई हर्निया भनिन्छ। हर्निया भएको भाग सुन्निने हुन्छ।
यो के कारणले हुन्छ ?
हर्निया हुनुका मुख्य दुई वटा कारण छन्। एउटा कञ्जनाइटल हर्निया हो। जुन जन्मजातै हुन्छ। अर्को भनेको अक्वाइड हो। जुन ठुलो उमेरमा हुन्छ। यो धूम्रपान गर्नेहरूको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रुक्क भएर बस्दा पनि हर्निया हुनसक्छ। सामान्य अर्थमा भन्नुपर्दा केही बलपर्ने कामहरू गर्दा हर्निया हुन्छ। जस्तो मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर भएर हर्निया हुने सम्भावना हुन्छ। वृद्धहरूमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्ने हुँदा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना उच्च हुन्छ।
हर्निया हुनुका मुख्य दुई वटा कारण छन्। एउटा कञ्जनाइटल हर्निया हो। जुन जन्मजातै हुन्छ। अर्को भनेको अक्वाइड हो। जुन ठुलो उमेरमा हुन्छ।
शरीरको कुन भागमा हर्नियाको जोखिम धेरै हुन्छ ?
इन्गुइनल हर्नियाः पेटमुनीको भागमा हुन्छ। यो महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ।
अम्बिलिकल हर्नियाः यो पेटको हर्निया हो। जसमा बिरामीको आन्द्राको कुनै भाग आफ्नो झिल्लीबाट बाहिर निस्किन्छ। यो निकै सामान्य मानिन्छ। विशेषगरी पेटको शल्यक्रिया पश्चात हुन्छ। त्यस्तै बच्चा जन्मिसकेपछि नाबी काट्दा त्यो प्वाल बन्द नभएर हुने हुन्छ।
एपिग्याष्ट्रिकः यो नाइटो र करङ बिचको भागमा हुने हर्निया हो।
फिमोरल हर्नियाः यो तिघ्रामा हुन्छ। जसले महिलालाई धेरै दुःख दिएको हुन्छ। यसका साथै लम्बर, प्यारास्थोमल, इन्सिस्नल, हिएटललगायतका हर्निया हुन्छन् ।
यसका लक्षण कस्ता देखिन्छन् ?
कुनै पनि प्वाल नहुनुपर्ने ठाउमा प्वाल पर्ने, फुलेर डल्लो जस्तो निस्किने हुन्छ। त्यो डल्लो सुत्दा भित्र छिर्ने र उठ्दा बाहिर देखिने हुन्छ। धेरै बिरामीमा देखिने लक्षण यही नै हो।
हर्निया महिला भन्दा पुरुषलाई धेरै हुन्छ किन ?
पुरुषको तुलनामा महिलामा कम देखिने हो। किनकी पुरुषको अण्डकोष पेटमा हुन्छ। त्यो आएर तल बस्ने हो। त्यसमा केही समस्या आउँदा हुने हो। त्यस्तै पुरुषले ठूलो भारी उचाल्ने काम गरेका हुन्छन्। पुरुषले बढी खेतका काम गर्ने भएको कारणले यो समस्या देखिन्छ। उमेर बढ्दै गएपछि पिसाब गर्दा कन्ने समस्या हुने हुँदा पनि यो समस्या पुरुषमा बढी देखिने गरेको छ।
नेपालमा हर्नियाको समस्या एकदमै सामान्य मानिन्छ। कृषि प्रधान देश भएकाले शारीरिक क्रियाकलाप धेरै हुने भएकाले यसको समस्या धेरैलाई देखिने गरेको छ।
समयमा उपचार नभएपछि कस्तो जोखिम हुन्छ ?
समयमा उपचार भएन भने पेटतिर बाँडिएर जान्छ। जस्तो नाइटोमा पुक्क फुलेर बसिरहेको हुन्छ। यो कुनै प्रेसर पर्यो भने जुन ठाउँमा सानो प्वाल हुन्छ। त्यहाँका मसल्स बाहिर निस्किन्छन्। धेरै जसो समस्यामा पेटबाट बोसो बाहिर निस्किन्छ। सुतेपछि आफै भित्र पस्छ त्यो सामान्य हो। तर कुनैकुनै अवस्थामा आन्द्रा निस्कियो र भित्र छिर्न पाएन भने च्यापिएर आन्द्रा नै कुहिन सक्छ। यो अवस्थामा काटेर फाल्नु पर्ने हुनसक्छ। त्यो आन्द्रा कुहिएपछि रक्त संक्रमण सेप्सिसमा गएर बिरामीको ज्यान पनि जानसक्छ। कुनै अवस्थामा बोसो पनि निस्किएर भित्र नछिरेर बाहिर नै बस्यो भने त्यो कुहिएर समस्या आउनसक्छ त्यसैले समस्या आउने बित्तिकै उपचार गर्नु आवश्यक छ। त्यसले गर्दा जीवन जटिलतातर्फ जानसक्छ।
नेपालमा हर्नियाका बिरामीको अवस्था के छ ?
नेपालमा हर्नियाको समस्या एकदमै सामान्य मानिन्छ। कृषि प्रधान देश भएकाले शारीरिक क्रियाकलाप धेरै हुने भएकाले यसको समस्या धेरैलाई देखिने गरेको छ।
कुन उमेरमा बढी देखिने गरेको छ ?
कन्जनाइटल हर्निया बच्चामा बढी देखिने गरेको छ। त्यस्तै उमेर भइसकेका ६० वर्ष कटेका मानिसमा पनि एकदमै धेरै देखिने गरेको छ।
यसको उपचार विधि के छ ? अप्रेशन मात्रै विकल्प हो या औषधीबाट पनि निको हुन्छ ?
हर्निया भनेको एउटा प्वाल हो। त्यसको विकल्प भनेको टाल्नु नै हो। त्यसैले हर्नियाको लागि अप्रेशन बाहेक अरु उपचार छैन। कहिलेकाहीँ कासमा हुने हर्निया जुन अप्रेशन नै गर्न नमिल्ने खालको हुन्छ। त्यस्तोमा अवस्थामा चाहिँ औषधी नै दिन नमिल्ने खालको बिरामीहरु परे भने हर्निया बेल्ट भन्ने हुन्छ त्यसको प्रयोग गर्न सकिन्छ। तर यो उपचार होइन रोकथाम मात्रै हो।
जन्मजात नै हुने हर्निया पनि रोकथाम हुनसक्छ। पेटको कुनै पनि भागमा एउटा डल्लो आउँछ र पछि आफै भित्र जान्छ भने हर्निया हुनसक्ने भन्ने हुन्छ। त्यस्तो अवस्थामा एक पटक चिकित्सकको सल्लाह लिनुपर्छ ।
यसबाट बच्न के गर्ने ?
पेटमा प्रेसर हुने काम नगर्ने, लामो समयसम्म उभिएर गर्ने काम छ भने बेला बेलामा आराम गर्ने, दीर्घ रोगी छन् भने खोकी लाग्दा विस्तारै खोक्ने। खोकी निको पार्ने औषधी खाने, पिसाब गर्दा समस्या छ र बल गर्नुपर्छ भने तत्काल उपचार गर्नुपर्छ। कब्जियत छ, दिसा गर्दा समय घटाउने गर्नुपर्छ। समयमै कब्जियतको उपचार आवश्यक हुन्छ। जन्मजात नै हुने हर्निया पनि रोकथाम हुनसक्छ। पेटको कुनै पनि भागमा एउटा डल्लो आउँछ र पछि आफै भित्र जान्छ भने हर्निया हुनसक्ने भन्ने हुन्छ। त्यस्तो अवस्थामा एक पटक चिकित्सकको सल्लाह लिनु पर्दछ। समयमा उपचार गर्दा यसको यो पूर्ण रुपमा निको पार्न सकिन्छ।
प्रतिक्रिया