ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा | Khabarhub Khabarhub

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा



काठमाडौं– ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको छ । गत तीन दिनदेखि लगातार वर्षा हुँदा फ्लाइओभर निर्माणले गति लिन नसकेको हो ।

फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ-बायाँ ‘ब्यारियर’ वाल राख्ने काम बाँकी नै छ । पानी परेपछि त्यहाँसम्म जाने पहुँच सडकसम्म र्‍याम्प निर्माणले गति लिन नसकेको आयोजना प्रमुख राकेश महर्जनले बताए ।

‘हरेक स्लोपमा ‘कम्प्याक्सन’ गर्दै जानुपर्छ । बर्खाका कारण माटो हिलो हुने हुँदा राम्रोसँग ‘कम्प्याक्सन’ हुन सक्दैन । सुख्खा भएको बेला गर्नुपर्छ,’ उनले भने, ‘केही दिनयता बिहान र बेलुका पानी परेकाले त्यो काम हुन सकिरहेको छैन ।’


मुख्यगरी अब पहुँच सडक, ट्राफिक लाइट जडान लगायतका केही काम बाँकी छन् । उनका अनुसार पहुँच मार्ग निर्माण कार्य पनि ८० प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख महर्जनका अनुसार फ्लाइओभरको समग्र प्रगति ७५ प्रतिशतभन्दा बढी छ । यसअघि असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ यातायात सञ्चालन गर्ने लक्ष्य लिइएकोमा वर्षाका कारणले आयोजना निर्माण अवधि केही लम्बिने महर्जनले खबरहबलाई जानकारी दिए ।

‘पूर्वनिर्धारित लक्ष्य असार मसान्तसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन नै गर्ने भन्ने हो । तर, वर्षाका कारण सकिएला जस्तो छैन,’ उनले भने, ‘ठेक्का अवधि आगामी २०८१ पुस ८ सम्म रहेकाले दशैंसम्म सम्पूर्ण निर्माण सकेर यातायात चलाउने योजना छ ।’

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनपछि फ्लाइओभर निर्माणका लागि १० महिना म्याद थप भएको थियो । असार र साउनमा भारी वर्षा हुँदा निर्माणले गति लिन नसक्ने हुनाले आयोजना निर्माण अवधि केही लम्बिने देखिएको हो ।

पछिल्लो ६ महिनायता फ्लाइओभर निर्माण गति तीव्र थियो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्न लागेको उक्त फ्लाइओभरको ठेक्का आशीष समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको छ ।

गत २०७८ फागुन १२ मा निर्माण सुरु भएको फ्लाइओभर २ वर्षमा सम्पन्न हुने ठेक्का सम्झौता थियो । तर, तोकिएको समयभित्र फ्लाइओभर निर्माण नभएपछि २०८० चैतमा १० महिना म्याद थप गरिएको थियो ।

ग्वार्को फ्लाइओभरको ठेक्का १७ करोड ८ लाख रुपैयाँमा लगाइएको हो । हालसम्म कुल लागतको ३५ प्रतिशत रकम खर्च भएको आयोजनाले जानकारी दिएको छ । अन्तरराष्ट्रिय मापदण्डमा तयार हुने यो यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुनेछ ।

बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाईको उक्त फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माण पश्चातः ५ वर्ष मर्मत र सम्भार स्वयम्‌ ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : २५ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय