ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा « Khabarhub

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा



काठमाडौं– ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर निर्माण वर्षाका कारण लम्बिने भएको छ । गत तीन दिनदेखि लगातार वर्षा हुँदा फ्लाइओभर निर्माणले गति लिन नसकेको हो ।

फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ-बायाँ ‘ब्यारियर’ वाल राख्ने काम बाँकी नै छ । पानी परेपछि त्यहाँसम्म जाने पहुँच सडकसम्म र्‍याम्प निर्माणले गति लिन नसकेको आयोजना प्रमुख राकेश महर्जनले बताए ।

‘हरेक स्लोपमा ‘कम्प्याक्सन’ गर्दै जानुपर्छ । बर्खाका कारण माटो हिलो हुने हुँदा राम्रोसँग ‘कम्प्याक्सन’ हुन सक्दैन । सुख्खा भएको बेला गर्नुपर्छ,’ उनले भने, ‘केही दिनयता बिहान र बेलुका पानी परेकाले त्यो काम हुन सकिरहेको छैन ।’


मुख्यगरी अब पहुँच सडक, ट्राफिक लाइट जडान लगायतका केही काम बाँकी छन् । उनका अनुसार पहुँच मार्ग निर्माण कार्य पनि ८० प्रतिशत सकिएको छ ।

आयोजना प्रमुख महर्जनका अनुसार फ्लाइओभरको समग्र प्रगति ७५ प्रतिशतभन्दा बढी छ । यसअघि असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ यातायात सञ्चालन गर्ने लक्ष्य लिइएकोमा वर्षाका कारणले आयोजना निर्माण अवधि केही लम्बिने महर्जनले खबरहबलाई जानकारी दिए ।

‘पूर्वनिर्धारित लक्ष्य असार मसान्तसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन नै गर्ने भन्ने हो । तर, वर्षाका कारण सकिएला जस्तो छैन,’ उनले भने, ‘ठेक्का अवधि आगामी २०८१ पुस ८ सम्म रहेकाले दशैंसम्म सम्पूर्ण निर्माण सकेर यातायात चलाउने योजना छ ।’

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनपछि फ्लाइओभर निर्माणका लागि १० महिना म्याद थप भएको थियो । असार र साउनमा भारी वर्षा हुँदा निर्माणले गति लिन नसक्ने हुनाले आयोजना निर्माण अवधि केही लम्बिने देखिएको हो ।

पछिल्लो ६ महिनायता फ्लाइओभर निर्माण गति तीव्र थियो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्न लागेको उक्त फ्लाइओभरको ठेक्का आशीष समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको छ ।

गत २०७८ फागुन १२ मा निर्माण सुरु भएको फ्लाइओभर २ वर्षमा सम्पन्न हुने ठेक्का सम्झौता थियो । तर, तोकिएको समयभित्र फ्लाइओभर निर्माण नभएपछि २०८० चैतमा १० महिना म्याद थप गरिएको थियो ।

ग्वार्को फ्लाइओभरको ठेक्का १७ करोड ८ लाख रुपैयाँमा लगाइएको हो । हालसम्म कुल लागतको ३५ प्रतिशत रकम खर्च भएको आयोजनाले जानकारी दिएको छ । अन्तरराष्ट्रिय मापदण्डमा तयार हुने यो यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुनेछ ।

बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाईको उक्त फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माण पश्चातः ५ वर्ष मर्मत र सम्भार स्वयम्‌ ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : २५ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न