खैरहनीमा चैते धानको उत्पादन वृद्धि « Khabarhub

खैरहनीमा चैते धानको उत्पादन वृद्धि


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन –  चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्धि भयो । केसीले भने, “गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।”

धान उत्पादन बढेको देखेर उनी मख्ख छन् । धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार ८ सयबाट सुरु भएर तीन हजार पुगेकोमा यसवर्ष ३२ सयबाट सुरु भई घट्दो क्रममा रहेको बताए ।

उनले भने, “चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ । आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ ।” उत्पादन भएका धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या नहुने उनको भनाइ छ ।

खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झण्डै दुई बिघा खेतमा चैते–५ धान मेसिन प्रयोग गरेर लगाए । उनले भने, “मैले डेढ बिघा खेतमा मेसिन प्रयोग गरेर धान लगाएँ, बाँकी जग्गामा पुरानो तरिकाले लगाउँदा मेसिन प्रयोग गरेको स्थानमा बढी धान फलेको छ । रोग कीरा पनि लागेको छैन ।”

उनले आफूले लगाएको दुई बिघा जमिनमा यसवर्ष प्रतिकट्ठामा दुई दशमलव पाँच क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट रहेको बताए ।खैरहनी १२ का वडा सदस्यसमेत रहेका किसान श्याम रेग्मीले यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको जानकारी दिए ।

उनले भने, “चैते धानको उत्पादनबाट हामी सन्तोषजनक छौँ ।” उनले चैतै धानको उत्पादनबाट यस वर्ष एक सय २२ बिघा खेत भएको वडा नम्बर १२ मा मात्रै रु १४ करोडको चैते धान बिक्री भएको जानकारी दिए । यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको उनको भनाइ छ ।

खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्धि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिए ।

यसवर्षको चैते धान ४० प्रतिशतले वृद्धि भएको कृषि शाखाले जनाएको छ । खैरहनी नगरपालिकाको खेतीयोग्य जमिन पाँच हजार आठ सय ८२ दशमलव चार हेक्टरमध्ये पाँच हजार आठ सय ९९ हेक्टरमा धान खेती गरिँदै आएको छ ।

न्यौपानेका अनुसार तीन हजार पाँच सय ४८ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइन्छ । चैते धान काट्ने समयमा धानको दानामा लाग्ने डडुवा र ‘नेक ब्लाष्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो ।

यस वर्ष चैते धान १४ हजार दुई सय ७० दशमलव ५७ मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ । गत वर्ष यहाँ नौ हजार आठ सय ७६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यस वर्ष बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ । त्यसैगरी पिआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धानहरु पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ५४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।