राजनीति

माओवादी बैठक : अखिल क्रान्तिकारीको सम्मेलन १० दिनभित्र गर्ने निर्णय

By खबरहब

September 19, 2024

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संगठन इन्चार्ज र अध्यक्षसँग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

प्रवक्ता सापकोटाले पार्टीलाई बलियो बनाउन जनवर्गीय संगठनहरूको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

अहिलेको भू–राजनीतिक अवस्था थप जटिल हुँदै गएकाले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाइने उनले बताएका छन् ।

अखिल क्रान्तिकारीले केही प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सूचना निकालेको थियो ।