समाचार

मधेश प्रदेशमा पहिलो पटक मनाइयो संविधान दिवस

By खबरहब

September 19, 2024

जनकपुरधाम– मधेश सरकार गठनको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

मधेस प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट बाजागाजासहित प्रभातफेरी गरिएको थियो ।

त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलगायत मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थी सहभागी थिए ।

प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपाबाहेक सबै दलका मन्त्री सहभागी भए । लोसपाले संविधान दिवसको विरोधमा कालो दिवस मनाइरहेको छ ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानको त्रुटि संशोधनमार्फत सच्याउन सकिने बताएका छन् ।

मधेसको गृहसञचार तथा कानुन मन्त्रालयले प्रदेश सरकार स्थापनाको ८ वर्षपछि पहिलो पटक संविधान दिवसका अवसरमा औपचारिककार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटी सच्याउन सकिने बताए ।

‘अहिले प्रदेश सरकारलाई मजबुत बनाउनु आवश्यक छ’, मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकार समृद्ध भए संघीयताप्रतिको विश्वास विस्तारै बढ्दै जान्छ । संविधानको त्रुटी संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनु पर्छ ।’

उनले अहिले संविधानको विरोधभन्दा प्राप्त उपलब्धि रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए । उनले भने ‘अहिले संविधानलाई पूर्ण बनाउन संशोधन आवश्यक छ, जुन दल संशोधन सुन्नसम्म चाँहदैन थिए तिनै अहिले तयार छन्, यसको फाइदा लिन सक्नु पर्छ ।’

कालो दिवस मनाउनु भ्रम : सभामुख मण्डल

त्यस्तै मधेसका सभामुख रामचन्द्र मण्डलले संविधान गतिशील दस्तावेज रहेकाले विरोध गर्नुको तुक नरहेको बताए ।

उनले संविधान दिवसको विरोधमा कालो दिवस मनाएर जनतामा भ्रम सिर्जना गर्नुको साटो यसका सकारात्मक पाटोको प्रचारतर्फ लाग्नुपर्ने बताए ।

‘यो संविधान त्यत्तिकै आएको होइन, हतारमा ल्याएको पनि होइन, १० वर्ष लगाएर संविधानसभामार्फत ल्याएको संविधानले दिएको अधिकार संस्थागत गर्नु जरुरी छ’, उनले भने ।

जुन संविधानको बलमा पदमा जाने, तलब भत्ता खाइरहेका छौँ, त्यही संविधानको विरोधमा कालो दिवस मनाउनु जनतामा भ्रम सिर्जनाबाहेक अरु केही नभएको उनले बताए ।