न्याय परिषद हण्डी खाएर सुतेर बस्ने ? | Khabarhub Khabarhub

बहस

न्याय परिषद हण्डी खाएर सुतेर बस्ने ?

बारको कन्सिरी तातेको छ



म न्याय परिषदको सदस्य बनेको साढे ३ वर्षजति भयो । अब ४–६ महिनाजति बाँकी छ । एकजना दाइ (रामप्रसाद श्रेष्ठ) भर्खरै जागिरबाट विदा भएर जानुभयो । अहिले न्याय परिषदमा हामी चारजना सदस्य छौं । तीनजना पदेन हुनुहुन्छ, म एकजना चारवर्षे स्थायी छु । मैले करिब ४४ वर्ष वकालत गरेको एकजना कानून व्यवसायी हो । त्यही ग्राउण्डबाट म यो सिटमा नियुक्त भएर यहाँ आएको छु ।

यहाँ (न्याय परिषदमा) पटक–पटक के हुन्छ भने नेपाल बारले परिषदलाई केही प्रस्ताव राख्नुभएको रहेछ । त्यो प्रस्ताव अनुसार हामीले केही काम गर्न सकेनछौं र परिषदको यो ३३ वर्षे इतिहासमा वहाँहरुबाट हाम्रो अगाडि जिन्दावाद र मूर्दावादको नारा लाग्यो ।

नेपाल बार जसले दुई–दुईजना सदस्य न्याय परिषदमै पठाएको छ । त्यस्तो परिषदको अगाडि गएर नारा लाग्यो । त्यो नारामा स्वयं अध्यक्ष (गोपालकृष्ण घिमिरेज्यू) ले प्रतिनिधित्व गर्नुभएको थियो । उहाँसँग मेरो केही पनि छैन । म उहाँलाई साह्रै आदर गर्छु । उहाँ मेरो एकदमै अभिन्न मित्र हो ।

म सबै साथीहरुलाई आज पनि के भन्न चाहन्छु भने म पनि कानून व्यवसायी नै हुँ । म भोलि यहाँबाट निस्केर गएपछि केही गरी वकालतकै पार्टमा काम गरौंला । तर, म भोलि पनि तपाईहरु (बार) सँगै हुन्छु ।

हामी के भन्छौं भने परिवारको मुख्य मान्छेले घर चलाउँछ रे । अहिले २१÷२२ हजार कानून व्यवसायीमध्ये एकजना सदस्य म पनि छु । यो घर अहिले गोपालकृष्ण घिमिरेले चलाउनुभएको छ । म पनि त्यही घरको हुँ । म ०३६ सालदेखि आजसम्म त्यही घरमा छु । म त्यहीँबाट न्याय परिषदमा आएको हुँ, म त्यहीँ जान्छु । म गोपालकृष्णसँगै जान्छु । किनभने चार दिन मलाई न्यायपरिषदको जिम्मेवारी आयो ।

म अहिले पनि बारलाई विनम्र अनुरोध गर्छु– ‘ए रामप्रसाद दाइ यसो गर्’ भन्न आउनोस् । हुनसक्ने जति म सम्माननीय र अरु मेरा साथीहरुसँग पनि अनुरोध गर्छु  

यहाँ (जिम्मेवारी) मा सुख छैन । हजुर (वकिल) हरु रमेर बस्नुभएको छ, मैले मीठो अनुभव गरेको छैन । पटक्कै गरिनँ । पटक्कै । कसरी बस्नुभएको छ, हजुरहरु महान हुनुहुन्छ । म सक्दिनँथें । त्यसैले जागिर खाइनछु, ठीक गरेंछु । मलाई त्यस्तो अनुभूति हुन्छ अहिले । त्यसैले छ महिनापछि म पनि गोपालकृष्णजीसँगै अंश लिन जान्छु । मेरो पनि घर त्यही हो ।

अहिले बारलाई परिषदका यी दुईजना सदस्यदेखि मात्रै कन्सिरीको रौं तातेको छ । म जान्दिनँ । किन, के गरेछौं हामीले ? मैले के गरें र बारलाई मैले घाटा गराएँ ?

म अहिले पनि बारलाई विनम्र अनुरोध गर्छु– ‘ए रामप्रसाद दाइ यसो गर्’ भन्न आउनोस् । हुनसक्ने जति म सम्माननीय ( प्रधानन्यायाधीश) र अरु मेरा साथीहरु (परिषदका सदस्यहरु) सँग पनि अनुरोध गर्छु । यो तपाई (बार अध्यक्ष) लाई वचन दिएँ मैले ।

म अलि प्रोभोक भएँ कि ? सरी । एक नम्बरमा म हिजो पनि कानून व्यवसायी थिएँ, भोलि पनि कानून व्यवसायी हुन्छु । अहिले मेरो परिस्थिति बदलिएको छ । अब ४–६ महिना बाँकी हो । त्यसपछि गोपालकृष्णसँगै जान्छु ।

म यो पनि सोध्न चाहन्छु बारका अध्यक्षज्यू मार्फत् । ए… अब न्यायाधीश नियुक्ति नगर् भन्या हो ? त्यसो हो भने के सुतेर बस्ने हो न्याय परिषद ?  

तर, प्रत्येक कुरा स्थान सापेक्ष होस् । हामी दुई भाइ ( रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ) बारलाई बिगार्न न्याय परिषदमा थिएनौं । छैनौं । यो चाहिँ म २३ हजार कानून व्यवसायीलाई यहीँबाट अनुरोध गर्छु । म सधैं बारसँगै छु ।

कुरा के छ भने संविधान र ऐनले अधिकार तोकिदिन्छ । संविधान र ऐनले गरेको काम ड्यु प्रोसेस सच्याइदिए हुन्थ्यो । त्यो सच्याउनेतिर प्रयास भयो कि भएन, त्यो पनि बुझिँदैन । तर, न्याय परिषदको अगाडि परिषद जिन्दावाद र मूर्दावादको नारा लाग्यो ।

कठैबरी ! के गर्‍यो होला न्याय परिषदले ? यो चिज गर्‍यो परिषदले भन्दैन कसैले । के तँ यो काम (न्यायाधीशको नियुक्ति) नगर् भन्या हो ? म यो पनि सोध्न चाहन्छु बारका अध्यक्षज्यू मार्फत् । ए… अब न्यायाधीश नियुक्ति नगर् भन्या हो ? त्यसो हो भने के गर्ने त अब हामीले ? अब परिषदले के गर्छ ? के सुतेर बस्ने हो न्याय परिषद ? गरीबले तिरेको करको हण्डी खाएर परिषद सुतेर बस्नू भन्या हो ? मैले सोधेको त्यत्ति हो । मैले अरु केही सोधिनँ ।

त्यसैले यस्ता कुराहरु हामी नगरौं । हामी मिलेर गरौं न । आउनोस् छलफल गरौं । तपाईहरुलाई के भो ? हामीलाई के भो ? हामी पनि हाम्रा कुरा भन्छौं । तपाई पनि तपाईहरुको व्यहोरा भन्नुहोस् । हामी तपाईहरुभन्दा बाहेकको मान्छे होइन । हामी तपाईहरुकै पार्ट हौं । तपाईहरुकै गोडामा घुम्ने मान्छे हौं । तपाईहरुको भन्दा हाम्रो हैसियत ठूलो छैन÷होइन । हामीले त एउटा सरकारी नोकरी गरेको हो । त्यसैले आउनोस्, छलफल गरौं । के गर्दा हुन्छ, देशको भलो गरौं न । न्याय परिषद पटक्कै अर्को घर होइन ।

न्याय परिषदले यहाँनेर अन्याय गर्‍यो भन्दाखेरि त अदालत होला नि । अदालतका न्यायाशीध सबै सुतेर बसेका छन् ? त्यसैले मेरो त आग्रह, पूर्वाग्रह केही पनि छैन । किन दाजुभाइ बाझ्यौं हामी ? हामी किन एउटै घरमा झगडा गर्छौं ? यसो नगरौं । बिन्ती भन्छु– कहिले, कतिखेर, कहाँ भेट्ने, के छलफल गर्ने, त्यो गरौं ।

यो पनि-

न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिन्छ : प्रधानन्यायाधीश सिंह

न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव

पर्साका दुई न्यायाधीशलाई वर्षोत्कृष्ठ सम्मान

हामीसँग सर्वोच्च अदालतका २१ जना न्यायाधीशसहित जम्मा ४६८ न्यायाधीशहरुको दरबन्दी छ । जसमा २८७ जिल्लाको छ । १६० उच्चको छ । १६० मध्ये करिब १० जनाजति नेपाल सरकारको एजेन्सीतिर पठाउँछौं । र, अरुलाई हामीले ड्यु प्रोसेस काममा तोकेका छौं । फैसलाहरु भएका छन् । यसरी हामी चलेका छौं ।

यसैमा उच्चको ‘अस्थायी इजलास’ भन्ने शब्दावली कानूनबाट झिक्ने कुरामा परिषदले पहिले पनि छलफल गरिसकेको छ । योबारेमा छलफल भएको छ तर निर्णय भएको छैन । प्रस्तावमा आइसकेको छ । कानूनमन्त्रीजीले प्रस्ताव राख्नुभएको छ ।

जिल्ला न्यायाधीशको परीक्षाबारे महान्यायाधिवक्ताजीले प्रश्न उठाउनुभएको थियो । त्यही परीक्षा सञ्चालन गर्ने भनेर न्यायाधीश नियुक्ति निर्देशिका ल्याएको थियो परिषदले । त्यो निर्देशिका हामी आफैंले कोक्रोमा राखेका छौं । त्यो मरिसकेको छैन, अचेत अवस्थामा छ, त्यो फेरि जन्मिन सक्छ ।

जिल्ला न्यायाधीशको परीक्षाबारे महान्यायाधिवक्ताजीले प्रश्न उठाउनुभएको थियो । त्यही परीक्षा सञ्चालन गर्ने भनेर न्यायाधीश नियुक्ति निर्देशिका ल्याएको थियो परिषदले । त्यो निर्देशिका हामी आफैंले कोक्रोमा राखेका छौं । त्यो मरिसकेको छैन, अचेत अवस्थामा छ  

अर्को कुरो, अहिलेसम्म म न्याय परिषदमा आएको करिब साढे ३ वर्ष भयो । कसरी सयवटा जति बैठकमा म सहभागी भएँ । त्यसमध्ये एउटा बैठकले कर्मचारीसम्बन्धी विषयमा पनि निर्णय गर्‍यो । अहिले बारलाई १०४ डिग्रीको ज्वरो आउनुको कारण त्यही हो ।

त्यो एउटा निर्णयमा के गरिएछ भने कर्मचारीको तह मिलान गर्ने । त्योबेला ठीक हुन्छ भनेर गरेको । गडबड गरिएछ कि क्या हो भनेर मन अलिअलि डरायो । यसो नगर्नु पर्थ्यो कि भन्ने आयो । कुरा उठ्यो, बार एशोसिएन त ठूलो संगठन, परिषदमा त हामी जम्मा पाँच जना छौं । कसैले बोलिदिँदैन ।

त्यसपछि सोचौं न त भनेर बार अध्यक्षसहितको सम्माननीयज्यूको संयोजकत्वमा एउटा समिति बन्यो । हामी छलफलमै छौं तर प्रतिवेदन बुझाउने बेलामा उहाँ (बार अध्यक्ष) र हाम्रो राय मिलेन । उहाँले त्यो परिषदको जुन निर्णय छ, त्यो खारेज गराउन खोज्नुभयो ।

खारेजै चाहिँ परिषद आफैंले गरोस् । कि सर्वोच्चमा गएर प्रोसेसमा गरिदिए हुन्थ्यो । कि परिषद आफैंले सहवरण गरोस् न त, किन बाटा–बाटामा खारेज गर्दै हिँड्ने ? भन्ने भएर त्यसलाई लगेर अहिले परिषदमा राखिएको छ ।

त्यसपछि परिषदमा दुई–चारपटक कुरा उठ्यो । यो विषयमा परिषद अध्यक्ष सम्माननीयज्यू पनि जागरुक हुनुहुन्छ । हामीले छलफलमै राखेका छौं । बारलाई अहित होस् र बारले उठाएको प्रश्नलाई यसले घात गरोस् भन्ने हाम्रो चाहना छैन ।

कोही पनि न्यायपरिषद सदस्यहरुको बारलाई बाइपास गर्नुपर्छ र हान्नुपर्छ भन्ने सोचाइ छैन । किरिया खानुपर्छ भने किरिया खान्छु म । तर, खोई, बारलाई के लाग्या छ । पटक– पटक यही कुरा उठाउँछ । परिषदसँग गफ गर्न आउँदैन । आउनोस् न बसौं भन्दा एकचोटि पनि आउनुहुन्न । यसमा के गर्दाखेरि बारलाई हानी हुँदैन, आउनोस् न छलफल गरौं । परिषद यसमा तयार छ ।

(न्यायपरिषद सदस्य भण्डारीद्वारा बुधबार ३४ औं न्याय परिषद स्थापना दिवसका अवसरमा व्यक्त मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : २६ बजे

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना

काठमाडौं – नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा नेकपा

३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसलले टुजी र थ्रीजी सेवा

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च