नेपालले भारतलाई चार महिनामा बेच्यो पौने १३ अर्बको बिजुली « Khabarhub

नेपालले भारतलाई चार महिनामा बेच्यो पौने १३ अर्बको बिजुली

असोजको बाढीपहिरोले आयोजना भत्काउँदा लक्ष्य प्रभावित


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको बिजुली बिक्री गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारतलाई बेचेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औषत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिजुली बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालले बङ्गलादेशमा पनि विद्युत् निर्यात थालिसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताएका छन् ।

‘सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द छ, त्यस्तै अन्य साना आयोजनाहरूमा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन, काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो,’ घिसिङले भने, ‘यसबाट चालु आर्थिक वर्षमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’

यतिखेर माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ ।

हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ ।

उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने प्राधिकरणले जनाएको छ । हिउँदका केही महिना माग व्यवस्थापन गर्न नेपालले भारतबाटै विद्युत् आयात गर्नुपर्छ ।

प्राधिकरणले साउनमा भारततर्फ चार अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँ बराबरको ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरेको हो । साउनमा निर्यात गरिएको विद्युत्को औषत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।

भदौमा तीन अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत निर्यात गरिएको प्राधिकरणले जनाएको छ । भदौमा निर्यात गरिएको बिजुलीको औषत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।

असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् भारतले खरिद गरेको थियो । असोजमा प्राधिकरणले प्रतियुनिट औषत आठ रुपैयाँ ०८ पैसामा बिजुली बेचेको थियो ।

कात्तिकमा भारतलाई प्राधिकरणले एक अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँ बराबरको २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् बिक्री गरेको हो । गत महिना प्रतियुनिट औषत ७ रुपैयाँ ८४ पैसामा प्राधिकरणले भारतीय बजारमा बिजुली बेचेको हो ।

प्राधिकरणले हालसम्म प्रतिष्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : ५५ बजे

प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग

काठमाडौं– विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ

प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य

प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान