जनतामा प्रणालीका विरुद्धमानिराशा होलाजस्तो लाग्दैन । निराशाका दुई कारण छन् : एउटा– जुन दल क्रान्तिको नारा लिएर सिंहदरबार छिरेका थिए त्यहाँ छिरेपछि केही पनि बदलिएन । सिंहदरबारले उनीहरूलाई नै बदल्यो ।सिंहदरबारबाट जनताको आकांक्षा, आवश्यकता सम्बोधन भएन । दोस्रो – राजनीतिक दलका नेताहरूमाअनैतिक व्यवहारिक देखियो । कुनै पनि नेता योचाहिँ स्वच्छ छन् भन्ने स्थिति भएन । जुनै पार्टी हेरे पनि उस्तै देखिए ।
जनताले सुशासन र परिवर्तन मात्रै खोजेको होइन, आफ्नो जीवनमा परिवर्तन पनि खोजेको हो । शाब्दिक महत्वको परिवर्तन खोजेको हो । गरीखाने वर्गले, गरिबहरूले परिवर्तन खोजेको हो । धनी मान्छेलाई, सिंहदरबारमा बस्ने मान्छेहरूका लागि त समृद्धि आएकै छ नि । गरीबहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा परिवर्तन खोजेका थिए, त्यो आएन ।
विदेशिने जुन सिस्टम छ,यो गणतन्त्र आउनुभन्दा पहिला नै, ४० को दशकमै सुरु भएको हो । ६० को दशमा आएर लाखौँको संख्यामा हुन थाल्यो । त्यसकारण गणतन्त्र आएपछि मात्र विदेश जाने प्रक्रिया सुरु भएको हैन । यहाँका राजनीतिक नेताहरूले यहाँ भएका उद्योग धन्दाहरू धमाधम बेच्न थालेपछि रोजगारी खोसियो र यो अवस्था आयो ।
आज भन्दा १४ वर्षअघि नेपालले विदेशबाट ८४ पैसा बराबरको आयात गर्दा एक रुपैयाँ बराबरको निर्यात गर्थ्यो अहिले एक रुपैयाँको निर्यात गर्दा १० रुपैयाँको आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी खाली अदुवा, अलैँची मात्रै बेचेर, छाती फुलाएर बस्यौँ । तर, पहिला नेपालले उन्नत ढङ्गको निर्यात गर्थ्यो । गणतन्त्र आएर, नयाँ संविधान आएर यो अवस्था आएको हैन ।
दलहरूले रोजगारी दिने, गाउँमा गरीखाने वर्गलाई अवसर दिने भनेका थिए । तर उनीहरू जब सिंहदरबारमा पसे, तब परिवर्तनको एजेन्डा भुले । उनीहरू आफू परिवर्तन हुने एजेन्डामा मात्र फोकस भए । आफ्नो जीवनस्थितिमा, वर्गमा परिवर्तनमा भुले । चप्पलेहरु आएका थिए, महले भएर निस्के ।दशै वर्षमा यही कुराले जनतामा ‘फ्रस्टेसन’ छायो र यो विरोध हुनु स्वाभाविक पनि छ ।
योबीचमा सडक नै नबनेको, स्वास्थ्य उपचारको केन्द्र नबनेको होइन । तर, त्यति मात्रैले जनताको जीवनमा परिवर्तन आउन सकेन । नेताहरूको भ्रष्ट व्यवहारका कारणले पनि जनतामा निराशा सिर्जना भएको हो ।
वैकल्पिक नेतृत्वको रिक्तता
हो, नयाँ पुस्ता नजन्मिएकै हो । सबैभन्दा माथिल्लो नेतृत्वले उदाहरणीय भूमिका निर्वाह गरेपछि नै तलको नेतृत्व पनि उदाहरणीय नेतृत्व हुने हो । सबैभन्दा माथिको नेतृत्व नै उदाहरणीय र आदर्श बन्न सकेन र तल्लो पुस्तामा पनि भ्रष्टाचार मौलाउन थाल्यो ।
हिजो कुर्सीमुनिबाट भ्रष्टाचार हुन्थ्यो भने अहिले त खुलारूपमा बाहिरै भ्रष्टाचार हुने गरेको छ । यहाँसम्म कि अदालतसमेत भ्रष्ट भए । राजनीतिक नेतृत्व, न्यायमूर्तिहरू र प्रशासन पनि भ्रष्ट भएका कारणले नै यो अवस्था आएको हो ।
कम्युनिष्टहरु कमाउनिस्ट जस्ता भए
कम्युनिस्टहरुको पनि चरित्र त्यही देखापर्यो । माओवादीले जतिबेला सत्ता हातमा पारेको थियो, त्यसबेला नै परिवर्तन गर्न थालेको भए सम्भव हुने थियो । सबै परिवर्तनका लागि तयार भएका थिए, डराएका थिए । तर, त्यो काम माओवादीबाट भएन ।
दोस्रो चोटि दुई तिहाइको बहुमतसहित आउँदा पनि परिवर्तन थालेको भए मान्छेहरूले केही त भयो भन्थे होला । त्यो पनि भएन । दुईवटा परिवर्तन गराउने ऐतिहासिक अवसर कम्युनिस्टहरूले गुमाए । त्यस कारणले यी सबै पार्टी उही ड्याङका मुला भए ।
अरु देशमा पनि कम्युनिस्ट नेता भए पनि नभए पनि विकास त हुन्छ । तर, कम्युनिस्ट भनेको ब्यक्तिवादमा विश्वास नगर्ने, समुदायको हित नै मेरो हित हो भन्ने सोच बोकेको हो । तर, यहाँ त नाम कम्युनिस्ट, व्यवहारमा कमाउनिष्ट भयो । कम्युनिस्टको नै बदनाम भयो । एमाले हेर्यो उस्तै,अर्को हेर्यो त्यस्तै । मान्छेको आशा माओवादीमा थियो तर यसले पनि केही गरेजस्तो देखिँदैन ।
सामन्तवादको ठाउँमा को आयो ?
सामन्तवाद नेपालमा फाल्नुपर्थ्यो र फालियो पनि । तर,दलहरू आफै नयाँ सामन्त भएर पैदा भए । अहिले पनि संघीयता आफैले ल्याएका हुन् र यसलाई फ्याल्न आफैं लागेका छन् । स्रोत साधनजति सबै केन्द्रमा थुप्राएर प्रदेशलाई अधिकार दिने कानून बनाएनन् । स्थानीय तहमा मान्छे नखटाएर उनीहरूले आफैंले ल्याएको सिस्टमलाई आफैंले असफल बाटोमा लैजान्छन् भने बचाउने कसले त ?
एउटा हिन्दी गीत ‘मझधार में नइया डोले तो माझी पार लगाए, माझी जो नाव डुबोए उसे कौन बचाए?’ जस्तै भएको हो नेपालमा ।
अबको विकल्प के त ?
लोकतन्त्रको विकल्प योभन्दा उन्नत लोकतन्त्र मात्रै हो । यसको विकल्पमा सामन्ततन्त्र ल्याउने होइन । यी नेतृत्वको विकल्प यो भन्दा भ्रष्ट नभएको स्वच्छ नेतृत्व हो ।
अहिले प्रणालीकै समस्या हो भन्ने लाग्दैन मलाई । अहिलेकै संविधानलाई राम्रोसँग लागू गर्ने हो भने नेपालमा ठूलो परिवर्तन गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, गास, बास र कपास सबैको संरक्षण गर्छु भनेर आएको संविधान हो यो । यो एउटा कागज हो, यो त लागू गर्नुपर्छ ।
अहिलेका नेताहरु असक्षमजस्तो लाग्दैन । उनीहरू इमान्दार हुने र आफैं स्वच्छ भएर आफ्नो बाचा नबिर्सने हो भने देश चलाउने एक से एक मान्छे छन् । तर, रातारात निम्नमध्यम वर्गबाट उच्च वर्ग बन्ने हो भने जुन मन्त्री आए पनि यस्तै हो ।
मान्छेहरू जो अहिले भ्रष्ट देखिएका छन्, तिनलाई फाल्नुपर्छ । तिनलाई फाल्न नयाँ पुस्ता आउनुप¥यो । नत्र संविधान जतिपटक नयाँ बनाएर पनि काम छैन । अमेरिकामा त्यही संविधान २०० वर्ष अगाडिदेखिकै चल्दैछ । स्वीटजरल्याण्डमा त्यही छ । तर, नेपाल हरेक १०÷१० वर्षमा संविधान बदल्दैछ ।
संविधान बदल्नेमा नेपाल नामी हुनुछैन, संविधानले चलाउने मान्छे बदल्नुमा नेपाल नामी हुनु परेको छ । संविधान जति नै राम्रो ल्याए पनि नयाँ मान्छे नल्याएसम्म केही फरक हुँदैन ।
लामो समयसम्म निराशा बदलियो भने यो व्यवस्था नै खराब हो, व्यवस्था नै बदल्नुपर्यो भन्ने दिन पनि आउँछ । कारण, व्यवस्था हैन नेतृत्व हो । लामो समयसम्म यस्तै अवस्था रहँदा मान्छेहरूमा धैर्यता हुँदैन । तर, कारण व्यवस्था हैन, जस्तोसुकै व्यवस्था ल्याए पनि यस्तै असक्षम र भ्रष्ट मान्छे नेतृत्वमा रहने हो भने त्यो व्यवस्थाले पनि काम गर्ने वाला छैन ।
हामीले नयाँ पुस्तालाई निराशा दिनुहुँदैन । नयाँ, सक्षम मान्छेहरू नभएको हैन । मान्छे एकजना बदल्दा कति फरक हुन्छ भन्ने कुरा त नेपाल बिद्युत् प्राधिकरणलाई पनि हेर्न सकिन्छ । पहिला हामीले १६ घण्टासम्म लोडसेडिङ भोगेका थियौँ । तर, एउटा मान्छे फेर्दा प्राधिकरण अहिले बिजुली बेच्नेमा गएको छ । नाफामा नै गएको छ । नेपालले ८ देखि १२ अर्बको बिजुली भारतलाई बेचिरहेको छ । ५ देखि १० वर्षको बीचमा यो सम्भव भएको छ, हिजो जुन असम्भव भनिएको थियो ।
अब सत्ता खोस्नुपर्छ
राम्रा मान्छेहरु ठीक ठाउँमा पर्नुप¥यो । मान्छे नै नभएर राजतन्त्र खोज्नुपर्ने अवस्था आइसकेको छैन । राम्रा मान्छे सही ठाउँमा आउन सकेका छैनन् । अब ती राम्रा मान्छेले पुरानाबाट सत्ता खोस्नुप¥यो या त मिल्काउनु पर्यो ।
हरेक पार्टीमा उनीहरूका सक्षम मान्छे पर्दा त क्षमता त देखाएका छन् । राम्रो गरेर देखाएका मान्छेहरूको कमी भएको होइन । अब हामी नागरिक आन्दोलनले पनि ती मान्छेहरूलाई ल्याउन र पुरानालाई निकाल्नका लागि जोड गर्नुपर्यो । समाज र नागरिकले पनि जोड दिएर यी भ्रष्ट मान्छेलाई चुनावमा जिताएर पठाउनुभएन ।
जनताको पनि ठूलो कमजोरी भनेको यी नेताबाट नितान्त निराशा छौँ तर भोट हाल्ने बेलामा तिनीहरूलाई नै हाल्ने गर्छौँ । तिनै मान्छे सत्तामा आउँछन् । हाम्रो हातमा पनि साँचो छ, भ्रष्ट मान्छेलाई चुनावबाट हराऔँ न । कार्यकर्ताहरूले पनि पार्टीको महाधिवेशन हुन्छ,त्यहाँबाट पनि यिनलाई बिदा गर्न सक्छन् ।
राम्रो गाडी चलाउने ड्राइभर जँड्याहा भयो भने त भीरमुनि पुग्छ। त्यही गाडी हो, अहिलेको संविधान । संविधानमा जनताले खोजेको निःशुल्क शिक्षा, स्वास्थ्य, गास, बास, कपास मौलिक हकका रूपमा राखिएको छ। यसलाई चलाउने व्यक्तिले व्यवहारमा लागु नगर्नुको परिणाम नै हो यो । त्यसैले गाडी फेर्ने हैन,ड्राइभर फेर्नु पर्यो । अहिले भएको ड्राइभरको पुस्तालाई फेरेर नयाँ पुस्ताले त्यसलाई जबरजस्ती फाल्न सक्नुपर्यो ।
नेताहरूले आफ्नो सक्षमता प्रदर्शन नगरेको र आफूले भनेको बचन आफूले पूरा नगरेका कारणले विश्वास गुमेको हो ।जस्तो बोल्ने त्यस्तै गर्ने मान्छे यहाँ धेरै छन्, तिनलाई जनताले, कार्यकर्ताले ल्याउनु पर्यो। कार्यकर्ताले पनि उनीहरूलाई छोड्छन् । मैले पालो पाउँला भन्ने हैन, बोल्नुपर्यो । आवाज उठाउनुपर्यो । अनि मात्र परिवर्तन आउँछ । परिवर्तन एउटा क्रान्ति गरेर आउँछ ।
(राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिम्सिनाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया