अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी | Khabarhub Khabarhub

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताए ।

हालै मात्र प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसका क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु-चर्चित मुद्दामा पनि उच्चतम् प्रविधिको प्रयोग भएको मैनालीले बताए । अपराध अनुसन्धानमा आधुनिक प्रविधिको भूमिका दिनानुदिन बढ्दै गएकाले पनि प्रहरीले उक्त अभ्यासलाई अधिकतम प्रयोग गरिरहेको उनको भनाइ थियो ।

अनुसन्धान कार्यमा संकलित दशी प्रमाणको परीक्षणका लागि हाल सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला रहेको छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाबाट रसायन तथा लागुऔषध, विस्फोटक पदार्थ, विष विज्ञान, डिएनए, जीवसिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस), फोटोग्राफीको वैज्ञानिक परीक्षण एवं विश्लेषण गर्दै आएको छ ।  

औँला छाप, एफआइएस (अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम) आदि भौतिक सबुद-प्रमाणको वैज्ञानिक परीक्षण एवं विश्लेषण गरी सम्बन्धित निकायहरूलाई विशेषज्ञ राय उपलब्ध गराई अपराध अनुसन्धान र न्याय सम्पादन कार्यमा प्रहरीले सहजीकरण गर्दै आएको छ । 

काठमाडौँबाहिर धरानमा विष विज्ञान र लागूऔषध तथा नेपालगञ्जमा विष विज्ञानको परीक्षण गरी सम्बन्धित निकायलाई रायसहितको प्रतिवेदन दिने कार्य भइरहेको छ । डिजिटल फरेन्सिक ल्याब (डिएफएल)ले कम्प्युटर, फोन लगायतको डिजिटल परीक्षण, डाटा रिट्राइभ, विश्लेषण तथा अन्य वैज्ञानिक परीक्षण गरी रायसहितको प्रतिवेदन दिने गरिएको छ ।

पोलिग्राफ मेसिनद्वारा आशंकित व्यक्तिले झुट बोलेको नबोलेको सम्बन्धमा परीक्षण गर्ने गरिन्छ । ज्यानसम्बन्धी कसुरलगायत अन्य कारणले भएको मृत्युका कारण पत्ता लगाउन त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा शवपरीक्षण गरिने गरिन्छ । साथै अन्यत्र जिल्लामा पनि जिल्लास्तरसम्मै शवपरीक्षण गरिन्छ ।

कहिलेकाहीँ विवादित मुद्दाको अनुसन्धान गर्ने कार्य र भयानक दुर्घटनाका कारण भएको दुःखद मृत्युमा शवको पहिचानका लागि भने बाहिर जिल्लाबाट शवलाई त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा ल्याएर परिवारलाई शव बुझाइने गरिएको प्रहरीले जनाएको छ । 

केही वर्षअघिसम्म पुलिस रिपोर्ट लिन असाध्यै कठिन थियो । हालैका दिनमा प्रविधिमार्फत संसारको जुनसुकै कुनाबाट अनलाइन फारम भरेको केही दिनभित्र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरी एप्समार्फत अपराध भएको, हुनसक्ने जानकारी प्रहरीलाई पठाई १००, १०३ र १०४ मा फोन गरी नागरिकले अपराध नियन्त्रण र अनुसन्धानमा ‘बिनावर्दीको प्रहरी’को भूमिका निर्वाह गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए। उनका अनुसार ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका तथा अनुसन्धानका लागि विविध प्रविधि प्रयोगमा ल्याइएका छन् । 

सीसीटीभी क्यामेरा, ट्राफिक लाइट, स्ट्रिट लाइट, रोड साइन एन्ड सिग्नल, रोड मार्किङ्स, राडर गन, लिडार गन, ब्रेथ लाइजर, ड्रग्स डिटेक्सन किट, गोप्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेरा जडित सवारी साधन, ह्विल लक, चेन लक, म्याजिक लाइटको प्रयोगबाट उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उपत्यकाको मुख्य मुख्य नाकामा भेइकल स्क्यानरलगायत थप प्रविधि भित्र्याउन पहल भइरहेको छ । विभिन्न एप्समार्फत सवारी जरिवाना तिर्ने कार्यले पनि नागरिकको समयको बचत हुन गएको उनले बताए ।

पछिल्लो समयमा काठमाडौँ उपत्यका प्रहरीले सिसी क्यामेराका अलावा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपिआर) प्रयोगमा ल्याएको छ ।

मैनालीका अनुसार उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न थालिएको छ । फेस रिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  २ : ०१ बजे

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक