कर्णालीका महिलानै गर्न दिँदैनन् पुरुषलाई स्थायी बन्ध्याकरण | Khabarhub Khabarhub

कर्णालीका महिलानै गर्न दिँदैनन् पुरुषलाई स्थायी बन्ध्याकरण


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

डोल्पाकी एक ३५ वर्षीया महिला उनी तीन सन्तानकी आमा हुन् । सन्तानको रहर पुगिसक्यो अब उनी सन्तान जन्माउन चाहदिनन् । स्थायी बन्ध्याकरण पनि घरपरिवारले गर्न दिँदैनन् । श्रीमानले अस्थायी साधन प्रयोग गर्न मान्दैनन् र उनले नै विभिन्न थरीका अस्थायी साधन प्रयोग गर्छिन् । फरक फरक अस्थायी साधन प्रयोग गर्दा शारीरिक रुपमा कमजोर महसूस हुन्छ, तर के गर्नु श्रीमानले अस्थायी साधन प्रयोग गर्न मान्दैनन् उनले भनिन् ।

स्थायी बन्ध्याकरण गरौँ भने भोलि के हुन्छ कसले देखेको छ र ? कसैगरी बच्चालाई केही भइहाल्यो भने अर्को सन्तान कसरी जन्माउनु त्यसैले पीडा सहेरै भएपनि आफैँले अस्थायी साधनको प्रयोग गरिरहेको उनले स्पष्ट गरिन् । डोल्पाका धेरै महिलाको मनोविज्ञान यही हो ।

स्थायी बन्ध्याकरण अहिले धेरैले गर्दैनन् । बरु कपरटी, डिपो, इम्प्लाण्ट, ओसीपी लगायतका साधन महिलाहरूले प्रयोग गर्ने गरेका छन् । ‘परिवार नियोजनका साधन प्रयोगमा पुरुषको संख्या शून्य छ’ जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत अखण्ड उपाध्यायले भने ।

उनका अनुसार महिलाहरू आफैँले पुरुषलाई बन्ध्याकरण गर्न दिँदैनन् । स्थायी बन्ध्याकरण गरेपछि पुरुष कमजोर हुन्छन् । पहाडको ठाउँ उकाली ओरालीसंँगै परिवार पाल्ने जिम्मा श्रीमानकै हुन्छ । हिँडडुल गर्न र काम गर्न सक्दैनन् भन्ने गलत बुझाईका कारण महिलाहरू आफैँ अघि सर्छन् ।

‘पुरुषले पनि महिलालाई स्थायी बन्ध्याकरण भन्दा अस्थायी साधन प्रयोगमै जोड दिन्छन्, उनले भने । तर बन्ध्याकरण गरेको केही दिन अलि गाह्रो भएपनि यसकै कारण कमजोर भने नहुने अधिकृत उपध्याय बताउँछन् । उनका अनुसार  ग्रामीण भेगमा यो कुरा बुझाउन समस्या छ । महिलाले प्रयोग गर्ने साधन कसलाई कुन साधन प्रयोग गर्दा राम्रो हुन्छ भन्ने नबुझेर धेरै महिलामा महिनावारी समयमा नहुने, महिनावारीका समयमा धेरै रगत बग्ने जस्ता समस्या देखिने गरेको उनले बताए ।

के हो परिवार नियोजन ?
गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो । परिवार नियोजनका साधनको प्रयोगले सन्तानको संख्या कम हुने मात्र हुँदैन । थोरै र जन्मान्तरले आमा र बच्चा स्वास्थ्य राम्रो हुन्छ । बच्चालाई राम्रो स्याहार गर्न सकिने, पोषणयुक्त खाना अनि स्वास्थ्य वातावरणले बिमारी कम हुने तथा स्वास्थ्यमा हुने खर्चमा कमी आउने  हुन्छ ।

त्यस्ता बच्चालाई राम्रो शिक्षादीक्षा दिन सकिने र त्यसैले राम्रो रोजगार पाउने जस्ता सन्दर्भले आर्थिक, समाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगति र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  मद्दत गरेको मेडिकल अधिकृत उपाध्याय बताउँछन् । राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता अत्ति आवश्यक सुविधाको कुशल व्यवस्थापन गर्न सजिलो हुन्छ भन्नेमा दुईमत छैन । त्यसैले राज्यले पनि यसलाई उच्च महत्व दिएको छ र सरकारी स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका सबै सेवाहरू निःशुल्क गरेको छ ।

नियोजनका साधन र प्रयोग
परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी २ किसिमका हुन्छन् । स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ, जसलाई बन्ध्याकरण भनिन्छ । यसले स्वास्थ्यमा कुनै असर गर्दैन तर महिलामा भने ढाड दुख्ने हुन्छ भन्ने बुझाइ छ ।  यो शल्यक्रियाको कारण ढाड दुखेको भने होइन । कुनै कुनै समयमा ट्यूब राम्रोसँग टाइट भएन भने गर्भ रहन सक्छ । कहिलेकाहीँ ट्यूव पाठेघरमा नबसी नलीमा बस्नसक्छ त्यस अवस्थामा महिलामा रक्तस्राव भएर जटिल अवस्था आउने र शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हुँदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् । परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।

परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने सम्भावना १८ प्रतिशतसम्म हुन्छ । यदि महिलाले नियमित रुपमा पिल्स खाएमा फेलिएर हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठीक समयमा नै खानुपर्छ ।

राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट समेत बचाउँछ । तर पिल्स धेरै खाएमा स्तन क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । विशेष गरी पिल्स ४० वर्षपछि नखानु नै राम्रो हुन्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन । पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । लामो समयको प्रयोगमा यी समस्या सामान्य हुँदै जान्छ ।

डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुनसुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने सम्भावना हुन्छ ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउँदैन । महिलाले इन्जेक्सन लगाउँदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिनापछि मात्र गर्भधारण गर्न सक्छन् ।

नरप्लान्ट ७ वर्षको लागि दिइन्छ । यो अरु साधनभन्दा महँगो हुन्छ । त्यसैले सजिलैसँग पाउन सकिदैन । नरप्लान्ट राख्न तालिम प्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए तापनि यसले शारीरिक रुपमा कुनै पनि किसिमको असर गर्दैन ।

जानकारी छ, प्रयोग छैन
समय परिवर्तनसँगै समाज शिक्षित छ । शहरदेखि गाउँसम्म सबैलाई परिवार नियोजनका साधनहरूको बारेमा जानकारी हुँदाहुँदै पनि विगत १० वर्षदेखि यसको प्रयोग नबढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । आधिकांश महिलाहरूमा परिवार नियोजनका साधन प्रयोग गर्नाले सधैँका लागि गर्भ नरहने डर रहने गरेको पाइन्छ । कसैकसैमा यसले महिनावारी गडबडी गर्ने तथा पाठेघरका असर गर्ने तथा क्यान्सर नै हुन सक्ने डर पनि रहेको उनीहरूको भनाई छ ।

परिवार नियोजन सम्बन्धी विज्ञसंग परामर्श नै नगरी यस सम्बन्धी पूर्ण ज्ञान नभएका मानिसले भनेकै आधारमा परिवार नियोजनका साधनका बारेमा भ्रम पालेर तनावमा बसेका धेरै दम्पत्ति हाम्रै समाजमा छन् । स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता आधिकांश महिलाहरूमा गर्भ नराख्ने चाहना हुने गरेको तर परिवार नियोजनका साधनहरू प्रयोग गर्न डराएका अनि यस सम्बन्धी परामर्शका लागि लजाउने गरेको पाइन्छ ।

शिक्षाले परिवार नियोजनमा ठुलो महत्व राखेको पाइन्छ । शिक्षित परिवारमा ढिलो विवाह हुने, थोरै सन्तान पाउने र राम्रो जन्मान्तर कायम गरेको पाइन्छ । त्यसैले शिक्षित बर्ग परिवारप्रति जिम्मेवार र संवेदनशील रहेको आभास गराउँछ तर यस्ता वर्गमा परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

शहरी क्षेत्रमा परिवार नियोजनका साधन प्रयोग भन्दा गर्भपतन गर्नेको संख्या बढिरहेको छ भन्ने तथ्यांक आइरहँदा ग्रामीण क्षेत्र डोल्पामा भने परिवार नियोजनका साधनको प्रयोग बढेको मेडिकल अधिकृत उपाध्याय बताउँछन् । गर्भपतन गराउन आउने महिलालाई पनि यसबारे बुझाएर सके स्थाई बन्ध्याकरण नै गराउने र नभएर उनीहरूलाई कुन साधन सजिलो हुन्छ त्यो साधन प्रयोग गराएर मात्रै पठाउने गरिएको उनले बताए ।

परिवार नियोजन, महिला अधिकार
नेपालको संविधानले परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो अधिकार अन्तर्गत रहेर महिलाले आफ्नो परिवारको योजना बनाउन सक्छिन् । तर साधन प्रयोग गर्दा भने होसियारी नअपनाए धेरै असर गर्ने गरेको डाक्टर उपाध्याय बताउँछन् । आफूलाई कुन साधन प्रयोग गर्दा सहज हुन्छ, त्यो बुझेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।

धेरै महिलाले अस्थाई साधनको प्रयोगले महिनावारी समयमा नहुने, महिनावारीको समयमा धेरै रगत जाने लगायतका समस्याहरू लिएर आउने गरेको डा. उपाध्याय बताउँछन् । त्यसैले समयमा नै उचित र आफ्नो लागि सही परिवार नियोजनका साधन सम्बन्धी परामर्श गरी यो सेवा लिनु बुद्धिमानी हुने उनको भनाई छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ४३ बजे

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास

पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै

वीरगञ्ज – सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर