भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा | Khabarhub Khabarhub

भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा



काठमाडौं– कांग्रेस महासमिति बैठकमा उपस्थित अधिकांश सदस्यले वर्तमान गठबन्धनप्रति तीब्र असन्तुष्टि जनाएका छन् । उपस्थित महासमिति सदस्यहरूले कांग्रेसले नीति सिद्धान्त नै मिचेर अगाडि बढेको भन्दै यो नीति महाधिवेशनले कांग्रेसलाई सहीधारमा ल्याउनुपर्नेमा ऐक्यवद्धता जनाएका छन् ।

आगामी निर्वाचनमा भोट कांग्रेस पार्टीका उम्मेदवारलाई हाल्न पाए पार्टीको आकार बढेर जाने दाबी गरेका छन् । स्पष्ट रूपमा पार्टी निर्वाचनमा भाग लिँदालिँदै पनि निर्वाचनमा पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपाएको र अरुको चुनाव चिन्हमा भोट हाल्नु परेको कारण तल्लो तहका कार्यकर्तामा चरम निराशा देखिएको गाउँ गाउँबाट आएका महासमिति सदस्यहरुको दुखेसो छ ।

बैठकका लागि जुम्लाबाट आएकी महासमिति प्रतिनिधि पुन्नकली महताराले कांग्रेसले जनताका कुरा सुन्न छाडेर सत्ता केन्द्रित भएको गुनासो गरिन । उनले जुम्लामा कांग्रेसले गठबन्धन जोगाउने हुँदा प्रदेशमा स्वतन्त्रले जितेको स्मरण गर्दै भनिन्, ‘नीति सिद्धान्त कहाँ पुग्यो ? पार्टीमा एक धार छैन नेता नेता लड्दा समस्या भयो । विकास भएन । कांग्रेस एक धारमा आउनुपर्छ ।’ उनले जुम्लाकाजनताको जीवनस्तर उकास्न पनि पार्टीले गम्भीर पहल नगरेको बताइन ।

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि भएर आएकी दुर्गा सेनले पनि पार्टी सरकार र गुट छाडेर जनताको समस्यामा केन्दीत हुनुपर्ने बताइन । उनले पदको लोभले पार्टीलाई घाटा लागेको भन्दै अब पार्टी सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताइन । उनले भनिन्, ‘गुटले पार्टी सखाप पा¥यो, कुरा सबैको सुनौं ।’

रौतहटबाट महासमिति बैठक प्रतिनिधि भएर आएका देवराज कार्कीले पनि कांग्रेसले कांग्रेसलाई नै भोट हाल्ने वातावरण बनाउन माग गरे । युवा सदस्य रहेका उनले भने, ‘सर्वप्रथम कांग्रेस पार्टी बन्नका लागि कांग्रेस भएर कांग्रेसलाई नै भोट हाल्ने वातावरण बनाउनु पर्छ । त्यो भए कांग्रेस सुध्रन्छ । नत्र त के हो के ।’ उनले मधेसमा कांग्रेस खस्कनुको कारण पनि गठबन्धन नै भएको दोष देखाए । उनले भने, ‘मधेसमा नयाँशक्तिको उदय भएको पनि कांग्रेसका निरास कार्यकर्ताको कारण हो । पार्टी सिद्धान्त र नीतिमा एक भए सबै कुरा मिल्छ ।’

उदयपुरबाट आएकी महासमिति सदस्य रिता चौधरीले पनि जनताको आवश्यकताअनुसार कांग्रेसले काम नगरेको बताइन । उनले कांग्रेसमा सबै वर्गको नेतृत्व चाहिने पनि बताइन । उनले भनिन्, ‘गुट उपगुट फालेर कांग्रेस एक ढिक्का भएर निर्वाचनमा पनि जाओस् न । अर्को पार्टीलाई भोट हाल्न कांग्रेस तयार भएनन ।’

धनुषाकी महासमिति प्रतिनिधि फूलकुमारी महतोले पनि कांग्रेसले आफ्नो ध्यान पार्टीमा नलगाएर गठबन्धनतिर लगाउन नहुने बताइन । उनले भनिन्, ‘जनताले हामीलाई खुब गाली गर्छन । कांग्रेस माओवादीसँग मिलेकोमा जनता खुसी छैनन् ।’

यस्तै महासमिति प्रतिनिधि विजयदत्त देवकोटाले कांग्रेसले कार्यकर्तालाई अरुको निर्वाचन चिन्हमा भोट हाल्नु भनेको लाचारपन भएको भन्दै यसलाई सच्याउनुपर्ने बताए । उनले भने, ‘बहुमत नआएको खण्डमा गठबन्धन गरेर सरकार चलाउनु ठीक छ । तर निर्वाचनमा नै गठबन्धन गरेर अर्को पार्टीलाई भोट दिनु भन्नु नैतिक काम होइन । यसले पार्टीबाट जनता विस्थापित हुन्छन् ।’ उनले माओवादीले नै जनआन्दोलनमा कांग्रेसलाई तहस नहस बनाएको भन्दै त्यसकै पुच्छर समाएर पार्टी हिँड्न नहुने बताए ।

यस्तै पाँचथरबाट आएकामहासमिति सदस्य नरेन्द्रकुमार केरुङले पनि निर्वाचनमा नै कांग्रेसले गठबन्धन गर्नु नहुने तर्क गरे । उनले निर्वाचनमा उत्साह हुनुपर्नेमा चरम निराशा भएको बताउँदै पार्टी रूपान्तरण हुनुपर्ने प्रस्ट पारे । उनले भने, ‘निर्वाचनमा नै गठबन्धन गरेर जाने बाटो बन्द गर्नुपर्छ । तल्लो तहका जनताकाआवाज सुनौं ।’

यो पनि…

कांग्रेसले लियो गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति

कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ०६ बजे

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट