०७२ सालको भूकम्पपछि काठमाडौं उपत्यकाका चोक, पार्क, फल्चा, सार्वजनिक स्थल सुरक्षित गर्नुपर्ने बहस भए । दैवी प्रकोपका समयमा मानवीय हितका दृष्टिले पनि यस्ता ठाउँको सुरक्षाका विषयमा सबै सहमत भए । जनप्रतिनिधिदेखि सरकारी अधिकारीहरूले पटक पटक प्रतिबद्धता जनाए । तर समय बितेसँगै न खाली जमिनको संरक्षण हुन सक्यो, न सुरक्षित आवासको विषयमा कोही संवेदनशील भए । हुँदा हुँदा भूकम्प जाँदा थुप्रै नागरिकलाई बास दिएको सिंहदरबार हातासमेत सरकारी प्लटिङमा पर्यो । घुम्ने, फिर्ने ठाउँ समेत साँघुरिँदै गएको छ ।
घुमफिर, व्यायामका लागि अहिले आकर्षक मानिएको शंखमूल पार्क मानिसको बढ्दो भीडसंगै प्रदूषित हुन थालेको छ । ३२ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कमा पाँच वटा घाट, पोखरी, पानी बग्ने शंख आकारको धारा लगायत ठूलो शंखको स्मारक भएकोले निकै आकर्षक देखिन्छ । यहाँ बसेको र घुमफिर गरेको कुनै शुल्क तिर्नु पर्दैन ।
उपत्यकामा व्यवस्थित खुला ठाउँको अभाव भइरहेको बेलामा शंखमूलमा निर्माण भएको पार्क बच्चा, युगल जोडी, वृद्धवृद्धागायत सवैका लागि मनोरञ्जन लिन र घुमफिर गर्ने ठाउँ बनेको छ । गैरआवासीय नेपाली संघले २ करोडको लागतमा यहाँका संरचना बनाएको हो ।
पार्कमा अक्सर बिहान व्यायाम गर्न आउनेहरूको भीड लाग्छ । टाढा टाढाका मानिस मर्निङ वाकका लागि यहाँ आउने गरेको स्थानीय राधेश्याम तिमल्सिना बताउँछन् ।
पार्कको नजिकै घर बनाएर बसेको १५/१७ वर्ष भएको बताउँदै उनी थप्छन्–‘पहिला बागमती नदी निक्कै दुर्गन्धित थियो । बीचमा सफा सुग्घर बनाएपछि तर पछि केही समय बीचमा सफा गर्ने गरियो त्यसपछि गनाउने समस्या केही हद सम्म कम भएको थियो । तर अहिले खोलाको प्रदूषणले समस्या जस्ताको तस्तै भएको छ । बर्खा लागेपछि पानीको सतह घट्ने, फोहोर बढ्नाले मानिस घुमफिरका लागि आउन जाँगर लगाउँदैनन् । ’
स्वास्थ्यका लागि भनेर व्यायामका लागि आउनेहरू खोलाको दुर्गन्धले नै बिरामी पो परिन्छ कि जस्तो लाग्छ भनेर ठट्टा गर्ने गरेको तिमल्सिना बताउँछन् ।
बच्चालाई बिहान बेलुका बाहिर लाने ठाउँ नै छैन त्यसैले खेल्न र दौडिन स्वतन्त्र छ भनेर यस पार्कमा ल्याउने गरेको इन्दिरा बस्नेत बताउँछिन् । ७ वर्षीया छोरी र १० महिने छोरालाई लिएर हप्तामा ३ देखि ४ दिनसम्म त्यहाँ पुग्ने गरेको उनी बताउँछिन् ।
‘दिदी भाइ मिलेर एक छिन खेल्छन् , दौडिन्छन् । खानलाई बिदाको दिन घरैबाट खाना बनाएर ल्याउँछु । कुनै बेला बदाम पानी ल्याएर आफू पनि बस्ने र बच्चालाई पनि ढुक्कसँग खेल्न दिने गरेकी छु’, उनी भन्छिन्– ‘घरमा आफू त कोठामा मात्र बस्न सकिन्छ तर बच्चाहरू कराउने चिच्याउने गर्दा घरबेटीले कराउने गर्छन् । त्यसैले यहाँ उनीहरू स्वतन्त्र पूर्वक खेल्न पाउँछन् ।’
पूर्वाधार पनि ठिकै भएको, निःशुल्क उपभोग गर्न पाउनु ठूलो सुविधा भएको बताउँदै इन्दिरा प्रदूषण घटाउने उपाय खोज्न आग्रह गर्छिन् । घुम्नु , डुल्नु स्वास्थ्यसंग जोडिएको विषय भएकाले घुम्ने ठाउँ रमणीय हुनुपर्ने उनको तर्क छ ।
पार्क घुम्न आएका कृष्णदेव भण्डारीको पनि त्यही गुनासो छ– बागमतीको दुर्गन्ध । पहिला शंखमूलमै भाडामा बस्ने गरेको र राती सुत्दा पनि खोलाबाट फैलिने दुर्गन्धले बस्न नसकेर डेरा सरेको उनी बताउँछन् ।
नेपाल सरकारले बागमती सफाइ अभियान भनेर पनि ल्याएको थियो । उक्त अभियानले ४ देखि ५ सय हप्ता पनि मनाइ सकेको छ । तर बागमतीको व्यथा बीसबाट उन्नाइस भएको छैन ।
मानवीय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उद्देश्यसहित सरकारले बागमती नदीलाई व्यवस्थित बनाउन २०७५ सालमा वीस बर्षे ‘एक्सन प्लान’ बनाएको थियो । नदी सफा बनाउन वर्षौं अभियान सञ्चालन समेत गरिएको थियो ।
यस पार्कमा कलेज पढ्ने विद्यार्थीहरूको पनि आकर्षण छ । शंखमा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेहरूको पनि उत्तिकै छन् । पार्क भनेको मानिसले दुःख बिसाउने चौतारी हो । मान्छे आफूलाई एकान्त चाहिएका बेलामा पार्कमा गएर बस्न चाहन्छ । युगल जोडीको प्रेम साट्ने ठाउँ पनि हो पार्क । तर, काठमाडौंमा न दुःख बिसाउने ठाउँ छ, न प्रेम साट्ने ।
काठमाडौंको जनघनत्व दिन प्रतिदिन बढ्दै छ । त्यही अनुपातमा नै खुला ठाउँहरू पनि मासिँदै र पार्कहरू साँगुरिँदै छन् । काठमाडौंलाई घरै घरले च्यापिएको सहर भन्दा पनि फरक नपर्ला । घुमफिर गर्न त परै जाओस्, पैदलयात्रुका निस्फीक्री हिँडडुल गर्ने सहज बाटो समेत छैन । अझ भाडामा बस्ने मानिसले त घामको मुख पनि देख्न नपाउने अवस्था छ । केटाकेटी र ज्येष्ठ नागरिकका लागि त सहरको बसाई थप कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया