काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको पछिल्लो समयमा भने शेयर मूल्यमा भारी गिरावट आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेसँगै पछिल्लो समयसम्म आइपुग्दा झण्डै आधा अर्थात् ९ वटा वाणिज्य बैंकको शेयर मूल्य भने २ सय रुपैयाँ भन्दा तल सीमित भएको छ ।
चालु आर्थिक वर्ष सुरुवात भएपछि पनि केही कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरे तर, वाणिज्य बैंकहरुमा भने लगानीकर्ताको आकर्षण हुन नसकेको देखिन्छ ।
२ सय रुपैयाँ भन्दा तल शेयर मूल्य भएका बैंकहरु
ग्लोबल आईएमई बैंक : अब्बल बैंक मध्येमा पर्ने ग्लोबल आईएमई बैंकको शेयर मूल्य भने प्रतिकित्ता २ सय भन्दा तल छ । राम्रो नाफा दिने बैंकको तीन महिनाको शेयर कारोबारलाई हेर्दा त्यति गति लिन नसकेको देखिन्छ ।
गएको माघ महिनामा बैंकको प्रति शेयर मूल्य २ सयको हाराहारीमा मात्रै कारोबार भएको थियो । २०८० साल माघ १ गते २०७ रुपैयाँबाट शुरु भएको बैंकको शेयर कारोबार महिनाको अन्त्यसम्ममा १९८ मा सीमित हुन पुग्यो ।
यस्तै फागुन महिनामा मूल्य घटेर १८४ पुगेको सो बैंकको शेयर मूल्य महिनाको अन्तिमसम्म पुग्दा १९७ मा सीमित भयो । चैतमा पनि ग्लोबलको शेयर मूल्यको ओरालो यात्रा रोकिएन, चैत महिनाको अन्तिम दिन पुग्दा १८२ मा झर्याे।
नयाँ वर्षमा पनि सो बैंकको शेयरमूल्यमा थप गिरावट हुने क्रम जारी छ । नयाँ वर्षको पहिलो हप्ताको अन्तिम दिन बिहीबार भएको कारोबारसम्म पुग्दा बैंकको प्रतिकित्ता शेयर मूल्य १७५ पुगेको छ ।
सिटिजन बैंक इन्टरनेशनल : तीन महिनाको तथ्यांकलाई हेर्दा सिटिजन बैंकको शेयर मूल्य २ सय भन्दा तल नै घुमिरहेको छ । माघ १ गते १७२ रुपैयाँबाट कारोबार सुरु भएको बैंकको शेयर सबैभन्दा बढी १८४ सम्म पुग्यो भने महिनाको अन्त्यसम्म १६७ मा सीमित भयो ।
त्यस्तै, फागुन महिनाको अन्त्यसम्म पुग्दा भने माघको तुलनामा केही सुधार भएर बैंकको शेयर मूल्य १७० पुगेको थियो । तर, चैत महिनाको अन्तिमसम्म पुग्दा बैंकको शेयर मूल्य १५९ मा सीमित भयो । यसरी हेर्दा तीन महिनाको अवधिमा सबैभन्दा बढी १९० र सबैभन्दा कम १५४ सो बैंकको शेयर मूल्य रह्यो ।
त्यस्तै, नयाँ वर्षको दिन १५९ बाट कारोबार सुरु बैंकको शेयर मूल्य बिहीबार थप घटेर १५८ मा पुगेको छ ।
हिमालयन बैंक : यो बैंकको शेयर मूल्यले पनि लगानीकर्तालाई उत्साह दिन सकेको छैन । पछिल्लो ३ महिनाको बैंकको शेयर मूल्यलाई विश्लेषण गर्दा २ सय माथि उक्लिने प्रयत्नमा माघ महिनामा केही सफलता हासिल गर्ने संकेत देखिएको भएतापनि अन्ततः २ सय भन्दा तल नै सीमित हुन पुगेको छ ।
माघ १ गते २११ रुपैयाँबाट कारोबार सुरु भएको बैंकको शेयर मूल्य महिनाको अन्त्यमा १९९ मा सिमित भयो । त्यसपछि फागुन महिनामा पनि बैंकको शेयर मूल्यले आफ्नो ओरालो यात्रालाई कायम राख्दै अन्तिम दिनको कारोबारसम्म १९६ र चैत महिनाको अन्तिमसम्म आइपुग्दा १८४ मा झर्याे ।
तीन महिनाको अवधिमा सबैभन्दा बढी २२२ र सबैभन्दा कम १७९ रुपैयाँमा कारोबार भयो । नयाँ वर्षको शुरुवातसँगै साताको अन्तिम कारोबारसम्म आइपुग्दा बैंकको शेयर मूल्यमा थप गिरावट आएर १७९.६ रुपैयाँमा सीमित भएको छ ।
कुमारी बैंक : पछिल्लो समयमा कुमारी बैंकको शेयर मूल्य निकै तल र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम स्थानमा पुगेको छ । पछिल्लो ३ महिनाको तथ्यांकलाई हेर्दा बैंकको शेयर मूल्य १५० वरिपरि मात्रै घुमिरहेर पछिल्लो कारोबारसम्म आइपुग्दा १३५ मा सीमित भएको हो ।
माघको पहिलो दिन प्रति कित्ता १५८ रुपैयाँबाट सुरु भएको कारोबार महिनाको अन्तिम दिनमा १५१ रुपैयाँमा सीमित हुन पुग्यो । त्यस्तै फागुन महिनाको पहिलो दिन नै १४६ रुपैयाँबाट सुरु भएको कारोबार अन्तिम दिनसम्म पुग्दा भने केही सुधार भएर १४९ रुपैयाँमा पुगेको थियो ।
तर, बैंकको शेयर मूल्य ओरालो यात्रा थामिन नसकेर १३७ रुपैयाँमा ओर्लियो । नयाँ वर्षसँगै फेरि खराब प्रदर्शन गर्दै पहिलो साताको अन्तिम कारोबारको दिन कुमारीको शेयरले आफूलाई १३५ को मूल्यमा सीमित गरेको छ । तीन महिनाको अवधिमा बैंकको सबैभन्दा बढी शेयरमूल्य १६३ रुपैयाँ पुग्यो भने सबैभन्दा कम १३७ रुपैयाँ रह्याे ।
लक्ष्मी सनराइज बैंक : यस बैंकको शेयर मूल्य पनि लामो समयदेखि २ सय भन्दा तलको घेरामा मात्रै सीमित रहेको छ । माघ १ गते १७५ रुपैयाँ प्रतिकित्ताबाट सुरु भएको सो बैंकको शेयर कारोबार महिनाको अन्तिम १६६.५ मा बन्द भएको थियो । तर, फागुन भने केही सुधार भएर १६८ पुगेको शेयर मूल्य चैत महिनाको अन्त्यसम्म अर्थात् वर्षान्तसम्म पुग्दा भने १४९ मा सीमित हुनपुग्यो ।
चैत महिनासम्ममा बढीमा १८१ र न्यूनतम १४९ पुगेको शेयर मूल्य नयाँ वर्ष २०८१ को पहिलो हप्ताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा १५०.९ मा बन्द भएको छ ।
माछापुच्छ्रे बैंक : यो बैंकको पछिल्लो तीन महिनाको शेयर मूल्यले आफूलाई २ सय माथि कायम राखिरहन सकेको छैन । माघ १ गते २०६ रुपैयाँमा कारोबार सुरु भएको यस बैंकको शेयर मूल्य सो महिनाको अन्तिमसम्म पुग्दा भने १८५ मा पुग्यो ।
तर, फागुन महिनामा भने उतारचढावका बीच बैंकको शेयर मूल्यमा केही सुधार भएर १९० पुगेको थियो भने वर्षको अन्तिम कारोबार अर्थात् चैतको अन्तिमसम्म आइपुग्दा तीव्र ओरालो लागेर १७२ मा सीमित हुनपुग्यो ।
नयाँ वर्षको पहिलो हप्तापनि माछापुच्छ्रेका लागि सुखद रहेन, नयाँ वर्षको पहिलो हप्ताको अन्तिम कारोबारसम्म आइपुग्दा सो बैंकको शेयर थप १ रुपैयाँले घटेर १७१ मा सीमित भएको छ ।
एनएमबि बैंक : पछिल्लोे अवधिमा एनएमबि बैंकको शेयर मूल्यपनि २ सय भन्दा तल पुगेको छ । माघ १ गते २०२ रुपैयाँमा कारोबार सुरु भएको बैंको शेयर मूल्य कारोबार अन्त्यमा १९१ रहेको छ ।
फागुनको अन्तिमसम्म फेरि उकालो लागेर २०१ पुग्यो भने चैतको अन्तिमसम्ममा १७९ मा पुग्यो । नयाँ वर्षको सुरुवातसँगै सो बैंकको शेयर मूल्य थप ओरालो लागेर हप्ताको अन्तिम कारोबारसम्म आउँदा १७४ मा सीमित भएको छ ।
प्रभु बैंक : प्रभु बैंकको शेयर मूल्य पछिल्लो ३ महिनामा १७० रुपैयाँभन्दा तल मात्रै घुमिरहेकोमा पछिल्लो कारोबार समयसम्म आइपुग्दा त झनै तीव्र गतिमा ओरालो लागेर १४० भन्दापनि तल पुगेको छ ।
तथ्यांकअनुसार माघमा १६५ रुपैयाँबाट शुरु भएको बैंकको शेयर कारोबार महिनाको अन्तिममा पुग्दा १३७ र फागुनको अन्त्यसम्म १५२ मा पुगेको थियो । वर्षको अन्तिम महिना अर्थात् चैतमा १५१ बाट सुरु भएको कारोबार निरन्तर ओरालो लागेर चैत २८ गते पुग्दा १४२ मा सीमित हुनपुग्यो ।
साथै, नयाँ वर्षको सुरुवात प्रभुका लगानीकर्तालाई उत्साहप्रद हुन सकेन । नयाँ वर्षको पहिलो सातामा फेरि प्रतिकित्ता २ रुपैयाँले घटेर १३९ मा सीमित भएको छ ।
प्राइम कमर्सियल बैंक : यो बैंकको शेयर मूल्यले पनि २ सय भन्दा तलको घेरामा घुमिरहेको छ । माघको सुरुमा २०७.१ बाट सुरु भएको कारोबार पछिल्लो समयसम्म आउँदा १२ अंकले तल पुगिसकेको छ ।
फागुनको अन्तिममा १९३ मा झरेको शेयर मूल्य वर्षान्तको अन्तिम कारोबार अर्थात चैत अन्तिममा १९० मा सीमित हुन पुग्यो । साथै, नयाँ वर्षको पहिलो साताको अन्तिम दिनको कारोबारसम्म आइपुग्दा बैंकको शेयर मूल्यमा थप गिरावट भएर १८८ मा पुगेको छ ।
प्रतिक्रिया