जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल | Khabarhub Khabarhub

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

एकीकृत समाजवादी फुट्दैन, झलनाथ र माधवबीच विवाद छैन



काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री वेदूराम भुसालले जनताको बहुदलीय जनवाद (जबज) मा पीएचडी गरेका छन् । संयोगबस उसनको पार्टीभित्र यतिबेला मदन भण्डारीको जबज छलफलको विषय बनेको छ ।

महाधिवेशनको तयारीमा रहेको एकीकृत समाजवादीले यतिबेला समाजवादी क्रान्तिको कार्यक्रम तयार पारिरहेको छ । वैचारिक नेता घनश्याम भुसालसमेत पार्टीको नीति निर्माणमा सक्रिय छन् ।

गत चुनावका बेला एमाले छाडेर घनश्याम भुसाल एकीकृत समाजवादीमा आएपछि बेदुराम भुसालले महासचिव पद घनश्यामलाई जिम्मा लगाउँदै आफूले उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

महाधिवेशनको तयारी गरिएको एकीकृत समाजवादीभित्र माधव नेपाल र झलनाथ खनालवीच अन्तरविरोध देखा परेको चर्चा पनि बाहिर चल्ने गरेको छ । त्यसैगरी मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई हेर्ने विषयमा पनि पार्टीमा दुई लाइन संघर्ष भइरहेको चर्चा छ ।

अर्कोतिर जनता समाजवादी फुटेपछि ओली र प्रचण्डले एकीकृत समाजवादीलाई पनि फटाउँछन् भन्ने हल्ला पनि उत्तिकै चलिरहेको छ ।

एकीकृत समाजवादी पार्टीको आन्तरिक विषयमा साथै अहिले भइरहेको संसदको विवादबारे पार्टीको धारणा के छ भन्ने सन्दर्भमा खबरहबका लागि कृष्ण तिम्सिनाले उपाध्यक्ष वेदुराम भुसालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय छानबिन समिति बनाउने भनेर गठबन्धन र विपक्षको बैठकभित्रबाट तपाईँहरूलाई जानकारी भयो ?

जानकारी त मिडियाबाट नै भएको हो । यो विषयमा हामीले आफ्नो दृष्टिकोण हामीले हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित गरेको प्रस्तावमा दिएका छौँ ।

सहकारीहरुमा ठगीको अव्यवस्था वा प्रकरण देखा परेको कुराको छानबिन हुनु पर्छ र दोषीलाई कारबाही गर्नुपर्छ र संसदभित्रको गतिरोध पनि यो हदसम्मको हुनु हुँदैन भन्ने नै हाम्रो धारणा हो ।

सहकारीमा ठूलो रकमको ठगी भएको र जनता ठगिएको कुराको छानबिन गर्नुपर्छ । त्यसमा कसरी गर्ने भनेर विवाद हुने नै हैन, यो जनताको विषय हो र यसमा सबै सत्ता पक्ष र प्रतिपक्ष मिलेर गर्नुपर्छ । तर, अहिलेका सत्ता पक्ष र प्रतिपक्ष भएर यता र उता भएका छन् । जुनै पार्टी पनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्ष हुन्छौँ, त्यसैले एकले अर्कोलाई दोष दिएर उम्किने अवस्था छैन । जे धारणा भए पनि मिलेर जानुपर्छ भन्ने हाम्रो धारणा हो ।

अहिलेको समीकरणको सन्दर्भमा पहिलाभन्दा तपाईँहरू किन यति सुषुप्त ?

हामीले आफ्ना धारणा राखिरहेका छौँ । त्यसमा पनि आफ्ना आन्तरिक कार्यक्रममा व्यस्त छौँ । हामी पार्टी महाधिवेशन गर्ने भनेर जुन निर्णय गरेर अगाडि लागेका थियौँ, त्यसैमा ध्यान केन्द्रित गरेका छौँ ।

जसपाको विभाजनपछि नेकपा एकीकृत समाजवादीमा पनि केही सांसदहरु पार्टी फुटाएर जाँदैछन् भन्ने चर्चा छ । यो त्राहिमाम परिस्थितिका कारण पनि तपाईँहरू खुल्न नसकेको हो ?

नखुलेर जोगिने कुरा हुन्छ र ? त्यस्तो बाहिर हल्ला गरेजस्तो पार्टी नेतृत्वमा छैन । तर, पनि जुनखालका हल्लाहरू चलिरहेका छन्, त्यो हावा नचली पात हल्लिँदैन जस्तै गरेर हामीले हुँदै नहुने कुरा होला कि भनेर पनि सतर्कता अपनाउने कुरा एउटा हो । नत्र, अरु हिसाबले फलाना फलानाले यसो गर्दै छन् भनेर शंका गर्नुपर्ने अवस्था छैन ।

हल्ला बढी नै चलेको हुनाले यो संसदको अधिवेशन सुरु हुनु भन्दा दुई दिन अगाडि सामान्यतया संसदीय दलको बैठक बस्ने गरिन्छ, यसबाट हामीले जसपालाई विभाजन गरेको भन्ने समाचार आए लगत्तै हाम्रो पार्टीमा पनि त्यस खालको गतिविधि हुन थालेको छ रे ! भन्ने मिडियामा आयो । तर, आन्तरिक रूपमा केही नहुँदा पनि खास कुरा के हो त भनेर संसदीय दलको बैठक बोलायौं ।

अहिले हामी दुबै संसदमा १८ जना छौँ । १८ जनाकै उपस्थितिमा छलफल गरेर केही निर्णयहरू पनि सार्वजनिक गरेका छौँ । त्यसपछि भएका पार्टीका विभिन्न बैठकहरू स्थायी कमिटी, पोलिटब्युरो केन्द्रीय कमिटीका बैठकमा पनि विभिन्न ढंगले छलफल भएको छ । त्यहाँ कुनै पनि अलग भएर जाने कुरा भएका छैनन् । खालि यस्तो गराइँदै छ रे भनेर मिडियामा मात्रै आएका हुन् ।

महाधिवेशन अगाडि नै पार्टी फुटाएर नेकपा एसलाई देखाइदिन्छु भन्ने एउटा धार त राष्ट्रिय राजनीतिमा क्रियाशील भइराखेको छ । अब त्यसबाट कसरी जोगाउने भन्ने चुनौती थपिएका समीकरणतिर बढी ध्यान दिन नसक्नुभएको हो कि ?

हैन । यदि कसैले पार्टी विभाजन गर्छु भन्ने कुरा गर्यो‍ भने केही व्यक्तिहरू अहिले सांसदहरुलाई यता र उता बनाउने कुराहरू भएका छन्, त्यसले संसदमा रहेका केही साथीहरूलाई असर गर्यो‍ गर्ला । तर, अरु हिसाबले महाधिवेशन भन्दा अगाडि यो पार्टी विभाजन भएर जान्छ भन्ने अवस्था छैन । पार्टीमा त्यस्तो ठूलो विभाजन हुने भन्ने सम्भावना नै छैन । हामीलाई शंका भनेको यस्तो सन्दर्भमा हाम्रा संसदहरुलाई यताउति गराइने हो कि भन्ने मात्रै हो ।

तपाईहरुले एमालेबाट विद्रोह गर्दा माधव नेपाल समूहमा रहेका १० भाइले त धोका दिए हैन ? यसबारे के भन्नु हुन्छ ?

ती १० भाइहरू पनि आज कुन हालतमा पुग्नुभएको छ, फर्केर यतै आउने सुरसारमा हुनुहुन्छ भन्ने पनि हेर्नुपर्छ ।

सिंगो राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका विस्तार हुन नसकेको त स्वीकारोक्ति होला नि तपाईँहरूको ?

पछिल्ला घटनाले केही शिक्षा त दिन्छन् नै । कतिपय बेला त्यो चुनाव जस्ता कुराहरू समय सापेक्ष पनि हुन्छन् । अर्को, हामीले हाम्रो संगठनात्मक शक्ति चाहेजस्तो हुन सकेको छैन भनेर स्वीकार गर्नुपर्छ । त्यो शक्तिलाई व्यवस्थापन गर्न हामी अगाडि बढ्ने भन्ने सोच बनेको छ । विचार र सिद्धान्तका आधारमा पार्टीभित्र विवाद छैन ।

जबजको सन्दर्भमा के हो त आधिकारिक धारणा ?

अभिव्यक्तिको कोण मात्रै फरक परेको हो । जबज हिजो नेपाली जनवादी क्रान्तिका कार्यक्रमका रूपमा ल्याइएको विचार हो । त्यसले हिजोको सन्दर्भमा ठूलो योगदान गरेको छ भन्ने कुराका बीचमा कुनै विमति छैन । थोरै त्यसका मूल्य मान्यताहरू आज पनि सान्दर्भिक छन् है, हामीले छोड्न सक्दैनौँ भन्ने हो ।

अहिले हामीले समाजवादी क्रान्तिको कार्यक्रम बनाउने भनेर दस्ताबेज मस्यौदा गरिसकेका छौँ । यो बनाइरहँदा हिजो जनताको बहुदलीय जनवादमा अँगालिएका लोकतान्त्रिक मूल्य मान्यतालाई छोडेर जान सकिँदैन भन्ने सन्दर्भमा कतिपयले यसमा जबज भन्नुपर्दैन भन्नुहुन्छ त कसैले भन्नु पर्छ भन्नुहुन्छ । फरक यत्ति मात्रै हो ।

पछिल्लो समयमा आएर धेरै छलफल गरिसकेपछि हामी एकखालको सहमतिमा पुगिसकेका छौँ । जनताको बहुदलीय जनवादले हिजो महत्त्वपूर्ण योगदान गरेको कुरालाई स्वीकार गर्छौँ र त्यो विचार ल्याउने नेता मदन भण्डारीलाई पनि सम्मान गर्छौँ । त्यसमा रहेका मूल्य मान्यता र त्यसले अगाडि सारेका आर्थिक–सामाजिक मूल्य मान्यताका कार्यक्रमहरू पनि हामीले बनाएको नयाँ कार्यक्रममा नै समेटेर जान्छौँ भन्नेमा हाम्रो सहमति भएको छ ।

हामीभित्र जनताको बहुदलीय जनवाद नै सिद्धान्त हो र जनताको बहुदलीय जनवादलाई नै मार्गदर्शन मानेर जानुपर्छ वा पर्दैन भन्ने कुनै विवाद छैन । बाहिर प्रचार भएको मात्रै हो ।

मार्गदर्शनका रूपमा हिजो यसलाई मानेको हिसाबले हेर्दा झलनाथ खनाल नेता हुने बेलामा नै ८ औँ महाधिवेशनमा उहाँले प्रस्तुत गरेको प्रतिवेदन ९ औँ मा आफैं ल्याउनुभएको थियो । त्यसैले उहाँ नै मार्गदर्शन भन्ने नेता हो । उहाँ र माधव नेपालको बीचमा पनि कुनै विवाद र विमति छैन । बाहिर त्यस्तो देखाइएको मात्रै हो ।

मदन भण्डारीको जबजको दस्ताबेज पारित भएको महाधिवेशनमा खनालले पेस गरेको फरक मतका प्रस्ताव अस्वीकृत भइसकेपछि अब त्यहीखालको प्रस्ताव समाजवादीभित्र आएर अर्को विवाद सिर्जना भएको हो त ?

हैन । त्यहाँ खनालले फरक मत पेस गर्नु भएको हैन । सीपी मैनालीले पेश गर्नुभएको थियो, त्यसमा खनालको पनि सहमति थियो । त्योबेला उहाँहरूसँगै परिमार्जित नौलो जनवाद भन्ने विचारमा हुनुहुन्थ्यो । महाधिवेशनमा नै त्यो विचार प्रस्तुत भइसकेको थियो । त्यो प्रकरण सकिएर पछि ८ औँ महाधिवेशनमा झलनाथ खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादका बारेमा ठूलो चर्चा गरिएको छ ।

त्यहीँदेखि उहाँले यसलाई मार्गदर्शन सिद्धान्त भनेर ल्याउनुभयो र महाधिवेशनले पास गर्यो‍ । त्यसलाई नवौँ महाधिवेशनमा आएर जारी राखियो, त्यो पनि उहाँकै नेतृत्वमा ।

अहिलेको सन्दर्भ भनेको हामीले नेकपा एकीकृत समाजवादी बनाउँदादेखि नै जनताको बहुदलीय जनवादलाई मार्गदर्शक मान्ने कुरा राखेका छैनौँ । त्यसैले यसमा विवाद गर्नुपर्ने विषय नै छैन । अब हामी समाजवादी कार्यदिशा अँगालेर जान्छौँ भन्ने कुरा गरेका छौँ । अहिले हामीले बनाउँदै गरेको समाजवादी कार्यक्रम कस्तो हुन्छ भन्ने मात्रै हो ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ८ : ०६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि