पुनर्जीवन कुर्दै मिथिला नगरीका पुस्तकालय | Khabarhub Khabarhub

पुनर्जीवन कुर्दै मिथिला नगरीका पुस्तकालय


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्‌-

‘कुनै पनि समाजको बौद्धिक स्तर कस्तो छ, चेतनाको स्तर कति माथि उठेको छ भन्ने जान्नको लागि सबैभन्दा ठुलो मापदण्ड के हो ? भन्ने त्यहाँको सार्वजनिक पुस्तकालयमा कति मानिस आइरहेका छन्, या पुस्तकहरूप्रति मानिसको कतिको लगाव रहेको छ भन्ने प्रश्नको उत्तरबाट सहजै खोज्न सकिन्छ । यदि पुस्तकालयप्रति मानिसहरूको लगाव तथा अभिरुचि बढीरहेको पाइन्छ भने त्यहाँको समाजको चेतनाको स्तर पनि स्वभाविक रुपमा माथि उठेको बुझ्न सकिन्छ तर, यदि त्यहाँको समाज पुस्तकालयप्रति उदासिन छ र उपेक्षाको भाव राख्दछ भने उक्त समाजले आफूलाई चाहे जतिसुकै बौद्धिक रहेको दावी किन नगरोस् त्यहाँ आम मानिसको चेतनाको स्तर उठेको मानिदैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । यद्यपि केही बुद्धिजीवीको त्यसलाई एउटा क्लास भन्न सकिन्छ ।’ निश्चय पनि समाजमा चेतनाको स्तर माथि उठाउन त्यहाँका सार्वजनिक पुस्तकालयको अति नै महत्वपूर्ण योगदान रहन्छ ।

हालको मधेस प्रदेश र प्राचीन मिथिलाको समेत राजधानी जनकपुरधाममा अध्ययनका लागि गुणस्तरीय पुस्तकालय अभाव छ । सरोकारवालाहरूको ध्यान पुग्न नसक्दा भएका पुस्तकालय पनि जीर्ण अवस्थामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका – ४ स्थित गङ्गासागर पोखरीको पश्चिम डिलमा वि.सं. २०१२ सालमा सार्वजनिक पुस्तकालय स्थापना भएको थियो । जनकपुरधाममा पढाइलेखाइको संस्कार बसाल्न युगेश्वर र कुशेश्वर लाभद्वय सहितका व्यक्तिहरूले आफ्नो निजी प्रयासमा केही पुस्तकहरू किनेर उक्त पुस्तकालय स्थापना गरेका थिए ।

तर, जनकपुरमा २०१२ मा स्थापित पुरानो सार्वजनिक पुस्तकालय सम्बन्धित निकायको उपेक्षाका कारण दिन-प्रतिदिन जीर्ण बन्दैछ । यतिसम्म कि उक्त पुस्तकालयको सञ्‍चालन र संरक्षण गर्ने जिम्मेवारी लिएको जनकपुर नगरपालिकाको कार्यालयले समेत चासो राख्न छाडेको छ ।

कसरी भयो पुस्तकालय स्थापना ?

नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्ध टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद्‌ सक्रिय थियो । सो परिषद्‌का सदस्यसमेत रहेका कुशेश्वर लाभ लगायतको एक समूह जनकपुरमा पनि सक्रिय थिए ।

इङ्गल्याण्डको ब्रिटिश काउन्सिलबाट प्रकाशन हुने अखबार ‘लण्डन प्रेस सर्भिस’ जनकपुर ल्याएर सो पत्रिकाको अन्तिम पृष्ठको खाली भागमा लेथो मेसिनले राणा शासन विरुद्धका प्रचार लेखेर पत्रिका वितरण गर्दथ्यो उक्त समूहले ।

२००७ सालमा राणाशासन अन्त्य भएसँगै जनकपुरका नागरिकको चेतनास्तर अघि बढाउने उद्देश्यले ती जागरुक यूवाहरूको समूहले २०१२ मा सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए ।

पञ्चायतकालमा जनकपुरमा अहिले झैं ठूलो संख्यामा पत्रपत्रिकाको प्रकाशन वा वितरण हुँदैनथ्यो । पुस्तकहरूपनि सहज रूपमा उपलब्ध हुँदैनथ्यो । 

विगत लामो समयदेखि उक्त पुस्तकालयमा काम गर्दै आएका र कोषाध्यक्ष समेत रहेका बलिराम मण्डल भन्छन, ‘देश-विदेशबाट प्रकाशित हुने पुस्तक र पत्रिकाहरू पढ्न मानिसहरू नियमित आउँथे । पुस्तकालयको सदस्यतावापत्‌ १० रुपैयाँ धरौटी लिइन्थ्यो । २ रुपैयाँ मासिक शुल्क तिरेर पाठकहरू नियमित सदस्य बनेका थिए ।’

त्यस समय जनकपुरका ५० देखि १०० जनासम्मको संख्यामा जागरुक यूवाहरूको समूह पुस्तकहरू पढ्न पुस्तकालयमा नियमित आउँथे । तर अहिले उक्त संख्या करिब २० मा झरेको छ । अब मानिसहरूमा पुस्तकालय छिरेर पुस्तक पढ्ने रुचि घट्दै गएको छ । 

‘त्यसबेला सार्वजनिक पुस्तकालयमा सोभियत भूमि, सोभियत संघ र रूसी पत्रिकाहरू पनि आउँने गर्थ्यो । विभिन्न किसिमका उपन्यासहरू, धार्मिक, साहित्यिक र राजनीतिक पुस्तकहरू थियो । अझ भारतीय राजदूतावासले भारतमा प्रकाशित धार्मिक, साहित्यिक र ऐतिहासिक पुस्तकहरू दिने गर्थ्यो । अब त यहाँ पुस्तकहरू त्यति धेरै छैन ।’

४ हजारभन्दा बढी संख्यामा पुस्तकहरू रहेको उक्त पुस्तकालयमा अहिले मुस्किलले ७०० जति पुस्तक बाँकी छ । पुस्तकालयमा पुस्तक नभएकामा अत्यन्तै पीडाबोध गर्दै मण्डलले भने, ‘अहिले पुस्तकालयमा पुस्तक अभाव छ, भएका पुस्तकहरूमा पनि धमिरा लागिसकेको छ । नयाँ पुस्तक ल्याउने स्रोत छैन । मैले नै अन्तिमपटक २०७० सालमा भारतीय दूतावासबाट गण्तन्त्र दिवसका दिन ९९ वटा किताब ल्याएको थिएँ । त्यसैले पुस्तकालयलाई धानिरहेको छ । पुस्तकालयको महत्वलाई जनकपुरधाम उपमहानगरपालिकाले प्राथमिकतामा नराख्नु आउँदो पुस्ताका लागि दुर्भाग्यपुर्ण अवस्था हो ।’

केही वर्ष पहिले भारतीय दूतावासले सहयोग गरेको पुस्तकको भरमा पुस्तकालय सञ्चालन हुँदै आएको मण्डलको भनाइ छ । दिउँसो साढे दुईदेखि साँझ साढे सात बजेसम्म सञ्चालन हुने पुस्तकालयमा खानेपानी र शौचालय व्यवस्थापनमा समेत स्थानीय तहले सहयोग गर्न नसकेको गुनासो गर्दै मण्डलले भने, ‘पुस्तकालयको विकासतर्फ यहाँका बुद्धिजीवीहरूको पनि ध्यान पुग्न सकेको छैन । हामी केही व्यक्तिहरूले जेनतेन सञ्चालन गरेका छौँ ।’

पहिले जनकपुरधाममा कुनै सभा वा बै‌ठक गर्न पनि पर्याप्त ठाउँहरू नभएको बेला पुस्तकालय प्रयोग गरिन्थ्यो । उक्त पुस्तकालयमा पञ्चायतकालमा महिला दिवस मनाइरहेका स्थानीयवासीहरू महावीर सिंह, ललन राय, मदन थापा, सीतानन्दन राय, रामआशिष महासेठ र रामनगिना सिंहलाई तत्कालीन प्रशासनले गिरफ्तार नै गरेको इतिहास छ  । क्रान्तिकारी विचार बोक्ने परिवर्तनकारी युवाहरू नियमित रूपमा पुस्तकालयमा जाने गर्थे । तर, हाल उक्त पुस्तकालयप्रति स्थानीयबासीको समेत उपेक्षा देखिन्छ ।

बिच्चमा त २०६४ साल देखि २०६९ साल सम्म पुस्तकालय बन्द नै भएको थियो । पुस्तकालय बन्द भएपनि उक्त पुस्तकालय पुनः संचालन गर्नका लागि २१ फागुन २०६९ मा एउटा संचालक समिति गठन गरियो । उक्त समितिको अध्यक्षमा विपति मण्डल, उपाध्यक्षमा विजय यादव, महासचिवमा डा. संजय गुप्ता, कोषाध्यक्षमा बलराम मण्डल, सदस्यहरूमा युवराज खाँति, ललन चौधरी, शंकर राय, अजय सिंह र रामपुकार राय चयन गरियो । लागु औषध सेवन गर्नेहरूको र दिसापिसाब गर्नेहरूको अखाडा बनि सकेको उक्त पुस्तकालयलाई उक्त समितिले आफ्नो प्रयासबाट पुनः संचालनमा ल्याए । अहिले उक्त पुस्तकालयमा केही राष्टिूय अखबार र स्थानिय अखबार मात्र आउने गरेको छ । पुस्तकालयमा पुस्तकहरू छैनन ।

हुन त जनकपुरधाम उपमहानगरपालिकाले पटकपटक पुस्तकालय प्रति गम्भीर ध्यान दिने प्रतिवद्धता गरेको भएपनि कुनै कार्य नगरेको कोषाध्यक्ष बलिराम मण्डलले गुनासो व्यक्त गरे ।

बन्द भएको सुहृद पुस्तकालय

जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीमा पूर्वगर्भनर सत्येन्द्रप्यारा श्रेष्ठ, अम्बिका कोइराला, शहीद सरोज कोइराला लगायतका व्यक्तिहरूले आफ्नौ निजी पहलमा २०११ मा ‘सुहृद’ नाम राखेर पुस्तकालय स्थापना गरेका थिए । तर, अहिले उक्त पुस्तकालय बन्दकै अवस्थामा पुगेको छ ।

पुरानो र ऐतिहासिक पुस्तकालय भएपनि स्तरोन्नतितर्फ सरोकारवाला निकायको ध्यान पुग्न नसकेको सुहृद पुस्तकालयका पूर्वसचिव समेत रहेका नेपाली काँग्रेसका नेता स्थानीय सुरेश कोइराला बताउँछन् । २१ औँ शताब्दीमा ई–पुस्तकालयले व्यापकता पाइरहेका बेला धरोहरको रूपमा रहेको सुहृद पुस्तकालयको स्तरोन्नतितर्फ स्थानीय तहको ध्यान पुग्न नसक्नु दुःखद रहेको उनले बताए ।

‘स्थानीय सरकारले पहल गरिदिनुपर्‍यो। चाँडै ऐतिहासिक पुस्तकालय संचालनमा आओस्‌ भन्ने हाम्रो इच्छा छ,’ उनले भने, ‘२ वर्षअघि पुस्तकालय संचालन गर्छु भन्दै एसिया फाउन्डेसनका पनि केही मानिस आएका थिए । तर फेरि उनीहरू कता हराए, थाहै भएन ।’

प्रजातन्त्रिक आन्दोलनताका यस क्षेत्रमा जति पनि रणनीति बन्ने गरेको थियो- सबै सुहृद पुस्तकालयमै बन्ने गरेको बताउँदै कोइरालाले भने, ‘पञ्चायती व्यवस्थामा प्रहरीको नजर यसै क्षेत्रमा हुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका बेला रामनारायण मिश्र, महेश्वरप्रसाद सिंह, शेख इन्द्रिस लगायतलाई पुस्तकालय र वरपरबाट प्रहरीले पक्राउ गरेको थियो । यति मात्रै हैन, पुस्तकालयमा विपी कोइराला, गिरिजा कोइराला र शुशील कोइराला लगायत पनि बारमबार आउने गर्दथे ।’

पुस्तकालय जोगाउन र थप विकास गर्न स्थानीय सरकारले सोच्नुपर्ने साहित्यकार एवम्‌ पत्रकार नित्यानन्द मण्डलले बताए । उपमहानगरपालिकाले अन्य क्षेत्रको सहयोगबाट भए पनि पुस्तकालय विकासतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘ज्ञानको अभावमा मानिस नकारात्मक दिशातर्फ बढ्दछ,’ उनले भने, ‘जनकपुरमा पढ्ने संस्कार खस्किँदै गएको छ । र, यसका दोषी यहाँका बुद्धिजीवीहरू पनि हुन् । विभिन्न मञ्चमा कुरा गरे पनि पुस्तकालय विकाससम्बन्धी कुरा कसैले गरेका छैनन् ।’

पुस्तकालयमा पाठ्यपुस्तकका अलावा अन्य सहयोगी पुस्तकहरू उपलब्ध हुने र पढ्ने संस्कारको विकास हुने भएकोले यसरी पुस्तकालय नहुनु दुःखद रहेको सरोकारवालाहरू बताउँछन् ।

प्रदेशको अधिकारसम्बन्धी संविधानको अनुसूची ६-मा प्रदेश सरकारलाई पुस्तकालय सञ्चालन गर्ने अधिकार छ । तर, प्रदेश सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ३२ बजे

 समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प