राजनीति

शेरबहादुर देउवा : पाँचपटक प्रधानमन्त्री हुँदा संसद्‍को ‘एक कार्यकाल’मात्रै सरकार चलाए

By खबरहब

August 20, 2024

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच आलोपालो प्रणालीमा शासन सत्ता सञ्चालन गर्ने सहमति भएको डेढ महिना भइसकेको छ ।

गत असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमतिअनुसार असार ३० गतेमा एमाले अधयक्ष केपी शर्मा ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बने ।

उनीहरूबीचको ७ बुँदे सहमतिको ४ नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष माननीय श्री केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।’

सहमति टिकेमा एमाले अध्यक्ष ओली ०८३ असार मसान्तसम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि बाँकी रहने प्रतिनिधिसभाको कार्यकालभरि कांग्रेस सभापति देउवाका नेतृत्वमा शासन सत्ता जाने छ । प्रधानमन्त्री ओलीले पनि सहमतिअनुसार शासन सत्ता सञ्चालन गरेको दुईवर्ष पुग्नु एक साता अगावै देउवाका लागि मार्गप्रशस्त गर्ने घोषणा गरिसकेका छन् ।

गत साउन १५ गते नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ ।’

कांग्रेस–एमालेबीचको सहमति भद्र ढंगले अगाडि बढे ०८३ साउनमा देशले देउवालाई नयाँ प्रधानमन्त्रीका रुपमा पाउने निश्चितजस्तै छ । जुन उनको प्रधानमन्त्रीमा छैटौं ‘इनिङ’ हुने छ ।

तथापि, कांग्रेस सभापति देउवा ५–५ पटक प्रधानमन्त्री हुँदा पनि देशका लागि केही गर्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ । उनलाई प्रधानमन्त्री हुनबाट रोक्न पार्टीभित्रै इतर समूह प्रयासरत देखिन्छ पनि ।

तर, मंगलबार सत्ता साझेदार एमालेका महासचिव शंकर पोखरेल कांग्रेस सभापति देउवाको पक्षमा खुलेर बोल्न पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनी देउवाका आलोचकहरूप्रति कडा सुनिए ।

एमाले महासचिव पोखरेलले ५ पटक प्रधानमन्त्री हुँदा पनि देउवाले एक कार्यकाल बराबरको नेतृत्व गर्न नपाउनु बिडम्बना भएकोसमेत तर्क गरे ।

‘कतिपयलाई के लाग्छ भने आदरणीय शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । अब छैटौंपटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ भन्दा कति पटक भएको भन्ने प्रश्न खडा हुन्छ,’ उनले भने, ‘५ पटक हुनुभयो, तर एक कार्यकाल बराबरको नेतृत्व गर्नुभएको छैन, नेपालको राजनीतिको विडम्बना त यही हो नि ।’

कुनै पनि दल र नेताले आफ्नो नीतिअनुसार देश चलाउन कम्तिमा एक कार्यकाल पाउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । ‘हेर्दा पाँचपटक प्रधानमन्त्री हुनुभयो । समयका हिसाबले कति हुनुभयो ?,’ उनको प्रश्न थियो, ‘एउटा अवधि पाँच वर्षको हुन्छ । के धेरै हुनुभयो भन्या ?’

नेपालको संविधानको धारा ८५ (१) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । उक्त धारामा भनिएको छ, ‘यस संविधानबमोजिम अगावै बिघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ ।’

देउवाको प्रधानमन्त्री यात्रा

पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवाले के साँच्चै एक कार्यकाल बराबरको समयसम्म शासन सत्ता सञ्चालन गर्न सकेका छैनन् त ? प्रधानमन्त्रीको इतिहास हेर्दा उनले पाँचपटकमा जम्मा पाँच वर्ष पाँच महिनामात्रै सरकार चलाउने अवसर पाएका छन् ।

कांग्रेस सभापति देउवा २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनको पहिलो ‘इनिङ’ १८ महिनाको देखिन्छ । देउवा २०५३ फागनु २३ सम्म आफ्नो पहिलो कार्यकालमा प्रधानमन्त्री भएका थिए ।

उनको दोस्रो कार्यकाल १४ महिना रह्यो । ०५८ साउन ७ गते दोस्रोपटक प्रधानमन्त्री बनेका देउवाले ०५९ असोज १८ सम्म शासन चलाए ।

देउवाको तेस्रो र चौथो कार्यकाल समान ८–८ महिनाको थियो । ०६१ जेठ २१ देखि माघ १९ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका उनी ०७४ जेठ २४ देखि फागुन ३ सम्म चौथोपटक देशको प्रधानमन्त्रीका रुपमा थिए ।

उनले पाँचौं ‘इनिङ’ मा १७ महिना प्रधानमन्त्री बनेको देखिन्छ । तत्कालीन नेकपा फुट्दा सिर्जित राजनीतिक घटनाक्रमबीच देउवा ०७८ असार २९ मा प्रधानमन्त्री बने ।

सर्वोच्च अदालतले ०७८ असार २८ मा कांग्रेसका सभापति देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक देउवाको पक्षमा फैसला सुनाउँदै संवैधानिक इजलासले असार २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्‍यो । पाँचौंपटकको ‘इनिङ’ मा उनले ०७९ पुस १० सम्म सरकार सञ्चालन गरेका थिए ।