सामुदायिक विद्यालयका विद्यार्थीले अब समय र इच्छाअनुसार ठाउँ छैन भन्नु पर्दैन : उपप्रमुख डंगोल | Khabarhub Khabarhub

सामुदायिक विद्यालयका विद्यार्थीले अब समय र इच्छाअनुसार ठाउँ छैन भन्नु पर्दैन : उपप्रमुख डंगोल


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं महानगरपालिकाले आजदेखि १६ वटा विद्यालय (केन्द्र)मा एकै पटक ‘फेस्टिभल क्याम्प’ को उद्घाटन गरेको छ ।

सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई दशैँ तिहारबिच छुट्टीको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि क्याम्प सञ्चालन गरिएको हो ।

प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरूलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य हो ।  ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प राखिएको छ ।

यी विद्यालयहरुमा दैनिक कम्तीमा ७६ वटा कक्षा सञ्चालन हुनेछन् । एउटा केन्द्रमा कम्तीमा १५० जना विद्यार्थीलाई सहभागी गराउन सकिन्छ । विद्यार्थीका लागि यो कार्यक्रम अनिवार्य भने होइन । उनीहरूले अनुकूलता र आवश्यकताका आधारमा स्वतःस्फूर्त कक्षामा सामेल हुन सक्नेछन् ।

तोकिएका विद्यालयहरूमा सम्बन्धित वडाका अध्यक्ष, स्रोत शिक्षक, प्रधानाध्यापक, शिक्षकसहितको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकारी गोविन्द शर्मासहित अधिकारीहरू वडा नं. १७ मा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, थंहिटि पुगेका थिए । सबै विद्यालयलाई अनलाइनमार्फत एउटै स्क्रिनमा जोडेर उनीहरूले अन्तरक्रियात्मक उद्घाटन गरे ।

त्यस क्रममा बोल्दै उपप्रमुख डंगोलले, सामुदायिक विद्यालयका विद्यार्थीहरूले विगतमा बिदाको अवधिलाई उपयोग गर्ने अवसर प्राप्त नगरेको उल्लेख गर्दै, अब समय छ, इच्छा छ तर ठाउँ छैन भन्नु नपर्ने गरी अवसर उपलब्ध गराइएको उल्लेख गरिन्  । ‘अहिले सिक्ने समय हो । यो समयलाई सिक्नकै लागि प्रयोग गर्नुपर्छ । पछि सिक्छु भनेर पनि हुँदैन ।’

उनले विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गर्दै, दबाबमा नभई स्वतःस्फूर्त सिकाइ हुने वातावरणका लागि महानगरपालिका प्रयासरत रहेको बताइन् । सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीका लागि पनि कार्यक्रम तर्जुमा गर्दै छौँ । डंगोलले सामुदायिक सिकाइ केन्द्रको प्रवर्धनमा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी गराउने योजना सुनाइन्  ।

‘सामुदायिक विद्यालयको शैक्षिक नतिजाका बारेमा नकारात्मक टिप्पणी थिए । अवसर र वातावरण नभएको बताइन्थ्यो । महानगरपालिकाले सामुदायिक विद्यालयलाई त्यस ठाउँबाट उठाएको छ ।’ प्रवक्ता मानन्धरले भने, ‘नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ । हामीले नतिजा प्राप्त गरेका असल र सफल अभ्यासलाई सिकाइका रूपमा प्रवर्धन गर्नेछौँ ।’

सहरी योजना आयोगका सदस्य झाका अनुसार नतिजा सुधारका लागि गएको वर्षबाट प्राप्त नतिजालाई संस्थागत गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रम महानगरपालिकाको गौरव योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत सञ्चालन गरिएको हो । यसको नतिजा हेरेर कार्यक्रमलाई बिदाको समयमा पनि निरन्तरता दिइनेछ ।

क्याम्पमा सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ । बिहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् । यी कक्षाहरू लेक्चरर विधिमा नभई क्रियाकलाप, सह सिकाइ र समूहगत सिकाइमा आधारित हुनेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्तका आधारमा कक्षा चल्नेछन् । ३ बजेपछि कम्तीमा १ घण्टा इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यसबाट सिकाइ प्रवर्धन गर्न नवीनतम अभ्यासका लागि वातावरण तयार हुनेछ ।

पहिलो दिनको कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो । यस्तै खेलकुद, उत्प्रेरणात्मक कक्षासहितका क्रियाकलाप सञ्चालन भएका थिए ।

नतिजा सुधारका लागि यस अघिका प्रयास

सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाका लागि उपलब्ध गराइएको रकमलाई दोब्बर गरिएको छ । सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रूपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ । पाठ्यपुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ ।

गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन् । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । गएको वर्षका यी कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष शैक्षिक सुधारका लागि ‘इलर्निङ्’, ‘निरन्तर उपचारात्मक कक्षा’, ‘विज्ञहरूको विशेष कक्षा’ र ‘क्याम्प’ कार्यक्रम थप गरिएका हुन् । यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ ।

गएको वर्ष ग्रेड सुधारका लागि अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । यो नियमित थिएन । चालु आर्थिक वर्षमा यसलाई निरन्तरता दिइएको छ । २०८० सालको एसइई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धि हो ।

क्याम्प सञ्चालन भएका विद्यालयहरू
१) शिवपुरी माध्यमिक विद्यालय, वडा नं. ३, महाराजगन्ज
२) टंगाल माध्यमिक विद्यालय, वडा नं. ५ टंगाल
३) महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नं. ६, बौद्ध
४) जनकल्याण माध्यमिक विद्यालय, वडा नं. ६, बौद्ध
५) पशुपति मित्र माध्यमिक विद्यालय, वडा नं. ७, चावहिल
६) गुह्येश्वरी माध्यमिक विदालय, वडा नं. ९, सिनामंगल
७) रत्नराज्य माध्यमिक विद्यालय, वडा नं. १०, मध्य बानेश्वर
८) विश्वनिकेतन माध्यमिक विद्यालय, वडा नंं ११, त्रिपुरेश्वर
९) जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १३, कालीमाटी
१०) ज्ञानोदय माध्यमिक विद्यालय, वडा नंं १३, बाफल
११) गीतामाता माध्यमिक विद्यालय, वडा नंं १५, बिजेश्वरी
१२) तरुण माध्यमिक विद्यालय, वडा नंं १६, बालाजु
१३) शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, थंहिटि, वडा नं. १७, थंहिटि
१४) शान्ति निकुञ्ज माध्यमिक विद्यालय, वडा नंं २०, भगवतीबारी
१५) पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, वडा नं. २९, डिल्लीबजार
१६) काटेश्वर सरस्वती माध्यमिक विद्यालय, वडा नंं ३२, कोटेश्वर

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ०२ बजे

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम – लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

बागमती – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन

कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२

राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय