राष्ट्रिय गौरवका २१ आयोजना कछुवा गतिमा, तीन अन्योलमा | Khabarhub Khabarhub

राष्ट्रिय गौरवका २१ आयोजना कछुवा गतिमा, तीन अन्योलमा


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विशेष प्राथमिकतासाथ अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरूको काम कछुवा गतिमा भइरहेको पाइएको छ । यस्ता कुल २४ मध्ये अधिकांश आयोजनाहरूको निर्माण गति निकै धिमा छ ।

सरकारले राष्ट्रिय गौरव भनी घोषणा गरेका तीन आयोजना त बन्ने/नबन्ने अन्योलमै छन् । आर्थिक वर्ष २०६८/०७९ देखि बजेट विनियोजन गर्न थालिएको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण हालसम्म अघि बढाइएको छैन । हालसम्म यो आयोजना बन्ने/नबन्ने नै टुङ्गो लागेको छैन ।

यो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६९/०७० देखि थाल्ने घोषणा गरेको गरेको थियो । तर, एक दशक नाघिसक्दा पनि पूर्वतयारीकै काम अन्तर्गत हालसम्म जग्गा अधिग्रहण र मुआब्जा वितरण जारी छ ।

स्वदेशी लगानीमै बनाउने भनिए पनि मोडालिटी, मुआब्जा वितरणमा कठिनाइ, पुर्नबाससम्बन्धी कार्य अघि बढाउन नसक्दा आयोजना निर्माण हालसम सुरु हुन नसकेको हो । यो आयोजना आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न गर्ने संशोधित कार्यतालिका छ ।

आर्थिक वर्ष २०६७/०६८ देखि पूर्वतयारीका काम अघि बढाइएको पश्चिम सेती आयोजना पनि अहिलेसम्म बन्ने/नबन्ने अन्योलमै छ । बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा पनि सरकार अहिलेसम्म ‘ब्याकफूट’मै छ । अर्थात्, उक्त विमानस्थल निर्माण हुने/नहुनेमा सरकार नै अन्योलमा छ ।

आयोजनाको निर्माण अवधि आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०८५/०८६ सम्म तोकिएको थियो । आयोजनाको मुख्य काम सुरु हुनै सकेको छैन भने केही प्रारम्भिक काम बाहेक अरू प्रगति नगन्य देखिन्छ ।

माथिका तीन बाहेक निर्माणाधीन अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति पनि सन्तोजनक देखिँदैन । ती आयोजनामा बारम्बार ठेक्का अवधि र लागत संशोधन हुने गरेको छ ।

आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण थालिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सुरु भएको डेढ दशक बित्दासमेत उक्त आयोजना पूरा हुन नसकेको हो ।

कुल २५ अर्ब दुई करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको आयोजनाको भौतिक ‘प्रगति’ निराशाजनक छ । यस्तो प्रगति हालसम्म करिब ४२ प्रतिशतमात्रै छ भने वित्तीय प्रगति ४० प्रतिशतमा सीमित छ ।

त्यस्तै, आर्थिक वर्ष २०७१/०७२ देखि सुरु भएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन गति पनि निकै सुस्त छ । कुल दुई अर्ब ४९ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको उक्त कार्यक्रमको हालसम्म करिब ५ प्रतिशतमात्र प्रगति भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ बाट निर्माण थालिएको सुनकोशी मरिण डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको प्रगति पनि न्यून छ । कुल ४६ अर्ब १९ करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म ३४ प्रतिशत छ ।

१८ वर्षअघि निर्माण सुरु भएको महाकाली सिँचाइ आयोजना अहिलेसम्म पनि अधुरै छ । आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण थालिएको उक्त आयोजनाको भौतिक हालसम्म २२ प्रतिशतमात्रै छ । आयोजना कहिलेसम्म सकिन्छ, एकीन छैन ।

नेपाली सेनाले निर्माण अघि बढाइरहेको काठमाडौं–तराइ द्रूतमार्गको निर्माणकार्य पनि सन्तोषजनक छैन । निर्माणकार्य सुरु भएको आठ वर्ष बित्दासमेत नेपाली सेनाले उक्त आयोजना निर्माण पूरा गर्न सकेको छैन । आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण सुरु भएको आयोजना निर्माणको ५० प्रतिशत काम पनि पूरा भएको छैन ।

राष्ट्रिय योजना आयोजनाबाट प्राप्त गौरवका आयोजनाहरूको प्रगति विवरण हेर्दा द्रूतमार्गको हालसम्म ३६ प्रतिशत मात्र भौतिक प्रगति देखिन्छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सेनाले आठ वर्षमा पनि द्रूतमार्ग निर्माण सम्पन्न गर्न सकेको छैन ।

अमेरिकी अनुदान सहयोगमा निर्माण अघि बढेको प्रसारण लाइन विस्तार आयोजनाको प्रगति पनि सन्तोषजनक छैन । आर्थिक वर्ष २०६७/०६८ देखि सुरु भएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (प्रसारण लाइन विस्तार आयोजना) को भौतिक प्रगति हालसम्म नौ प्रतिशतमात्रै छ ।

त्यस्तै, सुदूरपश्चिमका कैलाली र त्यस आसपास ३८ हजार हेक्टर कृषियोग्य जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणकार्य पनि सुस्त छ ।

आर्थिक २०६७/०६८ देखि निर्माण थालिएको उक्त आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन । हालसम्म आयोजनाको ७४ प्रतिशत मात्र काम सकिएको छ ।

आर्थिक २०४५/०४६ देखि नै निर्माण सुरु भएको अर्को आयोजना हो – बबई सिँचाई आयोजना ! उक्त आयोजना निर्माण सुरु भएको साढे तीन दशक बित्दासमेत सम्पन्न हुन सकेको छैन । कुल १८ अर्ब ९६ करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ ।

सिक्टा सिँचाइ आयोजनाको निर्माणकार्य पनि बबइको भन्दा फरक छैन । अर्थात्, उक्त आयोजना आर्थिक वर्ष २०६१/०६२ देखि निर्माण सुरु भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।

हालसम्म उक्त आयोजनाको निर्माणकार्य ४२ प्रतिशतमात्र भएको छ । यी दुबै आयोजना तोकिएको अवधिभित्र सम्पन्न नभएपछि सरकारले पटकपटक म्याद थप्ने गरेको छ । त्यस्तै, भेरी बबई डाइभर्सन आयोजना निर्माण सुरु भएको १२ वर्ष पुग्यो ।

अर्थात, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको उक्त आयोजना औपचारिक रूपमा भने आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण सुरु भएको थियो । तथापि अहिलेसम्म पनि आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । हालसम्म सो आयोजनाको ६६ प्रतिशत निर्माणकार्य सकिएको छ ।

काठमाडौं उपत्यकाबासीको तिर्खा मेटाउने आयोजनाका रूपमा हेरिएको मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणमा १७ हजार लिटर पानी वितरण गरिसकिएको छ । तर, आयोजनाको दोस्रो र तेस्रो चरणमा गर्नुपर्ने निर्माणकार्य अहिलेसम्म सुरु हुन सकेको छैन । आर्थिक वर्ष २०५५/०५६ देखि निर्माण थालिएको सो आयोजनाको दोस्रो र तेस्रो चरण गर्नुपर्ने काम अहिलेसम्म पूरा हुन सकेको छैन ।

लुम्बिनी र पशुपति विकास कोषको काम भने केही सन्तोषजनक देखिन्छ । आर्थिक वर्ष २०६९/०७० मा सुरु भएको लुम्बिनी क्षेत्र विकास कोषको हालसम्मको प्रगति ९५ प्रतिशत छ भने पशुपति विकास कोषको भौतिक प्रगति ८८ प्रतिशतमात्रै छ । यी दुवै आयोजनाको निर्माणकार्य कहिले सकिने हो, टुङ्गो लाग्न सकेको छैन ।

त्यस्तैगरी, उत्तर दक्षिण करिडोर (कोशी करिडोर) आयोजनाको निर्माण पनि निकै सुस्त गतिमा अघि बढेको छ । आर्थिक वर्ष २०६५/०६६ देखि निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म ४८ प्रतिशत काममात्र सम्पन्न भएको छ । उता, आर्थिक वर्ष २०६६/०६७ देखि सुरु भएको कालीगण्डकी करिडोरको काम पनि अहिलेसम्म पूरा हुन सकेको छैन । भौतिक प्रगति हालसम्म ६५ प्रतिशत हाराहारी छ ।

त्यस्तै, उत्तर–दक्षिण लोकमार्ग अन्तर्गतको कर्णाली करिडोर आयोजना निर्माण पनि सुस्त छ । आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएको आयोजनामा हालसम्म ३० प्रतिशत काममात्रै भएको छ । हुलाकी र मध्यपहाडी राजमार्ग आयोजना निर्माणले पनि अपेक्षित गति लिन सकेका छैनन् । आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण सुरु भएको पुष्पलाल–मध्यपहाडी लोकमार्ग) आयोजनाको अहिलेसम्म ७७ प्रतिशत निर्माण सकिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण थालिएको हुलाकी आयोजना पनि वर्षौदेखि अधुरो छ । विभिन्न कारण हुलाकी राजमार्ग निर्माण कार्य प्रभावित हुँदा समय र लागत बढेको छ । हालसम्म आयोजनाको ६७ प्रतिशत मात्र निर्माण सकिएको हो ।

हाल मेट्रो तथा मोनोरेल विकास आयोजनाको काम दुई खण्डमा अघि बढाइएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना अन्तर्गत बर्दिबास–चोचा खण्डमा ४६ प्रतिशत निर्माणकार्य सकिए पनि पूर्वको काकडभित्तादेखि पश्चिमको गड्डाचौकीसम्म पुग्ने गरी बन्ने विद्युतीय रेलमार्ग निर्माणको काम सुस्त छ ।

पूर्व–पश्चिम विद्युतीय रेल आयोजनाको भौतिक प्रगति भने नगन्य अर्थात् चार प्रतिशतमात्र छ ।

सम्पन्न भए यी आयोजना

सरकारले यसअघि राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरेका २४ मध्ये हालसम्म तीन आयोजनामात्र सम्पन्न भएका छन् ।

दोलखाको लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना आर्थिक वर्ष २०७८/०७९ मा निर्माण सम्पन्न भई व्यवसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिसकेको छ ।

असोज दोस्रो साता अविरल वर्षापछि चलेको बाढीपहिरोले क्षति पुर्‍याउँदा अहिलेहाल भने आयोजनाबाट विद्युत उत्पादन बन्द छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा पनि दुई विमानस्थलहरू निर्माण सकिएर सञ्चालनमा आएका छन् । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र कास्कीमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

तर, भारतले नयाँ हवाई मार्ग नदिँदा र सरकारले बजारीकरण गर्न नसक्दा अर्बौं रुपैयाँ खर्चेर बनाइएका यी विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : ५२ बजे

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

अमरगढी – अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई

घरायसी किचलोमा रमाइरहेको सञ्जाल !

काठमाडौं – सामाजिक सञ्जाल व्यक्ति र समुदायलाई साझा सहभागी बनाउने

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट

दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा

केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत – जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको