काठमाडौं– मानिसको शरीरमा एउटा कामै नलाग्ने अंग हुन्छ । त्यो अङ्गले मानिसलाई काम लाग्ने कुनै कार्य गर्दैन । तर, जीवनमा एकचोटि दुःख दिन सक्छ । त्यसले दुःख दियो भने शल्यक्रिया गरेर फाल्नुको कुनै विकल्प रहँदैन ।
मान्छेको शरीरमा काम नलाग्ने अंग भनेको एपेन्डिक्स हो । ठूलो आन्द्रा र सानो आन्द्राको जोर्नीमा जुइनो जसरी रहेको एपेन्डिक्स हाम्रो पाचन प्रणालीको एउटा परिशिष्ट भाग हो । यो नाइटोको छेउका, दायाँ भागमा हुन्छ ।
रोग नलागेको सामान्य अवस्थामा पनि यसलाई निकालेर फालिदिने हो भने पनि त्यसले कुनै असर पार्दैन । तर, कहिलेकाहीँ त्यो फुट्यो भने तत्कालै शल्यक्रिया गर्नुको विकल्प रहँदैन । एपेन्डिक्स फुट्ने समस्यालाई मेडिकल साइन्सको भाषामा एपेन्डिसाइटिस भनिन्छ ।
चिकित्सकका अनुसार एपेन्डिसाइटिस धेरै मानिसलाई हुने समस्या हो । एपेन्डिसाइटिस भएमा एपेन्डिक्स सुनिन्छ र यो समस्या देखिएमा २४ घण्टादेखि ४८ घण्टाभित्र शल्यक्रिया गरेर त्यसलाई फाल्नुपर्छ ।
एपेन्डिसाइटिस कस्तो समस्या हो र यसको उपचार विधि के छ ? यसबाट बच्ने कुनै उपाय पनि छ कि ? यिनै विषयमा ओम अस्पतालका वरिष्ठ सर्जन डा. कमल कोइरालासँग गरिएको कुराकानी
एपेन्डिसाइटिस कस्तो रोग हो ?
यो धेरै मानिसलाई हुने समस्या हो । हाम्रो पेटमा एपेन्डिक्स भन्ने एउटा अंग हुन्छ । त्यसमा इन्फेक्सन भयो भने त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।
मलाई एपेन्डिसाइटिस भयो भनेर बिरामीलाई थाहा हुँदैन । बिरामीलाई एक्कासी पेट दुखेर दायाँपट्टि सर्यो भने एपेन्डिसाइटिस भएको हुनसक्छ । सबै दुखाइमा एपेन्डिसाइटिस नहुन पनि सक्छ ।
एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ?
उपचारमा आउने बिरामीहरूको इतिहास हेर्दा पेट दुख्ने, नाइटोको वरिपरि दुख्दै तल्लो पेटसम्म दुखाइ हुने, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । रगतमा पनि इन्फेक्सन देखिन्छ । तर, यो सजिलै पत्ता लगाउन गाह्रो हुन्छ । कुनै अवस्थामा बिरामीलाई माथिल्लो स्तरको जाँच गर्नुपर्ने र तुरुन्तै अप्रेशन गर्नुपर्ने हुन्छ । यदि २४ घण्टा देखि ४८ घण्टाभित्र अप्रेशन गरिएन र यो फुट्यो भने बिरामीको मृत्यु पनि हुनसक्ने खतरा हुन्छ ।
एपेन्डिसाइटिस भएका बिरामीहरू कुन अवस्थामा अस्पताल आइपुग्नुपर्छ ?
मलाई एपेन्डिसाइटिस भयो भनेर बिरामीलाई थाहा हुँदैन । बिरामीलाई एक्कासी पेट दुखेर दायाँपट्टि सर्यो भने एपेन्डिसाइटिस भएको हुनसक्छ । सबै दुखाइमा एपेन्डिसाइटिस नहुन पनि सक्छ । तर, दुखाइ सहेर बस्नुहुँदैन । पेट दुख्ने, बान्ता हुनेजस्ता लक्षणहरू देखिए भने नजिकको अस्पतालमा गएर उपचार गराइहाल्नु राम्रो हुन्छ ।
फुट्नुअगाडि नै अप्रेशन गर्याे भने यो सजिलैसँग निको हुन्छ । फुटिसकेपछि अलि गाह्रो हुन्छ । आम मानिसले सोचेजस्तै फुटिसकेपछि बिरामीको मृत्यु नै भइहाल्छ भन्ने होइन ।
नेपालमा यसको अवस्था के छ? कस्तो अवस्थामा बिरामीहरू अस्पताल आइपुग्ने गरेका छन् ?
नेपालमा पछिल्लो समय शिक्षाको गुणस्तरमा सुधार भएकाले फरक –फरक अवस्थामा बिरामीहरू आइपुग्छन् । एउटा त इमर्जेन्सीमा धेरै बिरामी आउने रोग हो यो । केही बिरामीहरू एपेन्डिक्स फुटेको अवस्थामा पनि आइपुग्छन् । कतिपय बिरामीहरू धेरै समस्या भइसकेको अवस्थामा अस्पताल आइपुग्छन् ।
एपेन्डिक्स फुटिसकेपछि स्वास्थ्यमा अन्य असर के हुन्छ ?
फुट्नुअगाडि नै अप्रेशन गर्याे भने यो सजिलैसँग निको हुन्छ । फुटिसकेपछि अलि गाह्रो हुन्छ । आम मानिसले सोचेजस्तै फुटिसकेपछि बिरामीको मृत्यु नै भइहाल्छ भन्ने होइन । तर, फुटिसकेपछि जोखिम चाहिँ अलि धेरै हुन्छ । त्यसैले फुट्नुभन्दा अगाडि नै उपचार गर्दा राम्रो हुन्छ ।
एपेन्डिसाइटिसकै कारण मृत्यु हुने दर कस्तो छ ?
विश्वकै तथ्याङ्क अनुसार जुनसुकै अप्रेशनमा पनि १ हजारमा १ जनाको मृत्यु हुन्छ । सबैखाले अप्रेशनमा चुनौति हुन्छ । साधारण अवस्थामा आउँदा एपेन्डिक्समै चाहिँ मृत्यु भइहाल्दैन । एपेन्डिक्स फुटेर शरीरका अन्य भागमा पनि इन्फेक्शन फैलिसकेको छ भने सयमा २० जनाको मृत्यु हुने सम्भावना रहन्छ ।
यसको उपचार विधि के छ ?
पछिल्लो समय ल्याप्रोस्कोपी विधिबाट पनि उपचार गरिन्छ । जसमा नचिरेर सानो प्वाल पारेर उपचार गरिन्छ । त्यसरी उपचार गर्दा बिरामीको पेटमा दाग पनि देखिँदैन र छिटो निको पनि हुन्छ । ठूला अस्पतालहरूमा यो सुविधा छ ।अधिकांश अस्पतालमा अहिले पनि चिरेरै अप्रेशन गर्ने गरिन्छ । बिरामी कुन अवस्थामा अस्पताल आइपुगेको हो, त्यो अनुसारको उपचार विधि हुन्छ ।
बिरामीलाई आधार मानेर गरिएको अध्ययनमा पुरुषहरु, अझ युवामा बढी देखिएको छ ।
ल्याप्रोस्कोपी प्रविधिबारे प्रष्ट पार्दिनुहुन्छ कि ?
शरीरमा प्वाल बनाएर दुरबिनको सहायताले हेरेर उपचार गर्ने प्रविधि ल्याप्रोस्कोपी प्रविधि हो । युवा छन् भने कस्मेटिक हिसाबले दागी पनि नदेखिने, बिरामीलाई दुःख कम हुने र छिटो निको भएर सामान्य जीवन यापन गर्न सक्ने भएकाले अहिले यो प्रविधि निकै प्रभावकारी मानिन्छ ।
एपेन्डिसाइटिसको उपचार विधि अप्रेशनमात्रै हो या अरु पनि छन् ?
कुनै–कुनै केसमा औषधी खाएर निको पार्ने र पछि दोहोरियो भने अप्रेशन गर्ने भन्ने पनि हुन्छ । तर, एपेन्डिसाइटिसको पहिलो उपचार भनेकै अप्रेशन हो ।
एकपटक अप्रेशन गरिसकेपछि फेरि दोहोरिने सम्भावना कतिको हुन्छ ?
कोही कोही मान्छेलाई एकदमै जटिल इन्फेक्शन भयो, एपेन्डिक्सको वरिपरि गाँठो परेर बस्यो भने बिरामीलाई जोगाउन गाँठो परेको भागलाई निकालिन्छ । कुनै कारणले बाँकी रहेको भाग निकाल्न सकिएन भने त्यसमा इन्फेक्शन भएर बल्झिन सक्छ, जसलाई स्टेप एपेन्डिसाइटिस भनिन्छ । यो एकदमै कम मात्रामा हुन्छ ।
एपेन्डिसाइटिस हुन नदिने केही उपाय छ कि ?
यो १० देखि ३० वर्षसम्मको उमेर समुह, त्यसमा पनि पुरुषहरूमा बढी हुन्छ । तर, यही कारणले एपेन्डिसाइटिस हुन्छ भन्ने पत्ता नलागेकाले यो समस्या हुन नदिने भन्ने कुनै आधार छैन । तर, प्रोटिन बढी खाने र शहरी जीवनशैलीमा हुर्केका मान्छेहरूमा यो समस्या बढी देखिने गरेको छ । यसको अर्थ फेरि प्रोटिन नै खानुहुँदैन भन्ने होइन । ठिक्क मात्रामा खानुपर्छ ।
महिला भन्दा पुरुषमा बढी देखिन्छ भन्नुभयो, यसको कारण होला ?
यसको कुनै कारण नै छैन । बिरामीलाई आधार मानेर गरिएको अध्ययनमा पुरुषहरु, अझ युवामा बढी देखिएको छ । कसैलाई लिम्फोइट सुन्निएर हुन्छ भने कसैको एपेन्डिक्सभित्र ढुङ्गाजस्तो कडाखालको वस्तु जमेर पनि हुन्छ । कोही एपेन्डिक्स भनेर उपचारमा आउँछन्, तर त्यहाँ ट्युमर भएर क्यान्सर नै भइसकेको पनि हुन्छ । त्यसैले एपेडिक्स सँगसँगै अन्य जाँच पनि गर्नुपर्ने हुन्छ ।
यहाँले भनेजस्तै एपेन्डिसाइटिसका कारणले क्यान्सर हुने हो वा क्यान्सरका कारण एपेन्डिसाइटिस ?
एपेन्डिसाइटिसका कारणले क्यान्सर हुने होइन । पहिले नै क्यान्सर रहेछ भने क्यान्सरले एपेडिक्सको मुखमा थुनिएर एपेन्डिसाइटिस हुने सम्भावना रहन्छ ।
अन्त्यमा यहाँको सुझाव ?
स्वास्थ्यमा कुनैपनि समस्या भयो भने नजिकैको स्वास्थ्यकर्मीको सुझावका आधारमा मात्रै उपचारमा जानुपर्छ । ग्यास्ट्रिक भयो या अन्य कुनै सामान्य रोग होला भनेर बस्नुहुँदैन । समयमै उपचार गराइहाल्नु राम्रो मानिन्छ ।
वरिष्ठ सर्जन डा. कमल कोइरालासँग गरिएको कुराकानी
प्रतिक्रिया