अस्तु-ओडारबोट जोड्ने मोटरेवल पुल अलपत्र « Khabarhub

अस्तु-ओडारबोट जोड्ने मोटरेवल पुल अलपत्र


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ ।

विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो । 

पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो । 

ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ । सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि अब कहिले काम सुरु हुन्छ भन्ने निश्चित छैन । सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमै भएको सीमित छ । वर्षौँअघि निर्माण भएको पुलको संरचना भूजीखोलामा आएको बाढीले भत्काइदिएको छ । 

बाढीले लाखौँको संरचनामा क्षति पुर्‍याएपछि पुल सुरुकै चरणबाट काम गर्नुपर्ने अवस्थामा छ । पुल बन्न लागेपछि खुसी भएका अधिकारीचौर, नाथुरी लगायतका गाउँका नागरिक अहिले अलपत्र अवस्थामा पुगेपछि दुःखी बनेका छन् । 

कृषि गाउँका रुपमा रहेका अधिकारीचौर र नाथुरीगाउँका हजारौँ किसान पुल नबन्दा मारमा परेका छन् । डेढ दशकअघि गाउँमा मोटरबाटो पुगेपछि सिङ्गो गाउँनै व्यावसायिक तरकारी खेतीमा लागेको छ । यतिका समयसम्म मोटर गुड्ने पुल नबन्दा यस क्षेत्रका तीन सय घरधुरीका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका किसान कृष्ण कँडेलले बताए । 

भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्षाको समयमा भने ठप्प हुने गरेको कँडेलले बताए । हिउँदमा गाउँमै गाडी आएर उत्पादित तरकारी बजारमा पुर्‍याउन सहज भए पनि बर्षा याममा सकस हुने उनको भनाइ छ । 

कँडेलले भने– ‘हामी किसानका लागि गाउँमा मोटरबाटो बरदान सावित भएको छ, यहाँका सयौँ मानिस तरकारी खेतीमा आवद्ध छौँ, हिउँदमा गाडी बारीमै आउँछ, वर्षाको चार महिना त ठप्पै हुन्छ, त्यो बेला डोकोमा बोकेर बजार पुर्‍याउनुपर्छ, डोकोमा बोकेर बजार पुर्‍याउँदा निकै गाह्रो हुन्छ, पुल बन्न लागेको दश वर्षनै हुन लाग्यो, अहिले त काम गर्ने मान्छे पनि आउँदैन, भागे छ कि क्या हो, खोलाले पनि केही भागमा क्षति गरेको छ ।’

नाथुरी गाउँका स्थानीयवासी शिवराज कँडेलले अस्तुमा पुल बने आधा १५ मै बुर्तिबाङ बजारमा पुग्न सकिने भए पनि अहिले एक घण्टा बढी लाग्ने बताए । पुल नबन्दा वर्षा सुरु भएदेखि कात्तिकसम्म गाउँमा मोटर पुग्न नसक्ने उनको भनाइ छ । गाउँमा कोही बिरामी परेर अस्पताल लैजानु परे डोकोमा बोक्नुपर्ने स्थिति रहेको कँडेलले बताए। पटक–पटक सरोकारवाला निकायमा माग गरी राखे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पाखे।

पुल सङ्घीय सरकारले विनियोजन गरेको  तीन करोड ५० लाखको लागतमा निर्माण हुन थालेको थियो । निर्माण कम्पनीले काम गर्न अटेरी गरेपछि गत वर्ष ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनीयर अमर अधिकारीले जानकारी दिए। 

निर्माण कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको उहाँको भनाइ छ । उक्त कम्पनीले ४० प्रतिशत मात्रै काम गरेको छ । त्यसमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको उनी बताउँछन्। अब पुलको काम सुरु गर्नका लागि नयाँ डिजाइन गर्नुपर्ने भन्दै त्यसका लागि परामर्शदाता कम्पनी आह्वान गरेको सूचना अधिकारी अधिकारीको भनाइ छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ४८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा