सम्बन्ध विच्छेद : समाज बिग्रेको कि सुध्रेको ? | Khabarhub Khabarhub

सम्बन्ध विच्छेद : समाज बिग्रेको कि सुध्रेको ?

नेपालको पारिवारिक कानून कति खुकुलो ?



काठमाडौं- रुसी राजनीतिज्ञ लेनिनले सोभियत राज्यहरुलाई दिइएको आत्मनिर्णयको अधिकारलाई श्रीमान–श्रीमतीवीचको ‘सम्बन्ध विच्छेदको अधिकार’ सँग तुलना गरेका थिए । लेनिनको भनाइ थियो– सम्बन्ध विच्छेद गर्न पाउने अधिकार दिँदा परिवारको विखण्डन होइन, एकता मजबुद हुन्छ, प्रेम मजबुत हुन्छ ।

आधुनिक समाजमा श्रीमान–श्रीमतीवीच सम्बन्ध विच्छेद गर्न पाउने अधिकार दिइएकै हुन्छ । तर, परम्परावादीहरु भने सम्बन्ध बिच्छेदका घटनामा चिन्ता प्रकट गर्छन् ।

अलग हुने अधिकार दिँदैमा सम्बन्ध विच्छेदका घटना बढ्छन् भन्ने कुरा आधुनिक समाजशास्त्रीहरुले पत्याउँदैनन् । बरु सम्बन्धविच्छेदको अधिकार संकुचित भयो भने श्रीमान-श्रीमतीवीच कलह बढ्ने, प्रेम नहुँदा पनि सँगै बस्न बाध्य हुनुपर्ने र त्यसले अन्य सामाहिक अपराध र हिंसालाई बढाउने हुनाले छुट्टिन पाउनुपर्ने अधिकार खुकुलो हुनुपर्ने समाजशास्त्रीहरुको तर्क छ ।

नेपाली समाज पनि पुरानो र नयाँवीचको संक्रमणमा छ । अहिलेको अवस्थामा समाजमा सम्बन्ध विच्छेदका घटनाहरु विगतमा भन्दा बढेको तथ्यांकले देखाएका छन् । समाजमा श्रीमान–श्रीमतीवीच सम्बन्ध विच्छेदका घटना विगतको भन्दा बढेका छन् । ०८० सालमा मात्रै करिब ३७ हजार जोडीले सम्बन्धविच्छेद गरेको तथ्याङ प्रहरीसँग छ ।

यसरी सम्बन्धविच्छेदका घटना बढ्नुलाई स्वाभाविक मान्ने कि दुःख व्यक्त गर्ने ? यसबारे विश्लेषककै वीचमा मतभेद देखिन्छ । एकथरीले सम्बन्ध विच्छेदलाई असाध्यै नराम्रो संज्ञा दिएका छन् भने कतिपयले सकरात्मक पनि मानेका छन् ।

सम्बन्ध विच्छेदका घटनामा केहीले पुरुषलाई बढी दोषी देखाउने गरेका छन् भने ‘केहीले महिलालाई स्वतन्त्रता बढी भएको’ प्रतिफल बताउने गरेका छन् ।

समानता हरेक व्यक्तिको मौलिक अधिकार हो । सम्बन्ध विच्छेदका घटना कम गर्न सबैभन्दा पहिले महिला र पुरुषबीच समानता स्थापित गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

जुनसुकै प्रक्रियाबाट बिहे गरेको भए पनि त्यसलाई सार्वजनिक गर्नुपर्ने नेपालको पारिवारिक कानूनले भनेको छ

आखिर समाजमा किन बढिरहेका छन् त सम्बन्धविच्छेदका घटना ? यसबारे विभिन्न व्यक्तिका धारणा सुन्नुअघि नेपालको पारिवारिक कानूनमा सम्बन्ध विच्छेदको व्यवस्था खुकुलो छ कि कसिलो ? यसबारे छोटो चर्चा गरौं–

मुलुकी देवानी संहिताको भाग ३ को दफा ६८ मा विवाहलाई ‘अनतिक्रम्य सामाजिक बन्धन’ मानिएको छ । जसमा भनिएको छ, ‘विवाह पुरुष र महिलावीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ ।’

संहिताको दफा ७२ अनुसार चार किसिमका विवाहहरु स्वतः बदर हुन्छन् । एक– पुरुष वा महिलाको मञ्जुरी नलिई गरिएको विवाह । दुई– हाडनातामा भएको विवाह । तीन– उमेर २० वर्ष नपुगी गरिएको विवाह । र, चार– श्रीमान–श्रीमतीवीच अंशबण्डा नगरेको व्यक्तिबाट भएको दोस्रो विवाह ।

यी चार किसिमका बिहे स्वतः बदर हुने भएकाले यस्तोमा सम्बन्ध विच्छेदको कानूनी प्रक्रियामै गइरहनुपर्दैन ।

नेपालको कानूनले महिलालाई संरक्षण गरेकै देखिन्छ । श्रीमानले अर्को विवाह गर्नासाथ पहिली श्रीमतीसँग स्वतः सम्बन्ध विच्छेद भएको मानिँदैन तर विवाहित महिलाले सम्बन्ध बिच्छेद नहुँदै दोस्रो बिहे गरेमा पति–पत्नीवीचको सम्बन्ध स्वतः अन्त्य भएको मानिन्छ

कसैलाई झुक्याएर बिहे गरिएको रहेछ भने कुनै एक पक्ष मञ्जुर नभएर त्यस्तो विवाह बदर गराउन सकिने दफा ७३ मा उल्लेख छ । त्यस्तो बिहे भइसकेपछि दुबै पक्ष श्रीमान–श्रीमतीका रुपमा बस्न राजी भएमा बिहे बदर गरिरहनुपर्दैन ।

त्यस्तै, दफा ७२ अनुसार बदरभागी बिहे भएको रहेछ र महिला गर्भवती भएमा उनको मञ्जुरी लिएर मात्रै बिबाह बदर हुने कानूनी व्यवस्था छ ।

कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट कुनै महिलाले बच्चा जन्माएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलावीच स्वतः बिहे भएको मानिने दफा ७४ मा व्यवस्था छ । तर, जबर्जस्ती करणी, हाडनाता, बहुविवाह र उमेर नपुगेको हकमा भने बच्चा जन्मिए पनि विवाह भएको मानिँदैन । त्यस्तो विवाह बदर भए पनि जन्मिइसकेको बच्चाले पाउने कानूनी हकमा भने कुनै असर नपर्ने मुलुकी संहितामा उल्लेख छ ।

जुनसुकै प्रक्रियाबाट बिहे गरेको भए पनि त्यसलाई सार्वजनिक गर्नुपर्ने नेपालको पारिवारिक कानूनले भनेको छ । पति–पत्नीले अनिवार्य विवाह दर्ता गराउनुपर्ने दफा ७६ ले भनेको छ ।

सम्बन्ध विच्छेदको कानून

नेपालमा सम्बन्ध विच्छेदको कानूनी व्यवस्था स्पष्ट रहेको छ । पति र पत्नी दुबैले चाहेमा जहिलेसुकै सम्बन्ध विच्छेद गर्न पाइन्छ । पतिको मात्रै चाहनाले सम्बन्ध विच्छेद गर्ने हो भने चारवटा अवस्था हुनुपर्छ–

एक– श्रीमतीले मञ्जुरी नलिई तीन वर्षभन्दा बढी समय अलग्गै बसेमा । दुई– श्रीमतीले खानलाउन नदिइएमा वा घरबाट निकालेमा । तीन– पत्नीले शारीरिक वा मानसिक कष्ट पुग्ने प्रपञ्च गरेमा । र, चार– पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा ।

त्यसैगरी पत्नीले ६ वटा अवस्थामा सम्बन्ध विच्छेद गर्न पाउने कानूनमा व्यवस्था छ :

एक– पति तीनवर्ष भन्दा बढी समय अलग बसेमा । दुई– पतिले खान लायन नदिएमा वा घरबाट निकालेमा । तीन– पत्नीले शारीरिक वा मानसिक कष्ट पुग्ने प्रपञ्च गरेमा । चार– पतिले अर्को विवाह गरेमा । पाँच– पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको हरेमा । र, छ– पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा ।

सम्बन्ध विच्छेदको प्रक्रियामा जाँदा भने राज्यले सुरुमा सम्झाउने, बुझाउने र मेलमिलापको प्रयास गर्ने कानूनी प्रावधान रहेको छ । सम्बन्ध विच्छेद भएमा छोराछोरीको अवस्था र श्रीममीलाई मानाचामल भर्नेसम्मको व्यवस्था कानूनले गरेको छ ।

नेपालको कानूनले महिलालाई अलिकति भए पनि संरक्षण गरेकै देखिन्छ । जस्तो– श्रीमानले अर्को विवाह गर्नासाथ पहिली श्रीमतीसँग स्वतः सम्बन्ध विच्छेद भएको मानिँदैन । तर, विवाहित महिलाले सम्बन्ध बिच्छेद नहुँदै दोस्रो बिहे गरेमा पति–पत्नीवीचको सम्बन्ध स्वतः अन्त्य भएको मानिने दफा ८२ (ग) मा उल्लेख छ ।

अब नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेदबारे कानून निर्माता, प्रहरी प्रवक्ता र समाजशास्त्रीका धारणा सुनौं–

स्वतन्त्र हुन पाउँ भन्नु राम्रै संकेत हो

-निर्मला ढकाल, समाजशास्त्री

सम्बन्ध विच्छेदको संख्या बढ्दा यसलाई नकरात्मक रुपमा लिनुपर्दैन । श्रीमान र श्रीमती सँगै बस्न नसकेपछि गुम्सिएर सम्बन्ध निभाउनुभन्दा सम्बन्ध विच्छेद गरेको राम्रो हो । एकअर्कोप्रति मनमा कुविचार राखेर बस्नुभन्दा छुट्टिएको नै ठिक हो । समाज बिग्रन्छ, भत्किन्छ भनेर एकाकार हुन नसकेको सम्बन्ध कति दिन अरुलाई देखाउन निभाउने ?

सम्पत्तिसँग जोडिदिएर नानाथरीका कुराहरु आएका छन् । यो श्रीमान् र श्रीमती दुवैको स्वतन्त्रतासँग जोडिएको हो । महिलाहरुले बढी स्वतन्त्रता खोज्दा डिभोर्स बढ्यो भन्छन्, त्यो होइन । आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन पाउनुपर्छ भन्दा कलह हुने सम्बन्ध पनि कुनै सम्बन्ध हो र ? स्वतन्त्र हुन पाउँ भन्नुलाई कसरी नराम्रो भन्नु ? यो राम्रै संकेत हो ।

यसमा महिलाहरुलाई नै दोषी देखाउने गरिएको छ । पैसाका लागि बिहे गरेको भन्ने आरोप लाग्छन् । समाजमा एक–दुई पात्र त्यस्ता होलान्, जो समाजका लागि हानिकारक छन् तर समग्रमा महिलाको अवस्था आज पनि कमजोर छ । पैसाकै लागि परिवार छोड्न तयार छैनन् । अब यहाँभन्दा कति सहने भन्ने अवस्था आइसकेपछि नै सम्बन्धविच्छेदमा पुग्छन् ।

नेपाली समाजमा डिभोर्सी महिलाका लागि अथाह चुनौती छ । त्यो चुनौती सामना गर्न तयार रहने महिलाले स्वतन्त्रतालाई रोजेकी हो । बच्चा र परिवारको भविष्यको कुरा हुन्छ ।

परिवार तथा विवाहको जुन सामाजिक संयन्त्र छ । त्यसलाई परिमार्जन गर्दै लैजानुपर्छ । हिजोका मानिसहरुले जसरी त्यसलाई बचाइरहेका थिए, त्यही हिसाबले आजको मान्छे चल्दैन । मान्छेको सहजतासँग जोडिएको हुन्छ ।

सम्बन्ध जोडेपछि निभाउनुपर्छ

– चन्द्र भण्डारी, नेता, नेपाली कांग्रेस

पहिले श्रीमान श्रीमतीमा आत्मीयता थियो, सदभावना थियो । सामाजिक र नैतिकताले बाँधिएका थिए । हृदयदेखिको प्रेम थियो । एकअर्कादेखि टाढा रहँदा पनि विश्वास थियो । एउटा चिठीमा भर परेर वर्षौं वर्ष चल्थ्यो । सम्बन्ध जोगाउन दुवैको हृदय बलियो थियो ।

अहिलेको सम्बन्ध भौतिकवादी हुन पुगेको छ । सामाजिक सञ्जालको विकास भएपछि पनि सम्बन्ध कमजोर हुँदै गएको छ । साना–साना कुरामा मानिसहरुले विवाह टुंग्याएका छन् । पूर्वीय दर्शनको सिकाइ छैन, मानिस एकदम स्वार्थी बन्दै गएको छ ।

हुनेखाने, सम्पन्न र शिक्षितहरुले डिभोर्स धेरै गरेका छन् । समाजमा मध्यमस्तरका मानिसहरुले सम्बन्ध जोगाएका छन् ।

नैतिक शिक्षामा जोड दिनुपर्छ । विवाह गर्नुभन्दा अगाडि एकअर्कोले राम्रोसँग बुझ्नुपर्छ । समाजमा कसैको पनि अस्तित्व आजीवन छैन, सबै अस्थायी हो । सम्बन्ध जोड्नु नै हुँदैन, जोडेपछि निभाउनुपर्छ । चिरस्थायी लैजाने सोच हुनुपर्छ ।

सम्बन्ध विच्छेदका कारणहरु धेरै छन्

-भीमप्रसाद ढकाल, डीआइजी, नेपाल प्रहरी

सम्बन्ध विच्छेदको संख्या बढ्नु राम्रो होइन । प्रहरीको पाटोबाट हेर्दा महिला, बालबालिका र जेष्ठ नागरिकको हितका लागि केन्द्रदेखि इलाका सेल राखिएको छ । त्यसरी काम गर्दा सम्बन्ध विच्छेदमा घरेलु हिंसाको भुमिका देखिएको छ ।

अर्को, पारिवारिक विखण्डन हुनुको कारण भनेको वैदेशिक रोजगारी पनि हो । परिवार बिछोडिएर बस्नुपरेपछि विभिन्न शंका उपशंका वा अविश्वासले सम्बन्ध बिग्रँदै गएको छ । सामाजिक सञ्जालका पनि व्यापक दुरुपयोग भएको देखिन्छ ।

आर्थिक संकटले पनि सम्बन्धमा असर गरेको छ । व्यवहारहरु, लेनदेन मिलाउने सम्बन्धमा पनि विखण्डन भएको छ । प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको छ ।

परिवारमा पहिले जुन अनुशासन थियो, त्यो पनि कमजोर हुँदै गएको अवस्था छ । अहिले बाबुछोरा र आमाछोरी बसेर रक्सी खान्छन् । अभिभावकको संस्कार छैन । रक्सीविनाको कार्यक्रम नै हुँदैन । घरेलु हिंसा अलकोहलसँगै जोडिएको छ ।

तर, सबै सम्बन्धविच्छेद खराब पनि होइन । मिल्ने नसकेको अवस्थामा सँगै बस्ने पनि होइन । अन्तिम अवस्थाका लागि यो कानुन बनेको हो । तर स–सानो मतभेदमा पनि छुटिनुले सामाजिक संरचना नै उथल पुथल हुन्छ । परिवारमा खटपट हुँदै गएपछि विभिन्न समस्याहरु सिर्जना हुँदै जान्छ र अन्तिममा सम्बन्धविच्छेदमा गएर टुंगिन्छ ।

राज्यले परिवार मिलेर बस्ने वातावरण बनाउनुपर्छ

– इन्दिरा रानामगर, उपसभामुख

विवाहभन्दा अगाडि एक अर्कालाई बुझ्ने परम्परा हाम्रो समाजमा अहिले पनि छैन । प्रेम विवाह भन्दा मागी विवाह गर्ने चलन छ । अभिभावकलाई मन परेको मान्छेसँग बिहे गर्यो, त्यसमा सम्पत्ति हेरिन्छ, शिक्षा हेरिन्छ, जागिर हेरिन्छ तर जोडीबिचको रुचि हेरिँदैन । जसले गर्दा पछि गएर समस्या सिर्जना हुन्छ ।

कतिपय अवस्था सम्बन्ध विच्छेद हुनु धेरै राम्रो पनि हो । किनभने, एक पक्षले अतिवाद सहेर बस्न आवश्यक छैन । मान्छेको जीवन एकपटक पाउने हो । त्यसमा पनि अरुको टोकसो सहेर सम्बन्ध निवाह गर्नुको के फाइदा ? सम्बन्धमा दुवैले दुवैप्रति सौहार्दता देखाउन नसके किन सँगै बस्नु ?

कसैको दबाबमा बस्नुभन्दा छुट्टिएको राम्रो हो । बाबुआमाको झगडाले बच्चालाई असर गर्छ । दुवैको प्रेम पाउने अवस्था रह्यो भने बच्चाका लागि राम्रो । तर कलह र क्लेसले बच्चाहरु आमाबुवा दुवैको प्रेमबाट बञ्चित हुने अवस्था रहन्छ ।

विदेशमा गएर ४/५ वर्ष बस्ने र पछि श्रीमती खोज्दै आउनेहरु पनि छन् । लामो समयको ग्यापले पनि उनीहरु बीच प्रेम सकिएको छ । प्रेम फक्राउन पनि एक अर्को एक साथ रहनुपर्छ । धेरै मान्छे अहिले सम्बन्ध राम्र्रो भएर होइन, समाजको डरले सम्बन्ध विच्छेद गर्न सकिरहेका छैनन् ।

सम्बन्धमा अपनत्व छ भने राम्रो । तर, बेइमान गरी–गरी विवाह जोगाउनुको के अर्थ ? सम्पत्तिको आडमा २/४ ठाउँमा श्रीमती राख्नेहरुलाई महिलाको अधिकार धेरै भएको लाग्नु स्वाभाविक हो । भक्तपुरमा एक स्वास्नी, ललितपुरमा एक, तराईमा एक र पहाडसमेत स्वास्नी राख्नेहरुले पचाएका छैनन् ।

महिलाले स्वतन्त्र भएर बाच्छु भन्दा अधिकार धेरै भयो भन्ने तर्कको कुनै औचित्य छैन । एक्लै बाँच्न मन लाग्नेलाई बाटो दिनुपर्छ । सम्बन्ध प्रेमले हुन्छ, जबरजस्तीले हुँदैन । यसर्थ सम्बन्धविच्छेद राम्रो हो । तर, सम्बन्धको फाइदा कसैले पनि उठाउनु हुँदैन । अतः यसका लागि पहिलो सर्तका रूपमा महिला र पुरुषबीच अहिलेको असमान शक्ति सम्बन्धमा रूपान्तरण आवश्यक हुन्छ ।

सम्बन्ध विच्छेद कुनै एक परिवारको मात्रै मुद्दा होइन । यसले समग्र समाज र राष्ट्रलाई प्रभावित गर्छ । त्यसकारण राज्यको प्रयास परिवार मिलेर बस्न सक्ने वातावरण बनाउने हो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र