पार्टी फोरेका राजेन्द्र श्रेष्ठको आक्षेप– उपेन्द्र यादव अपारदर्शी, स्वेच्छाचारी मात्र हैन रहस्यमयी पनि छन्  | Khabarhub Khabarhub

पार्टी फोरेका राजेन्द्र श्रेष्ठको आक्षेप– उपेन्द्र यादव अपारदर्शी, स्वेच्छाचारी मात्र हैन रहस्यमयी पनि छन् 



नेपालमा पार्टी बनाउने, चुनावमा दुईचार सिट हात पार्ने, त्यसको व्याज असुल्दै समानुपातिक प्रणालीमार्फत थप ५, ७ सिट थपिएपछि मोलतोल गरी अन्ततः मालदार मन्त्रालय हात पार्ने अघोषित परम्परा नै बसिसकेको छ । अनि कसलाई चित्त बुझ्दैन पार्टी टुक्र्याएर स्वार्थको रोटी सेक्ने खेलो फड्को चल्न थाल्छ । प्रकारान्तरले समाजवादी पार्टीलाई त्यही कित्तामा पुर्‍याएको छ । जसपा के का लागि गठन भयो ? पहिचानको मुद्दा उठाउँदै गठन भएको पार्टीका शीर्ष नेतृत्वका लागि एक दुई थान सरकारी पदको स्वार्थमा पुगेर त्यो यात्रा विसर्जित भयो ? जसपा संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर जसपा नामको पार्टी गठन गरेर पूर्व एमाले पृष्ठभूमि भएका नेताहरू अब एमाले जान लागेका हुन् ? 
यसमा द्विविधा राख्नुपर्ने कुनै कारण नै छैन । किनकि यसमा जुन माग, मुद्दा, विचार र सिद्धान्त लिएर एमाले विभाजित भयो, त्यसको कुनै विषय परिवर्तन भएका छैनन् । एमाले र हाम्रो दुवै नेतृत्वमा त्यो सोच छैन ।

समाज विकास क्रममा यदि उहाँहरूले हाम्रो एजेण्डा गम्भीरतापूर्वक लिनु भयो वा हाम्रो मुद्दा नीतिगत रूपमै निकट भयो भने त्यो बेला निकटताको अवस्था आउने हो ।  अहिले त्यो अवस्था छैन । त्यसैले एकीकरणको विषय धेरै टाढा छ । यो विभाजनसँग एमाले एकीकरणको साइनो गोरु बेच्दा जति पनि छैन ।

त्यसो भए पार्टी विभाजन शक्ति हत्याउने उन्माद हो कि आवश्यकता ?

अहिले माग र मुद्दाको सन्दर्भमा कुरा उठायौँ । उपेन्द्रजीले पनि अधिकार र पहिचानका मुद्दा नउठाएको त हैन । तर उहाँहरूसँग यही माग र मुद्दामा समानता हुन सक्ने सम्भावना देखेर एकीकृत भएको हो । त्यसमा समावेशी राष्ट्रिय पार्टीसँग पनि एकीकृत भयौँ । तत्कालीन स्थितिमा संघीय समाजवादी गठन भयो । त्यो पनि नयाँ शक्ति र  राष्ट्रिय जनता पार्टीसँग समेत एकीकरण भएपछि जनता समाजवादी पार्टी बनेको हो ।

अहिले हामीसँग उहाँहरूको वैचारिक मत भिन्नता कसरी विकास भयो भन्ने सन्दर्भमा हामीले एकीकरणका बेलादेखि केही विषय पार्टीको मार्गदर्शक चित्रको रूपमा संघीय समाजवादलाई अपनायौँ ।

लोकतान्त्रिक विकेन्द्रीकरण हाम्रो संगठनात्मक सिद्धान्त हो । यसरी स्पष्टताका साथ हाम्रो घोषणापत्र विधान सबैमा लेख्दै गयौँ । यसमा उपेन्द्र यादवको प्रत्यक्षता केही मत भिन्नता थिएन । जब कार्यक्रम चल्छ, आमसभा हुन्छ त्यस्तोमा कहिल्यै वकालत गर्नु भएन ।  पार्टीको सिद्धान्त संघीय समाजवाद  र त्यसको आधार माक्सवाद, वैज्ञानिक समाजवाद र त्यसको दर्शन द्वन्द्वात्मक तथा भौतिकवाद भनेर पार्टीको घोषणापत्र, विधानमा लेखियो । तर उहाँले सधैँ आफूलाई सोसियल डेमोक्रयाट भनेर चिनाउनुभयो । यही अन्तर द्वन्द्व चिर्न हामी अलग हुनुपरेको हो ।

सरकारको प्रतिनिधि भएर उपेन्द्र यादव विदेशमा भएका बेला रातारात तपाईंहरुलाई किन पार्टी फुटाउने बाध्यता आइपर्‍यो ?

उहाँ यहाँ भएको भए पनि त्यो लाञ्छना त लाग्थ्यो । व्यक्तिहरूले आआफ्नो स्वार्थगत विश्लेषण गरेर दोष थोपर्नु  प्रवृत्तिगत कुरा हो । नेपालको राजनीतिमा यो भइरहन्छ । यतिसम्म कि सत्ता समीकरण हेरफेर भयो भने पनि कि चीन, कि भारत, कि अमेरिका भनेर टीकाटिप्पणी गरिन्छ । तर हाम्रो पार्टी विभाजन आन्तरिक आवश्यकता हो ।

तपाईँलाई पार्टी चलाउनुहोस् भनेर सुम्पेर गएको आउँदा अर्कै रूप पो धारण गरिदिनुभयो । यो त धोखाघडी भएन र ?

म कार्यवाहक नै हो । उहाँ यो भन्दा अगाडि पनि स्वास्थ्यमन्त्री अरु मन्त्री हुनुभयो । म सधैँ कार्यवाहक भएँ । उहाँ परराष्ट्र मन्त्री रहँदा हप्तै पिच्छे बाहिर जाँदा पार्टीको दायित्व स्वतः मेरो काँधमा आउँथ्यो ।

कार्यवाहक भनेको उहाँ नहुँदा मैले गर्ने भनेको हो । यस पटकको कार्यवाहकको काममा अमेरिका जाँदा पनि यहाँ यस्तो गरौँ भनेर भन्न सक्नुपर्थ्यो तर मलाई थाहा नै नदिई उतैबाट विभिन्न जिल्लामा निर्वाचन समितिहरू गठन गर्नुभयो । कार्यवाहक दिने चलन यही हो त ?

अर्को, उहाँ विदेश जानुअघि एउटा बैठक राखौँ भनियो । मेरो पनि काम विशेषले बाहिर जानुपर्ने थियो ।  अशोकजी, राज किशोर यादवलगायत पनि उपस्थित हुन नसक्ने भन्ने पहिल्यै थाहा हुँदाहुँदै अपर्झट बैठक राखेर १८ जनाको कमिटीमा ८ जना बसेर मनलाग्दी निर्णय गरी सर्कुलर गरियो ।

विदेश जानुअघि सर्कुलर गरेर जाने र विदेशबाटै निर्वाचन समितिहरू गठन गर्ने त्यो कार्यवाहक भो ? यो ढङ्गको स्वेच्छाचारिता अपनाएपछि उहाँ विदेशमा छ, आकाशमा छ कि पातालमा छ भनेर हेर्न जरुरी भएन र त्यही भएर मैले साथीहरूसँग कुरा गरेर व्यवस्थापन मिलाएर अलग भएको हो ।

पार्टी सिद्धान्तका लागि फुटेको भए त रातारात हामीलाई यति मन्त्रालय चाहिन्छ भनेर बालुवाटार धाउनु त पर्दैनथ्यो होला नि ?

हामी पहिल्यै सरकारमा थियौँ । सरकारलाई समर्थन गर्ने कुरामा पनि पहिल्यै सहमत भएका थियौँ । समाजवादी मोर्चामा पनि हाम्रो बलले नै उहाँहरू जानु भएको हो । हामीले जनता समाजवादी पार्टी नेपाल सहित त्यसमा माओवादी केन्द्र, विप्लव माओवादी, एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा पनि गठन गरिराखेकै छौँ । त्यो समाजवादी मोर्चाप्रति पनि उहाँहरूको रुचि थिएन ।

मोर्चा भनेको नीति सिद्धान्त विचार सबै मिलेर बन्ने हो । त्यसको गन्तव्य भोलि कुराहरू मिल्दै गए, एउटै चुनाव चिन्ह दिएर पनि जान सकिन्छ । समाजवादी मोर्चालाई पनि अगाडि बढाउन खोजेका छौँ । लुम्बिनी प्रदेशको अध्यक्षलाई राजीनामा गर भने तर त्यसमा हामीले सम्झाएर बुझाएर राजीनामा अस्वीकृत गरिदियौँ । मधेश प्रदेशमा पनि आफैँले बनाएको अध्यक्षलाई भनेको मानिदिएन भनेर अर्को मान्छे ल्याउने स्वेच्छाचारी काम भयो ।

विगतमा सत्ता समीकरणको सन्दर्भमा चुनावकै बेला ओलीसँग गोप्य वार्ता गर्नुभयो । चुनाव त हारियो तर फेरि पद बिना बस्नै नसक्ने माओवादी कांग्रेससँग फर्किएर उपराष्ट्रपति आफ्नो भागमा पारे ।

राजनीतिक सहकार्य कसरी सम्भव भयो त ?

उहाँको कार्यशैली अत्यन्तै अपारदर्शी, स्वेच्छाचारी मात्रै हैन कि रहस्यमय पनि देखिन्छ । उहाँले वैचारिक कार्यशैली, संगठनात्मक र कार्यशैलीका कारण हामी छुट्टियौँ ।

निर्वाचन आयोगले कानूनी शून्यता भएको समयमा पार्टीलाई कि मान्यता दियो, के मा टेकेर दल दर्ता भयो ?

कानूनी शून्यता मुद्दा हाल्ने बेलामा झगडियाहरूले लगाउने आरोप हो । कहीँ छैन । निर्वाचन आयोगका पदाधिकारीहरू पनि विवेक शून्य बस्ने त हैन होला । धेरै मान्छेसँग तुलना गर्नु उचित हुँदैन ।

मधेश प्रदेशका सरकार वा क्रियाशील राजनीतिक भूमिका देखिएका प्रदेशहरूमा के हुन्छ ?

सत्ता समीकरण लेनदेनको कुरामा केन्द्रको हकमा पहिला नै हामी सरकारमा थियौँ र छौँ । यादव सत्ताबाट बाहिरिएपछि त्यो स्थानमा परिपूर्ति भएको छ । त्यसकारण कुनै बार्गेनिङ भयो भन्ने हैन । उपेन्द्रजी र उहाँलाई समर्थन गर्ने व्यक्तिहरू पहिला आफ्नो आङको भैँसी हेर्नुहोला । अर्काको भन्दा आफूले गरेका गल्तीहरूको आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु । मैले ६ महिना अगाडि नै यही प्रवृत्तिबाट पार्टी अगाडि बढ्ने हो भने पार्टी विभाजन हुन्छ भनेर भनेको थिएँ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : ४८ बजे

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका

जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा

तनहुँ – जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि