गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त « Khabarhub

गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माणकार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माणकार्य ‘एम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ । विसं २०७८ असारमा २८ मा तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माणकार्यले गतिलिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि निर्माण कम्पनीले सोचेजसरी काम देखाउन सकेको बताए। 

उनका अनुसार गत आर्थिक वर्षसम्म भवन निर्माणमा रु १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप रु पाँच करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म रु चार करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए । 

‘अब जति तीव्रगतिमा काम गरेपनि आगामी असारभित्र एक करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनले भने । कम्पनीले तीस करोड २० लाखको लागतमा चार तलाका तीनवटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ । 

सरकारले प्रदेशकै पहिलो सङ्क्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । 

निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेटअनुसार काम हुने बताउँछन् । उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै तीन वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे । उनले सुरूको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको बताए । 

२० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ ।

 १५ शय्याबाट सुरू गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ । एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ५३ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६