दुईतिहाइ विश्वास पाएका ओलीसामु चार चुनौती ! | Khabarhub Khabarhub

दुईतिहाइ विश्वास पाएका ओलीसामु चार चुनौती !


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले १८८ जना सांसदहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा २६३ सांसदहरु उपस्थित थिए । जसमध्ये ७४ जनाले प्रधानमन्त्री ओलीको विपक्षमा मत जाहेर गरेका छन् । १ जना भने तटस्थ बसेका छन् ।

विगतमा दुई–दुई पटक संसद विघटन गरेर ‘बदनामी’ बमाएका ओलीसामु विगतका गल्ती–कमजोरीहरु सच्याउने यो सुवर्ण अवसर हो । यद्यपि, संसदबाट दुईतिहाइ विश्वासको मत पाए पनि प्रधानमन्त्री ओली सामु चुनौतीका पहाडहरु देखिन्छन् ।

कांग्रेससँगको सहकार्य

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समान हैसियत दिएको दुई दलबीच भएको ७ बुँदे सहमतिले पुष्टि गर्दछ ।

कांग्रेसले उनलाई २४ महिनाका लागि सरकारको नेतृत्व गर्न दिने र आफूले बाँकी रहेका १७ महिनामात्रै सरकार सञ्चालन गर्ने लिखित सहमति पनि गरेको छ ।

तर, प्रधानमन्त्री ओलीको विगत सत्ता साझेदार दलहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने नेताको छ । उनले २०७४ को निर्वाचन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको सहमति कार्यान्वयन नगरेको इतिहास छ ।

यसपल्ट उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको सहमति कार्यान्वयनमा कत्तिको खरो उत्रिन्छन्, त्यो समयले पुष्टि गर्ने छ ।

संविधान संशोधन

सत्ता सहकार्यका लागि कांग्रेस र एमालेले गरेको ७ बुँदे सहमतिमध्ये देशमा राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधनको विषय पनि समेटिएको छ ।

‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा रहेका अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने,’ सहमतिको २ नम्बर बुँदमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा दुईतिहाइ मत पाए पनि संविधान संशोधनका लागि सबै दलहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने अवस्था छ । कांग्रेस र एमाले संघीय संसद् र प्रदेश संसद् तथा सरकारको संख्याबारे समीक्षा गर्न तयार भए पनि यसमा सहमति जुटाउन मिहिनेत गर्नु पर्छ ।

संविधान संशोधनको मुद्दामा दलहरूको आ-आफ्नो स्वार्थ छ । नेकपा माओवादी केन्द्रलाई आफूले संघर्ष गरेर ल्याएको समानुपातिक तथा समावेशी अभ्यास दुई दलले खोसिदिने चिन्ता छ । उसले यो चिन्ता पटक पटक संसद्मा प्रकट गरिसकेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको संघर्षबाट आएका महिला, दलित, जनजाति र सीमान्तकृतहरूको अधिकार दुई दलले खोस्न सक्ने भन्दै यसअघि नै चिन्ता जनाएका छन् ।

उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नागरिकतासहितका मुद्दामा अलग्गै संविधान संशोधनको मुद्दा उठाइरहेको  छ । जसपासहितका मधेशवादी दलहरूले संविधान संशोधनलाई नागरिकतासँग जोडेकाले यसलाई सम्बोधन गर्न ओलीका लागि उत्तिकै चुनौतीपूर्ण छ ।

अर्कातिर राष्ट्रिय प्रजान्त्र पार्टीले संविधाननमै हिन्दु राज्यको कुरा फर्काउन चाहेको छ । धर्मनिरपेक्षता र संघीयता खारेज गरेर हिन्दु राज्य फर्काउनुपर्ने उसको माग छ । यदि कांग्रेस-एमाले यस कुरामा लचिलो भएमा राप्रपाले भविष्यमा यो सरकारलाई साथ दिने भनाइ आइतबारको संसद् बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेका छन् ।

अर्थतन्त्र सम्हाल्ने चुनौती

केपी ओ‍ली नेतृत्वको कांग्रेस-एमाले सरकारलाई तनावमा रहेको अर्थतन्त्र सम्हाल्ने अर्को चुनौती छ । ठूला औद्योगिक घरानाको बिजुली जोड्न निर्देशन दिएको भन्दै आइतबारकै संसद् बैठकमा माओवादी सांसद माधव सापकोटाले ओलीको कडा आलोचना गरिसकेका छन् । उनी र माओवादी उपमहासचिव वर्षमान पुन अनन्तले सरकार बिचौलियाबाट सञ्चालित भएको आरोप लगाए ।

ओलीले व्यापारीहरू र समग्र निजी क्षेत्रलाई विश्वासमा लिन कोसिस गरिरहँदा प्राधिकरणको ८ अर्बभन्दा बढी बिजुलीको उठ्नुपर्ने रकम गुम्न लागेको भन्दै घेराबन्दी गरेका हुन् ।

माओवादी उपमहासचिव पुनले धितोपत्र बोर्डमा बिचौलियाको योजनामा नियुक्त गर्न लागेको भन्दै ओलीको आलोचना गरे । अर्कातिर अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि उत्साहित सेयर बजारको विश्वास पनि यो सरकारले टिकाउनुपर्ने चुनौती छ ।

विकास बजेट खर्चको अवस्था निराशाजनक रहेको अवस्थामा कांग्रेस-एमाले मिलेर पुँजी परिचालनलाई कति गतिशीलता दिन्छन् यसमा पनि सरकारको सफलता निर्भर हुने देखिन्छ ।

सच्याउलान् विगतका गल्ती

‌ओलीलाई यसअघि दुई पटकसम्म संसद्‍ विघटन गरेको अवगाल छ । यद्यपि उनले गरेको दुवै पटकको संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरिदियो ।

तर उनको त्यो कदम अहिले पनि आलोचनाको केन्द्र बनिरहन्छ । आइतबारको संसद् बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ओलीलाई विगत स्मरण गराए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त संसद् विघटन प्रकरणमा ओलीले आत्मसमीक्षासहित माफी माग्नुपर्ने बताएका छन् ।

ओलीले आफ्नो गल्ती महसुस गरेर अघि बढ्नुपर्ने अडान नेपालले राखे । नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन स्मरण गराएका छन् ।

‘ओलीजी तपाईं असार २८ कै दिन सत्ताबाट आउट हुनु भएको थियो । त्यही दिन दिन अब इन हुनु भएको छ । बोलेको कुरा पुरा गर्नु भएन । जनता उत्साहित छैनन् । विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ । अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भनेका थिए ।

उता मा‌ओवादी केन्द्रका सांसदहरूले पनि ओलीलाई आफ्नो विगत स्मरण गराउँदै उनी सत्तामा आएपछि कुनै न कुनै गडबडी गर्ने भन्दै शंका जनाएका छन् ।

दुईतिहाइ बहुमतनजिकको नेकपा सरकार टिकाउन नसकेका ओलीका लागि अधिकांश समय प्रतिस्पर्धीका रुपमा रहेको कांग्रेसलाई विश्वासमा लिएर विगतका गल्ती सच्याउने अवसर पनि यस पटक मिलेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ०८ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको