राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को साँझ। विश्वकप खेलिरहेको उपाधिको दाबेदार घरेलु टोली इटालीले कमजोर मानिएको अस्ट्रियालाई नै जित्न धौधौ परेको थियो। त्यो समयमा प्रशिक्षक अजेग्लो भिन्सीनीले अन्तिम खेलाडीको रूपमा टोलीमा राखेका साल्भाटोर ‘टोटो’ सिलाचीलाई मैदानमा प्रवेश गराए। खेलको ७६ औं मिनेटमा मैदानमा प्रवेश गरेका साल्भाडोर सिलाचीले नै ७९ औं मिनेटमा जियानलुइका भियालीको दायाँ विङबाट आएको क्रसमा हेड गर्दै इटालीका विजयी गोल गरे।
उनले यसरी खुसीयाली मनाए कि टोलीका अन्य खेलाडीले सम्हालेर मैदानमा नल्याएसम्म उनी खुसीले पागल नै थिए। आफैलाई सम्हाल्न कठिन भइरहेको थियो। त्यो नै विश्व फुटबलमा नपत्याउँदो रूपले एउटा स्टारको उदय गराउने क्षण थियो। दुई साता अघि मात्र युभेन्ट्ससँगको २ लेगको खेलमा सफलता दिलाएर युभेन्ट्सलाई इ्इएफए कपको उपाधि दिलाउनुका बाबजुद २५ वर्षीय सिलाची अन्त्यमा टोलीमा परेका थिए। उनले विश्वकप हेरेर मात्र फर्कने अनुमान धेरैको थियो।
पार्लेमाकोमा जन्मिएर गरिबीमा बिताएका तथा कठोर सङ्घर्ष गर्दै सफलताको यात्रा तय गरेका सिलाचीको ५९ वर्षको उमेरमा कोलोन क्यान्सरको कारण निधन भएको छ। सन् १९९० को विश्वकप फुटबल सम्झनेका लागि उनी एउटा बेजोड नाम र इतिहास हुन्।
२५ वर्षको उमेरमा सन् १९९० मा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। डेब्युकै वर्ष भएको विश्वकपमा ६ गोल गरेर शीर्ष गोलकर्ता बने । विश्व फुटबलमा यो चानचुने कुरा पक्कै थिएन। वर्षको अन्त्यमा उनी जर्मनीका लोथर म्याथुज भन्दा पछि रहँदै बालोन डोर अवार्डमा दोस्रो स्थानमा रहे। अमेरिकासँगको दोस्रो खेलमा पनि बेन्चबाट मैदानमा प्रवेश गरेका उनले चेक गणतन्त्रसँगको खेलमा भने सुपरस्टार रोबर्टो बाजियोसँग अग्र भागमा सुरुवातदेखि नै खेल्ने मौका पाए। सो खेलमा यी दुवैले गोल गरेपछि इटाली २-० ले विजयी भएको थियो।
सिलाचीको सनसनी यत्तिमा सीमित थिएन। उरुग्वेसँगको दोस्रो चरणको खेलमा आफैले गोल गरे भने उनकै सहयोगमा अल्डो सेरेनाले अर्को गोल गरे। विश्वकपमा गणतन्त्र आयरल्यान्डको सनसनी अन्त्य गर्ने क्रममा उनले क्वाटरफाइनलमा गोल गरे। सोही गोलले इटाली १-० ले विजयी भयो।
अर्जेन्टिनासँगको सेमिफाइनल खेलमा उनले सुरुवाती अग्रता दिलाए। त्यसका बाबजुद टाइब्रेकरमा इटाली पराजित भयो। इङ्गल्यान्डसँगको तेस्रो स्थानका लागि भएको खेलमा १–१ को अवस्थामा इटालीले पेनाल्टी अवसर पाएको थियो। बाजियोले बल सिलाचीलाई थमाए। यसै पेनाल्टी गोलका कारण सिलाची ५ गोल गरेका चेक गणतन्त्रका थोमस सुकराभीलाई पछि पार्दै गोल्डेन बुट जित्न सफल भएका थिए। उनले इटालीका लागि १६ खेल मात्र खेले। त्यसमा ७ गोल गरे। ६ गोल त्यसै विश्वकपमा थियो।
१९९० को विश्वकपमा जर्मनीबाहेक सम्झन लायक केही हो भने त्यो सिलाचीको उदय हो। हेर्दै डरलाग्दो र जङ्गली लाग्ने उनको आँखा धेरैलाई याद छ। उनी आफै पनि स्वीकार गर्छन्। केही खोजे जस्तो, भोकाएको जस्तो। उनको त्यही भोक र तृप्तिलाई सन् १९९० को विश्वकपमा पुरा गरेका थिए।
सन् १९९२ मा युभेन्ट्सबाट एसी मिलान पुगेका उनले धेरै चोट बोके। अन्त्यमा जापान पुगेर जुविलो इवातालाई घरेलु उपाधि दिलाएर उनले खेल जीवनको अन्त्य गरे। खेल जीवनको अन्त्यपछि उही पालेर्मोका पुगेर उनले सादा जीवन बिताए। स्कुटरमा सहर घुमेर नै धेरै समय बिताए।
मानिसलाई परिचित हुन धेरै लामो समय चाहिँदैन। १ महिना लामो त्यो विश्वकप जसले उनलाई संसारका महान् खेलाडीको समकक्षमा लगेको थियो। अहिले पनि विश्व फुटबलका पण्डित ३४ वर्ष अघिको त्यो भोकाएको झैँ देखिने आँखा र फरक शैलीको गोल सेलिब्रेसन सम्झने छन्। पालेर्मोको अस्पतालमा ११ दिन बिताएपछि उनले बुधबार देह लीला त्याग गरे।
बाल्यकालमा पार्लेर्मोका बिताएका सिलाचीले स्टार हुनुका बाबजुद आफ्नो वास्तविकता कहिल्यै पनि बिर्सेनन्। सधैँ त्यही पालेर्मोको सादा जीवनमा रमाएका उनी अहिले पनि धेरैका लागि आदर्श पात्र बनेका छन्। इटालीमा यसै साता हरेक मैदानमा सिलाचीको सम्झना हुने छ। सन् १९९९ मा सन्न्यास लिएका उनले पालेर्मोमा नै फुटबल स्कुल सञ्चालन गरिरहेका छन्।
विश्व फुटबलमा सङ्घर्ष र थकान हुनु हुँदैन। सफलता जुनसुकै समयमा पनि आउन सक्छ भन्ने कुराको उदाहरण नै सन् १९९० को विश्वकपमा सिलाचीको उदय हो। स्रोतः बिबिसी, स्काइ न्युज
प्रतिक्रिया