विद्युत निर्यातका चुनौती | Khabarhub Khabarhub

विचार

विद्युत निर्यातका चुनौती


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको थियो । यो लक्ष्यसँगै धेरै अवसर र चुनौतीहरू देखा परेका छन् । जसमा बिजुली बेच्ने, लगानी भित्र्याउनेलगायतका कुरा पनि दीर्घकालीन रूपमा अघि बढाउनुपर्छ भनेर हामीले धेरै फोरमहरूमा बोल्दै आएका छौँ ।

हामी छिमेकी मुलुक भारतसँग पनि विद्युत् व्यापार र लगानी ल्याउने विषयमा निकट भएर काम गरिरहेका छौँ । डा. शंकर शर्मा भारतका लागि नेपाली राजदूत भएर पुन: गएपछि यो विषयमा छलफल र बहस गर्न अझ सजिलो भएको छ ।

यो त सन् २०२२ मै भएको विद्युत् व्यापार सम्झौता हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिइएको थियो । त्यति बेला ४५६ मेगावाट बिजुली निर्यातका लागि समेत हस्ताक्षर भएको थियो । त्यसैको निरन्तरता दिँदै सरकारले १० वर्षमा दश हजार मेगावाट निर्यात सँगै बंगलादेशमा पनि ४० मेगावाट निर्यात गर्ने सम्झौता भएको थियो ।

जुन कदमको निजी क्षेत्रका ऊर्जा उद्यमीहरूले स्वागत पनि गर्‍यौं । र, प्रधानमन्त्री र मन्त्रीज्यूको पहलकदमी पनि यस विषयमा भयो ।  डा. शर्मा राजदूत भएर जाँदै गर्दा २-३ वटा महत्त्वपूर्ण विषयहरू छन् । यसअघि पनि राजदूतज्यूलाई भन्दै आएका छौँ । यो विस्फोटक पदार्थजन्य वस्तु आयातमा निकै जटिलता छ । गएको डिसेम्बरदेखि नयाँ जलविद्युत् आयोजनाहरूले विस्फोटक पदार्थ नपाएको गुनासो छ । निर्माणाधीन आयोजनाहरूले पनि विस्फोटक पदार्थ पाएका छैनन् ।

यहाँस्थित भारतीय दूतावासमा यस विषयमा निकै ‘इन्क्वायरी’ गर्‍यौं । विभिन्न बहानामा ढिलो हुने गरेको छ । समयमै विस्फोटक पदार्थ दिए हुन्थ्यो भन्ने नै हो । तर, स्वीकृतका लागि इन्डिया पठाएको छु भनेर टार्ने गरिएको छ । यस विषयमा पनि राजदूतज्यूको ध्यानाकर्षण हुन जरुरी छ । आगामी दश वर्षमा दश हजार मेगावाट निर्यात गर्ने मात्रै होइन, निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने हो भने हामीले त्योभन्दा धेरै नै बिजुली निर्यात गर्न सकिन्छ । त्यसका लागि हामीले लाइसेन्स पाइसकेका छैनौँ ।

यसअघि पम्फा भुसाल ऊर्जामन्त्री हुँदा उहाँले ‘तपाइहरूको बिजुली किन्ने को छ र, लाइसेन्स दिने’ भनेर भन्नुभयो । मन्त्रीकै रोहबरमा हामीले भारतका लगानीकर्तालाई बोलाएर सम्झौता समेत गरेका थियौँ । तथापि, त्यो लाइसेन्स पाउने प्रक्रिया अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

बंगलादेश ४० मेगावाट बिजुली बेच्नु ठूलो कुरा त हैन । तर, त्यो ४० मेगावाटभन्दा बढी बिजुली निर्यातका लागि के कति प्राविधिक समस्या र अप्ठ्यारा आउँछन् भन्ने विषयमा तीन वटै देशका महामहिम बसेर छलफल गर्नुपर्ने हुन्छ । किनकि, त्यसका लागि ४०० केभी क्षमताको अन्तर्देशीय प्रसारण लाइन बनेपछि मात्र ४० मेगावाट भन्दा बढी बिजुली बंगलादेश निर्यात गर्न सकिन्छ भन्ने लागेको छ ।
अर्कोतर्फ, अहिले थुप्रै शंकाहरु उब्जिएका छन् । भारतले बिजुली किनिदिएन भने के गर्ने ? उत्पादन बढाउने भन्ने कुरालगायतमा पनि घनिभूत छलफल हुनुपर्छ । भारतले नेपालको बिजुली किन्दैन जस्तो त मलाइ लाग्दैन ।

अहिले हामीले भारतलाई दश हजार मेगावाट कसरी बेच्ने र त्योभन्दा बढी कसरी बेच्न सकिन्छ ? आइपर्ने प्राविधिक समस्या कसरी हल गर्ने ? भन्ने तर्फ सरकारले सोच्नुपर्छ ।

विगतदेखि नै इप्पानले उठाउँदै आएको विषय हो, हामीले बिजुली कहाँबाट दिन्छौँ भन्ने छ । अहिले नेपाल सरकारको काम गराइको तरिका हेर्दाखेरि दश वर्षमा दश हजार मेगावाट बिजुली बेच्न सक्दैनौँ जस्तो पनि लाग्छ मलाइ । किनभने, त्यसका पछि धेरै कारण छन् । थुप्रै आयोजनाहरू विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नभएर अड्किएर बसेका छन् । हामीले पीपीए पनि खोलेर जाऔँ भनेर सरकारसमक्ष विभिन्न समयमा ज्ञापनपत्र बुझाउने काम गरेका छौँ ।

त्यस्तै, विद्युत् विधेयकको कुरा आइहाल्यो । त्यो विधेयकमा विद्युत् व्यापारका सम्बन्धमा राम्रो कुरा राखिएको छ । जहाँ प्रसारण लाइन निर्माण गर्ने कुरा छ । तर, अलिकति हेर्दै जाँदा स्वदेशी लगानीकर्ता पनि विदेश नै जाने खालको जस्तो मलाइ लाग्छ ।

जहाँ कि, १०० मेगावाटसम्मका आयोजनाहरू समेत सरकारले चाहेको कम्पनीलाई सीधै दिन पाउने व्यवस्था छ । १०० मेगावाटमाथिको जलविद्युत् आयोजना सरकारले चाहेको जुनसुकै विदेशी कम्पनीलाई दिन पाउने व्यवस्था छ ।

जुन व्यवस्थाले नेपाली लगानीकर्ता कहीँ पनि अटाउँदैनन् । हामीले धेरै पटक यस विषयमा कुरा पनि उठाएका छौँ । कांग्रेस, एमालेका सांसद र समितिका सदस्यसँग पनि यो–यो समस्या छ है भनेर भन्दै आएका छौँ । फलस्वरूप संसद्का ९५ जना सांसदले उक्त विधेयक संशोधनको पक्षमा प्रस्ताव राख्नुभएको छ । यसमा छलफल हुँदै छ ।

यसअघि पनि विधेयक मन्त्रिपरिषद्मा पुगेर फिर्ता आएको थियो । १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्य योजना मन्त्रिपरिषद्बाट फिर्ता आएको थियो । उक्त लक्ष्य पूरा गर्न ४६ खर्बभन्दा बढी पूँजी आवश्यक पर्छ । अहिले नयाँ सरकार आएसंगै साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसका लागि ५० बिलियन यूएस डलर लागत लाग्ने अनुमान गरिएको थियो ।

यति ठूलो लगानी चाहिन्छ । यस विषयमा स्वदेशी निजी लगानीकर्ता र नेपाली जनतालाई पनि लगानी गर्न प्रोत्साहित गर्नुपर्छ भनेर सरकारलाई भन्दै आएका पनि छौँ । खाली विदेशीको मुख ताक्नु पनि हुँदैन भन्ने हाम्रो मान्यता छ । त्यति हुँदा पनि हामीसँग पैसा छैन ।

अहिले चिनियाँ बजारको चर्चा छ । चिनियाँ कम्पनीले लगानी गरेको बनाएको आयोजनाको बिजुली भारत किन्दैन भन्छ । संसारमा २०० वटाभन्दा बढी देश छन् । चाइनाले मात्र लगानी गर्नुपर्छ भन्ने छैन । भारत पनि लगानी गर्न समक्ष भइसकेको छ । अन्य मुलुक पनि नेपालको ऊर्जामा लगानी गर्न तयार नै छन् । तर, सरकारले लगानीको वातावरण भने बनाउनुपर्छ ।

यसमा भारतस्थित नेपाली राजदूतज्यूले त्यहाँको सरकारलाई यस विषयमा घच्घच्याउनुपर्ने हुन्छ । किनकि, यसले भारतलाई पनि अवसर उपलब्ध हुन्छ । हामीले ५० बिलियन डलरको कुरा गर्दै गर्दा झन्डै २० बिलियन डलर त भारत नै जाने हो । यो कुरा पनि  बुझाइदिनु पर्छ ।

हामी तपाइहरूसँग पैसा मात्र माग्दैनौँ कि तपाइहरूलाई पनि व्यापार दिँदैछौँ भनेर भारत सरकारलाई पनि बुझाउनुपर्छ । केही समय अघि क्यानेडियन राजदूत आउनुभएको छ । क्यानेडियन सरकार नै आएर हामीसँग एउटा कार्यक्रम नै गरेर गयो । अमेरिकन र युरोप देशबाट पनि त्यहाँको निजी क्षेत्रका लगानीकर्ता आउनुभएको थियो ।

नेपाली लगानीकर्ताहरूले अन्य मुलुकको निजीक्षेत्रसँग मिलेर काम गर्न सहज वातावरण भने सरकारलाई बनाइदिनु पर्छ । विद्युत् व्यापारको कुरामा चाहिँ अलि बढी जोड दिनुपर्ने हुन्छ । किनकि, सरकारले सरकारी हिसाबले बिजुली बेच्दै जान्छ । निजीक्षेत्र आफ्नो हिसाबले पावर ट्रेड गर्न पाउनुपर्छ ।

सरकारी प्रक्रियाभन्दा निजीक्षेत्रले विद्युत् व्यापार गर्दा अलि सहज रूपमा गर्न सकिन्छ । हामीले भारतको निजीक्षेत्रसँग विद्युत् व्यापार गर्ने सम्झौता नै गरिसकेका छौँ । निरन्तर विद्युत् बिक्री गर्ने सम्झौताहरू भएका छन् ।

तर, अहिले नै बिजुली दिइहाल्ने अवस्था भने छैन । अहिले पनि हामीले भारतबाट नै बिजुली आयात पनि गरेका छौँ नि । मुलुक लोडसेडिङ मुक्त घोषणा भए पनि भारतले बिजुली दिएन भने त हामी फेरि लोडसेडिङकै चपेटामा पर्ने जोखिम पनि छ ।

भारतले बिजुली दिएन भने हामी ८/१० घण्टा नै लोडसेडिङमा हुन्थ्यौँ होला । यो कुरा तपाईँ, हामी र नेपाली जनताले पनि बुझ्नुपर्छ । सरकारलाई एकोहोरो गाली गरेर कहीँ पनि पुगिँदैन भनेर हामीहरूले पनि भन्दै आएका छौँ । यता, चाइनाले पनि बिजुली किन्ने भनिरहेको छ । चीनसँग विद्युत् व्यापार गर्ने सम्भावना पनि उत्तिकै छ । तर, हाम्रो लागि प्रमुख बजार भनेको भारत नै हो । त्यसका लागि भारतसँग नेपालले सुमधुर सम्बन्ध कायम गर्दै जानुपर्छ ।

त्यस्तै, बंगलादेशले २०३९ सम्ममा ९ हजार मेगावाट बिजुली किन्ने भनेको छ । त्यसका लागि सरकार र निजीक्षेत्र हातेमालो गर्दै अघि बढ्नुपर्छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १२ : ४० बजे

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका

पाल्पाको रामपुरमा सडक स्तरोन्नति हुँदै

पाल्पा– पाल्पाको रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका

प्रेम र करुणाका प्रतीक ‘शान्त क्लज’

पुर्वेली समाजमा बच्चालाई फकाउनका लागि भूत, प्रेत वा अन्य केहीको