सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ? | Khabarhub Khabarhub

सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको संविधानमै गरिएको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले सङ्घबाट चार प्रकारका अनुदान पाउँछन्‌ – समानीकरण, समपूरक, विशेष र सशर्त ! यी मध्ये समपूरक र विशेष अनुदानले दुई तहका सरकार सञ्‍चालनमा विशेष अर्थ राख्छ ।

निश्चित आयोजना र विकास कार्यक्रम अघि बढाउन सरकारले समपूरक अनुदान दिने गर्छ । विशेष अनुदान चाहिँ विशेष क्षेत्रहरूमा विशेष कार्यक्रम सञ्चालन गर्न दिइन्छ । विशेष क्षेत्र, कार्यक्रम र आयोजना अघि बढाउन सङ्घीय सरकारले यस्तो अनुदान दिने गरेको छ ।

नेपालको संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडबारे उल्लेख छ । सो भागमा उल्लेखित धारा ५७ मा राज्यशक्तिको बाँडफाँटबारे उल्लेख छ । आर्थिक अधिकारको प्रयोगबारे धारा ५९ र राजस्व स्रोतको बाँडफाँटबारे धारा ६० ले मार्गप्रशस्त गरेको छ ।

सशर्त, वित्तीय समानीकरण अनुदान र विशेष अनुदानबारे त संविधानमै लेखिएको छ । यी चारै प्रकारका अनुदान हरेक आर्थिक वर्षको बजेटपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्रअनुसार अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउनुपर्छ ।

तल्ला सरकारले समपूरक र विशेष अनुदान बजेट आउनासाथ पाउँदैनन् । त्यस्ता अनुदानमार्फत कार्यान्वयन हुने आयोजना/कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमै सङ्घीय सरकारकहाँ प्रस्तावसहितको विवरण बुझाउनुपर्छ ।

यस निम्ति राष्ट्रिय योजना आयोगले  समपूरक तथा विशेष अनुदान अन्तरगत कार्यान्वयन हुने आयोजना/कार्यक्रमहरूको लागि प्रस्तावसहितको विवरण पेश गर्न समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ तथा विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ बमोजिम प्रत्येक वर्ष मङ्सिर मसान्तभित्र प्रस्ताव आह्वान गर्नुपर्छ ।

यस हिसाबले पुस पहिलो सातादेखि नै आयोगमा प्रदेश र स्थानीय तहबाट यस्ता आयोजना/कार्यक्रम धमाधम प्रस्ताव भइरहेको हुनुपर्ने हो । तर, यस वर्ष पुस पहिलो साताको अन्तिम दिन (आइतबार) सम्म पनि आयोगले यस्तो सूचना प्रकाशन गरेन । बरु, पुस लाग्नुअघि नै मङ्सिर २८ गते एक सूचना जारी गर्दै ‘अर्को सूचना जारी नभएसम्म प्रस्ताव आह्वान स्थगित गरिएको’ जनायो ।

यसो हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको आयोगकै एउटा निर्णय कारक बनेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गएको कात्तिक ३० गते राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठक बसेको थियो । सोही बैठकले विशेष र समपूरक अनुदानमा अघि बढाइने आयोजना/कार्यक्रमकेन्द्रित एउटा निर्णय गरिदियो ।

स्रोत अभाव भोगिरहेको मुलुकले जेनतेन जुगाड गरेको स्रोतले सङ्घीयता धान्नुपरेको र तल्ला तहमा स्रोत दुरुपयोग हुनेगरी मनलाग्दी आयोजना/कार्यक्रम सञ्‍चालन गरिएको भनी आलोचना हुने गरेको छ । खर्चकै मामिला देखाएर ठूलो हिस्साले सङ्घीयताकै औचित्यमाथि प्रश्न उठाइरहेको छ ।

यस्तो विरोध र सवाल उठिरहेका बेला सरकारले सङ्घबाट अनुदान प्रवाह गरी अघि बढाइने विशेष र समपूरक अनुदानका आयोजना/कार्यक्रमबारे योजना आयोगबाटै समीक्षा गर्न लागेको हो ।

आयोगका अनुसार; स्थानीय तह एवम् प्रदेशको वित्तीय क्षमता अनुसार समपूरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री हुनेगरी एवम् सामाजिक-आर्थिक समता अभिवृद्धिमा योगदान पुग्नेगरी प्रवाह गर्न अहिले आवश्यक काम भइरहेको छ ।

विशेष अनुदानका हकमा पनि प्रदेश वा स्थानीय तहबाट सञ्चालन भएका आयोजना/कार्यक्रमहरूलाई सन्तुलित विकास गर्न, कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिहरूमा उपरोक्त विषय सम्बोधन गर्न खोजिएको छ ।

यस निम्ति मौजुदा समपूरक अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ तीन महिनाभित्र संशोधन गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औं बैठकले निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आयोगले कार्यविधि संशोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पेश गर्न खोज्दैछ । हाल सम्बन्धित कार्यविधिहरूमा रहेका मौजुदा व्यवस्थाबारे अध्ययन/विश्लेषण भैरहेको आयोगले जनाएको छ ।

त्यसैले आयोगले अर्को सूचना नभएसम्मका लागि समपूरक र विशेष अनुदान अन्तर्गत अघि बढाइने आयोजना/कार्यक्रमको प्रस्ताव आह्वान स्थगित गरेको हो । आयोगले प्रदेश र स्थानीय तहको जानकारीकै लागि सूचना प्रकाशन गरेको हो ।

आयोगले प्रदेश र स्थानीय तहलाई समपूरक तथा विशेष अनुदान अन्तर्गत हालसम्म स्वीकृत आयोजना/कार्यक्रमको अद्यावधिक विवरण आयोगबाट माग भए बमोजिमको ढाँचामा उपलब्ध गराइदिन भनेको छ । साथै, संशोधन गर्न खोजिएको कार्यविधिमा कुनै सुझाव भए पठाइदिन पनि सूचित गरेको छ ।

सङ्घीय सरकारको यो निर्णयले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने समपूरक तथा विशेष अनुदानका आयोजना/कार्यक्रमहरू भने प्रभावित हुने छैनन् । सरकारले गत आर्थिक वर्षमै यस्ता कार्यक्रम छनोट गरिसकेको छ । यस्तो प्रकृतिका बहुवर्षीय आयोजना/कार्यक्रमले पनि निरन्तरता पाउनेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : ४४ बजे

राष्ट्रिय गौरवका आयोजनाबारे सांसद र विज्ञहरूसँग माओवादी अर्थ विभागको छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं– नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी

बुटवलमा रविमाथिको थुनछेक बहस जारी

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य