सिनेमा बजार सुन्निएको कि मोटाएको ? | Khabarhub Khabarhub

कला

सिनेमा बजार सुन्निएको कि मोटाएको ?


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका लागि सुखद साबित भएको छ । यस अवधिमा दर्जन सिनेमा हिट भए ।

वैशाखमा प्रदर्शनमा आएको केकी अधिकारीको सिनेमा ‘बोक्सीको घर’ ले ५१ दिन मनायो । जेठ १० मा चल्तीका दुई स्टार अनमोल केसी र प्रदीप खड्काबीच हलमा प्रतिस्पर्धा भयो । प्रदीपको पुजार सार्की हिट भयो । अनमोलको फर्कीफर्की ले घरेलु बजारबाटै लगानी करिब सुरक्षित गर्‍यो ।

हलमा दुई नायकको प्रतिस्पर्धाले ‘एकसाथ प्रदर्शनमा आएका दुई सिनेमाले पनि व्यापार गर्न सक्छन्’ भन्ने नजिर स्थापित गर्‍यो । अहिले नेपाली सिनेमाकर्मीले दुई सिनेमा प्रतिस्पर्धा हुँदा विगतमा जस्तो ठूलो इस्यू बनाउँदैनन् ।

नायक दयाहाङ राई र नायिका पशुपति राई मुख्य भूमिकामा रहेका सिनेमा गाउँ आएको बाटो जेठ १८ बाट प्रदर्शनमा आयो । यसलाई पनि दर्शकले रुचाए ।

२० वर्ष अभिनय कर्म गरेपछि यस सिनेमामा पशुपतिले केन्द्रीय भूमिका पाएकी थिइन् । कलाकारमा धर्यता र निरन्तरता भए केन्द्रीय भूमिका अवश्य पाइन्छ भन्ने भाष्यको उदाहरण बनिन् पशुपति । यो पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

त्यस्तै, असार २८ बाट प्रदर्शनमा आएको अनिल मगरको डेब्यू निर्देशन रहेको सिनेमा ज्वाइँसाब ले पनि ५१ दिन मनायो । यो वर्ष ५१ दिन मनाउने यो दोस्रो सिनेमा हो ।

दशैँमा दर्शकको चाप

असोज महिना सिनेमाका लागि झन् विशेष बन्यो । असोज ३ गते नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी केन्द्रीय भूमिकामा रहेका सिनेमा खुस्मा प्रदर्शनमा आयो । जुन बक्स अफिसमा हिट साबित भयो ।

दशैँको बिदालाई लक्षित गरी चार सिनेमा प्रदर्शनमा आए । ती हुन्- बेहुली फ्रम मेघौली, छक्का पञ्जा ५, १२ गाउँज्वाइँसाब

बेहुली फ्रम मेघौली घटस्थापना (असोज १७) र बाँकी तीन सिनेमा फूलपाती (असोज २४) मा प्रदर्शनमा आए ।

वितरकका अनुसार यी दुवै सिनेमाले कमाइमा २० करोड रुपैयाँको आँकडा पार गरेका छन् । छक्का पञ्जाले विगतको श्रृङ्खलाभन्दा बढी व्यापार गरे पनि ५१ दिन मनाउनसक्ने अवस्था छैन । दीपकको आफ्नै हलबाहेक अरूबाट सिनेमा उत्रिएको छ ।

१२ गाउँले भने चल्तीका विश्लेषकको अड्कलबाजीलाई माथ खुवायो । यसले विशेषत ‘दशैँमा एक्सन सिनेमा चल्दैन’ भन्ने मान्यता भत्कायो । केही हदसम्म ‘अब एक्सन सिनेमाको समय आयो’ भन्ने बहस छेड्न पनि सफल भयो ।

छक्का पञ्जा१२ गाउँको प्रतिस्पर्धाले फिल्मी वृत्त ततायो । मिडियाहरूको ध्यान खिचेकाले कतिपय राजनीतिक घटना नै यो प्रतिस्पर्धाले ओझेलमा परे ।

 

‘पूर्णबहादुरको सारङ्गी’ को कीर्तिमान

सहायक भूमिकामा रुचाइएका कलाकार विजय बराललाई यो सिनेमाले नायक बनाएको छ, त्यो पनि कीर्तिमानी व्यापारसहित !

ठूलो पर्दामा सहायक भूमिकामा १७ वर्ष काम गरेपछि विजय पहिलोपटक यसै सिनेमामा केन्द्रीय भूमिकामा देखिएका हुन् ।

कात्तिक १५ बाट प्रदर्शनमा आएको यस सिनेमाले सुरुवाती २० दिनमै घरेलु बजारमा ३५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

नेपाली सिनेमा इतिहासमा यो सबैभन्दा ठूलो कलेक्सन हो ।

कस्ता सिनेमा चले ?

सिनेमा व्यवसाय जानकारका अनुसार सिनेमा दुई कारणले चल्छन् । ती कारण हुन्- ‘फेस भ्यालु’ र कथा । सिनेमा चल्नुमा प्रमुख भूमिका चाहिँ कथाकै हुन्छ ।

स्टार कलाकार भएका सिनेमा नचलेका उदाहरण हामीसँगै प्रशस्त छन् । यस अर्थमा सिनेमा चल्न कथा नै दमदार चाहिन्छ ।

वरिष्ठ निर्माता छविराज ओझा तीजपछि हलमा दर्शकको उपस्थिति उल्लेखीय रहेको बताउँछन् । भन्छन्, ‘दर्शकमा नेपाली सिनेमा हेर्ने चाहना विकास भएकै हो । हलमा दर्शक आउनुभएको तथ्य सत्य हो ।’

छविको बुझाइमा पछिल्लो समय ‘माउथ पब्लिसिटी’कै कारण सिनेमा चलेका हुन् । भन्छन्, ‘सुरुमा हल खाली भएका सिनेमाहरूले कीर्तिमानी व्यापार गरेका छन् । यो दर्शकले मन पराएर माउथ पब्लिसिटी गरेकाले नै हो ।’

फिल्म बेहुली फ्रम मेघौली प्रदर्शनरत हलमा पुगेकी नायिका स्वस्तिमा खड्का ।

लेखक तथा सिनेमा विश्लेषक सामीप्यराज तिमल्सेना पनि छविको बुझाइमा केही हदसम्म सहमत छन् । तर, मेकरहरूले उत्कृष्ट सिनेमा बनाएको उनी पूर्ण सहमत छैनन् । भन्छन्, ‘विगत १० वर्षको तुलनामा अहिलेका सिनेमाका कथा राम्रा छन् । तर, प्राविधिक कमजोरी धेरै भेटिन्छन् ।’

‘नेपाली सिनेमा राम्रा हुँदैनन्’ भन्ने भ्रम चिर्न सक्ने क्षमताका कथामा सिनेमा निर्माण भइरहेको निर्देशक समाज अध्यक्ष जनकदीप पराजुलीको विश्लेषण छ ।

भन्छन्, ‘कथा राम्रै छन्, त्यही भएर त दर्शकले मन पराउनुभएको छ । नेपालीपनको कथामा सिनेमा बनेको छ । दर्शकले रुचाउनु पनि भएको छ ।’

बजार मोटाएको कि सुन्निएको ?

नेपाली समाजका उपयुक्त कथा उठान गरी सिनेमा निर्माण भए पनि मेकरको सृजनात्मकतामा सन्तोष नहुनुपर्ने कारण धेरै भेट्छन् सामीप्य। अहिले चलिरहेका सिनेमाबाट मेकरले दर्शकलाई नवीन कुरा नपस्केको उनको तर्क छ ।

भन्छन्, ‘कथा ठीकै हुन्, तर नवीन होइनन् । पुरानै कथालाई दर्शकको अहिलेको स्वादमा पस्किइएको हो । ती कथाहरू पर्दामा आइपुग्दा मेकरको क्रिएटिभिटीको पाटो ओझलमा परेको छ ।’

यस अर्थमा अहिलेको बजारलाई उनी सुन्निएकै सङ्ज्ञा दिन्छन् । भन्छन्, ‘सिनेमाको क्राफ्ट र बक्स अफिस आँकडा हेर्दा सुन्निएकै भन्न मिल्छ । बक्स अफिस आँकडा हेर्दा जति उत्साहित भइन्छ – मेकिङ हेर्दा त्यो पाइँदैन ।’

निर्देशक जनकदीप पराजुली पनि अहिलेका बक्स अफिसका कीर्तिमानलाई संयोग नै भन्न रुचाउँछन् ।

यो पनि –

‘१२ गाउँ’ : अपवाद बन्दै बहस छेड्न सफल

बक्स अफिसको रिपोर्ट जति बलियो सिनेमाको कन्टेन्ट होइन कि भन्ने उनलाई पनि लाग्छ । भन्छन्, ‘अहिलका सिनेमा राम्रा हुन् । दर्शकै माउथ पब्लिसिटीबाट चलेको सत्य हो । तर, बक्स अफिसको आँकडा संयोग मात्रै हुनसक्छ । धेरै समयको अन्तरालमा कुनै सिनेमाले यसरी कीर्तिमानी व्यापार गर्न सक्छन् ।’

सिनेमाको विश्व बजारमै ‘सेन्टिमेन्ट’ बिक्ने भएकाले नेपालमा पनि त्यही लागु भएको छविको विश्लेषण छ । भन्छन्, ‘सेन्टिमेन्टलाई ध्यानमा राखेर सिनेमा बनाइएका छन् । यसलाई नराम्रो भन्न मिल्दैन ।’

ठोस सन्देश

पछिल्ला दशकभन्दा अहिले घरेलु दर्शकले नेपाली सिनेमा नै हेर्न रुचाएको जस्तो महसुस छविलाई भएको छ । ‘माउथ पब्लिसिटी’ले दर्शक हलसम्म पुगेकाले उनले त्यसो भनेका हुन् ।

भन्छन्, ‘नेपाली सिनेमा राम्रो छ भन्ने चर्चा भएपछि त दर्शकले हिन्दी सिनेमा हेर्दा रहेनछन् नि !’

छविले भनेजस्तै पछिल्लो समय घरेलु बजारमा हिन्दीमाथि नेपाली सिनेमा हाबी भएका छन् । ठूला ब्यानर र स्टारको अभिनय रहेको सिनेमा छोडेरै दर्शकले नेपाली सिनेमा हेरेको पाइएको छ । दशैँपछि कुनै पनि हिन्दी सिनेमाले नेपालमा उत्साहजनक व्यापार गरेका छैनन् ।

जनकदीप भने बक्स अफिसको कीर्तिमानी आँकडाले नेपाली फिल्मी बजारको आकार उजागर गरिदिएको बताउँछन् ।

भन्छन्, ‘३०-३५ करोड रुपैयाँसम्मको व्यापार भएको भन्ने समाचार आइरहेका छन् । दर्शकले रुचाए भने यो आँकडासम्मको व्यापार गर्न सकिन्छ भन्ने त थाहा भएको छ नि !’

पछिल्लो समय निर्माण भएकाले सिनेमाले दिएको अर्को सन्देश हो– सिनेमा चल्न स्टारको आवश्यकता पर्दैन । त्यो पूर्णबहादुरको सारङ्गीले पुष्टि गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ५१ बजे

४१ देशका लागि संसदीय मैत्री समूह गठन

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ

धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

देउखुरी– धान झुल्ने खेत यतिबेला लटररम्म कागती दाना पहेँलै भएका

रास्वपाको सुदूरपश्चिम अन्तर्गत जिल्ला भेला सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज  ट्रिपर दुर्घटना हुँदा दुई