अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा पनि हर्षबढाइँ | Khabarhub Khabarhub

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा पनि हर्षबढाइँ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयको विवादपछि भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यानगरमा बनाइएको भव्य राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए ।

अयोध्या रामको जन्मभूमि भएको हिन्दु धर्मालम्बीको विश्वास छ । रामको जन्मस्थानमा रहेको मन्दिर सन् १५५८ मा भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूको दाबी छ । यसैलाई लिएर सन् १८५३ मा सो स्थानमा धार्मिक हिंसा मच्चिएको थियो ।

त्यसयता पनि हिन्दु र मुस्लिमहरुबीच पटक-पटक भएको धार्मिक हिंसामा हजारौं नागरिकको मृत्यु भएको थियो । हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जिद भत्काउँदा थप हिंसा भड्किएको थियो ।

भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको अयोध्याको विवादलाई सन् २०१९ नोभेम्बरमा अदालतले रामको मन्दिर निर्माणका लागि बाटो खोलिदिएको थियो । जुन समयमा भारतीय जनता पार्टीको पूर्ण बहुमतसहित प्रधानमन्त्री रहेका नरेन्द्र मोदी छन् ।

भारतको सर्वोच्च अदालतले राम मन्दिर निर्माणको बाटो खोलदिएपछि सो स्थामा भव्य राममन्दिर निर्माण कार्य शुरु भएको थियो ।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ । पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ । समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको बताइएको छ ।

मोदीले आज केवल भुइँतलाको मात्र उद्घाटन गर्ने छन् । बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने बताइएको छ ।

मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरिएको थियो । मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ ।

आज एक समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरिने छ। त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ‘जीवन्त’ बनाइने बताइएको छ ।

उक्त समारोहमा भारतीय प्रधानमन्त्रीका अलवा भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा रहेका योगी आदित्यनाथ लगायत थुप्रै हिन्दु धर्मसँग आस्था राख्नेहरुको सहभागिता रहनेछ ।

नेपालमा रौनक

नेपालबाट पनि विभिन्न धार्मिक तथा राजनीतिक व्यक्तिहरु अयोध्या पुगेका छन् । भारतको अयोध्यामा निर्मित राममन्दिरको उद्घाटनको दिन नेपालमा सार्वजनिक बिदाको पनि चर्चा चलेको थियो । तर, सरकारी तबरबाट सार्वजनिक बिदा दिइएन । तर, नेपालका केही स्थानीय तहले भने सार्वजनिक बिदा दिएका छन् ।

अयोध्यामा नवनिर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा हुन लागेको भन्दै कपिलवस्तुको शुद्धोधन गाउँपालिका, सप्तरीको राजविराज नगरपालिका र बाँकेको नरैनापुर गाउँपालिकालगायत स्थानीय तहले बिदाको घोषणा गरेका हुन् ।

भारतमा राम मन्दिर प्राणप्रतिष्ठाको समय पारेर नेपालका धार्मिक पिठहरुमा पनि कार्यक्रमको आयोजना गरिएको छ । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ। जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ ।

जनकपरधामस्थित राम जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलनको तयारी गरिँदै ।

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा श्रीराम जन्मभूमी प्राण प्रतिष्ठा को अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पुजा गरिदैछ । नेपाल यादव युवा संघले तिनकुनेमा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा दिप प्रज्वलन कार्यक्रम गर्दैछ । गोरक्ष संरक्षण अभियान नेपालले पनि ललितपुरामा  दिप प्रज्वलन गर्दैछ ।

भारतको अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका शुभ अवसरमा दाङको घोराहीमा सोमबार स्थानीय भक्तजनले पञ्चेबाजा सहित निकालेको शोभा यात्रा

विशाल बजार व्यापार संघ र श्री रिद्धि सिद्धि सेवा ट्रष्टले राममन्दिर उद्घाटनको अवसरमा विशाल बजारमा हिन्दु संस्कृति पुर्नस्थापना, विशेष आरती, दिपावली तथा प्रसाद वितरण गर्ने जनाएको छ ।

भारतको अयोध्यामा निर्मित राममन्दिरको उद्घाटनका अवसरमा देशैभरका हिन्दु संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : २८ बजे

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला