विराटनगर– कोशी प्रदेशबाट राष्ट्रियसभाको चुनावमा नेकपा एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउन लागेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दाबी गरेका छन् ।
विराटनगरमा सोमबार सत्ता गठबन्धनका मतदाताबीच आयोजित अन्तरक्रियामा बोल्दै पुनले त्यस्तो सूचना आफूले पाएको बताएका हुन् । कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले कार्यक्रममा बताए ।
०७४ सालको निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा पनि आफूहरूलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापाबाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको पुनले स्मरण गरे ।
माघ ११ गते हुने राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अन्य क्लष्टरको उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई उठाएको छ भने राप्रपाले उद्धव पौडेललाई उठाएको छ ।
प्रतिक्रिया