काठमाडौं – कुनै रोग जाति र समुदाय अनुसार हुन्छ र ? यो धेरैको मनमा उब्जिने प्रश्न हो। तर कुनै रोग यस्ता पनि छन्। जो सीमित जाति र समुदायमा मात्र लाग्ने गर्दछन्। त्यसको एउटा उदाहरण हो सिकलसेल एनिमिया। जुन नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी देखिएको छ। यसको संक्रमण वर्षेनी बढ्दै गएको र अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको छ। सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन्।
थारु समुदायमा देखिने सिकलसेल एनिमियाका कारण हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन्। तर यसको यकिन तथ्यांक भने अहिलेसम्म सरकारसँग नभएको कैलालीको भजनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाशकुमार चौधरी बताउँछन्। रोगको पहिचान हुन नसक्नु यसको प्रमुख समस्या हो। मानिसलाई लक्षण देखिनासाथ अन्य रोगको उपचार गर्ने गरिन्छ। तर सिकलसेलको पहिचान हुँदासम्म बिरामीले लाखौँ रुपियाँ गुमाइसकेको हुन्छ।
सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ। अमेरिकाको पश्चिमा राज्यमा पहिलो पटक देखिएको यो रोगबाट नेपालका बाँके, बर्दिया, दाङ लगायतका तराईका जिल्ला बढी प्रभावित छन्। यी जिल्लामा बसोबास गर्ने आदिवासी थारु समुदायका मानिस यो रोगबाट सबैभन्दा बढी प्रभावित भएकै कारण नेपाल सरकारले हाल सिकलसेल एनिमियाको उपचार निःशुल्क गर्दै आएको छ। यो रोगको गम्भीरतालाई ध्यानमा राखेर नै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आर्थिक वर्ष ०७४-०७५ बाट सिकलसेल एनिमिया सम्बन्धी अनुसन्धान सुरु गरेको थियो।
यो रोग निर्मूल पार्नका लागि विवाह गर्दा रोग नभएको व्यक्तिसँग विवाह गर्नु नै उत्तम उपाय हो। जसका लागि थारु समुदायका युवायुवतीले आफूलाई यो रोग भएको छ वा छैन अनिवार्य जाँच गराउनुपर्छ।
के हो सिकलसेल एनिमिया ?
मानव रगतमा पाइने रातो गोलाकार रक्तकोषिकाको स्वरुप परिवर्तन भएर हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ। यो वंशाणुगत रोग हो।
यो रोगबाट नेपालमा खासगरी थारु समुदाय पीगित छ। यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने गर्छ। यो रोग लागेका बिरामीको रक्तकोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ।
सिकलसेल लक्षण कस्ता हुन्छन् ?
सिकलसेल रोग वा सिकलसेल एनिमियाको निश्चित एउटै लक्षण हुँदैन। यो समस्या भएको व्यक्तिको शरीर दुख्ने, पटक-पटक जन्डिस हुने, रगत कम हुने, सङ्क्रमणको सम्भावना बढी हुने समस्या देखिन्छन्। सिकलसेल भएपछि त्यसका लक्षण देखिने भन्दा अन्य रोगले छिटै आक्रमण गर्ने गरेको पाइन्छ। सिकलसेलसँगै अन्य रोग लागेमा विनिन्न खाले लक्षणहरू देखिने गर्दछन्।
सिकलसेलको उपचार कसरी हुन्छ ?
सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले उपचारभन्दा न्यूनीकरण गर्न सकिन्छ। यो रोग निर्मूल पार्नका लागि विवाह गर्दा रोग नभएको व्यक्तिसँग विवाह गर्नु नै उत्तम उपाय हो। जसका लागि थारु समुदायका युवायुवतीले आफूलाई यो रोग भएको छ वा छैन अनिवार्य जाँच गराउनुपर्छ।
नेपालमा थारु समुदायमा देखिए पनि संसारभर औलोको जोखिम क्षेत्रमा बस्ने आदिवासीमा यो समस्या देखिएको छ। प्राकृति र मानव विकासको क्रममा सिकलसेलको विकास भएको देखिन्छ।
थारु समुदायमा मात्रै लाग्नुको कारण के हुनसक्छ ?
यहि कारणले हो भन्न त सकिँदैन। विभिन्न अध्ययन अनुसार संसारभर नै भइराखेका छन्। नेपालमा थारु समुदायमा देखिए पनि संसारभर औलोको जोखिम क्षेत्रमा बस्ने आदिवासीमा यो समस्या देखिएको छ। प्राकृतिक मानव विकासको क्रममा सिकलसेलको विकास भएको देखिन्छ। नेपालमा तराईं क्षेत्रमा बसोवास गर्ने आदिवासी थारु समुदायले पनि औलोलाई पचाएर उनीहरुको हेमोग्लोबिनमा परिवर्तन आयो र सिकलसेल एनिमिया भएको भन्ने बुझाइ छ।
नियन्त्रणका लागि के गर्ने ?
भावी पुस्तालाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गर्नुपर्छ। सिकलसेल एनिमिया भएका रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरालाई यो समुदायले स्वीकार गर्नुपर्छ। सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालमा जाँच र स्वास्थ्य उपचारका लागि एक लाख रुपियाँको व्यवस्था गरेको छ। बाचुञ्जेल औषधी खानुपर्ने भएकाले यो पर्याप्त छैन। तुलानात्मक रुपमा अन्यजाती भन्दा थारुको आर्थिक अवस्था कमजोर छ। एकातिर गरिबी, अर्कातिर सिकलसेल गरेर यो समुदाय दोहोरो चेपुवामा परेको छ। सिकलसेल रोगको उपचार र परीक्षण महंगो तथा सीमित ठाउँमा मात्रै हुने भएकाले पनि धेरै बिरामी जाँच नगराई घरमै बसेकोसमेत पाइन्छ। यसका लागि जनचेतनाको विस्तार हुनुपर्ने देखिन्छ।
नेपालमा थारु बहुल्यता भएका जिल्ला कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दियामा सिकलसेल सम्बन्धी समस्या बढी देखिएको छ। यो क्षेत्रलाई केन्द्रित गरेर विशेषज्ञको सेवा दिने अस्पताल बन्नुपर्छ।
यो थारु समुदायको मात्र समस्या नभएर जनस्वास्थ्य समस्या हो। जनस्वास्थ्य समस्याको समाधान गर्ने दायित्व राज्यको हो। राज्यले सिकलसेल एनिमियाको जाँच निःशुल्क गराउनुपर्छ। सिकलसेलको बिरामी एउटा दीर्घ रोगी भएकोले आजीवन उपचार गर्नुपर्ने हुन्छ। त्यसैले सम्पूर्ण खर्च राज्यले व्यवस्था मिलाउनुपर्छ।
कुन ठाउँमा छ सिकलसेलको समस्या ?
नेपालमा थारु बहुल्यता भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दियामा सिकलसेल सम्बन्धी समस्या बढी देखिएको छ। यो क्षेत्रलाई केन्द्रित गरेर विशेषज्ञको सेवा दिने अस्पताल बन्नुपर्छ। त्यस्तै प्रत्येक स्थानीय तह र स्वास्थ्यचौकीमा यसको जाँच गर्ने व्यवस्था भयो भने केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिन्छ। नभए पछिल्लो समय अन्य समुदायमा फाट्फुट्ट देखापर्न थालेकाले यसको संक्रमण अन्य समुदायमा पनि फैलिन सक्ने खतरा छ। (कैलालीको भजनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाशकुमार चौधरीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया