नेपालमा किन बढ्दैछन् दमका बिरामी ? | Khabarhub Khabarhub

नेपालमा किन बढ्दैछन् दमका बिरामी ?

दमको प्रमुख कारण धुम्रपान, धुवाँ, धुलो र प्रदूषण


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

दम स्वासप्रस्वास सम्बन्धी रोग हो। मुटु, मधुमेह, क्यान्सर जस्तै यो पनि दीर्घ रोग हो। नेपालमा हुने १६ प्रतिशत मृत्युको कारण दम रहेको तथ्याङ्क छ। दम वृद्धवृद्धामा मात्रै देखिन्छ भन्ने धेरैको बुझाइ छ। यो रोग सबै उमेर समूहका व्यक्तिमा हुने चिकित्सक बताउँछन्। समयमै दम रोगको पहिचान गरेर उपचार गरिएन भने फोक्सो र मुटुजस्ता शरीरका महत्त्वपूर्ण अङ्ग गुम्न सक्छन्। नेपालमा धुम्रपान, धुवाँ, धुलो र प्रदूषणका कारण दमका बिरामी बढ्दै गएका छन्। दम कस्तो रोग हो ? कस्ता व्यक्तिलाई लाग्छ ? नेपालमा दम रोगीको अवस्था कस्तो छ ? यसबाट बच्नका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा ओम अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा. दीपा श्रेष्ठसँग गरिएको कुराकानी :

दम कस्तो रोग हो ?
दम स्वासप्रस्वाससँग सम्बन्धी एउटा रोग हो। सामान्य काम गर्दा, हिँड्दा सास फुल्छ जसलाई हामी दम फुलेको भनेर बुझ्छौं। जसलाई सिओपीडी दम र ब्रोन्केलास्टमा दम भनिन्छ। तर सास फुल्ने समस्या मुटु सम्बन्धी रोगका कारण पनि हुनसक्छ।

नेपालमा सिओपीडी दमका बिरामी धेरै छन्। जुन चुरोट, धुवाँ, धुलोले बढाउने गर्छ। उमेर बढ्दै गरेका मानिसमा यो समस्या हुन्छ।

दम हुँदा कस्ता कस्ता लक्षण देखिन्छन् ?
प्रमुख लक्षण सास फुल्ने नै हो। सुरुवाती अवस्थामा धेरै हिँड्दा, भारी बोक्दा, अन्य काम गर्दा स्वास फुल्ने समस्या हुन्छ। यो समस्याले च्यापेपछि सास फेर्नै गाह्रो हुने, खोकी लाग्ने, खकार आउने जस्ता लक्षण देखिन्छन्।

नेपालमा कुन दमका रोगी बढी छन् ?
नेपालमा सिओपीडी दमका बिरामी धेरै छन्। जुन चुरोट, धुवाँ, धुलोले बढाउने गर्छ। उमेर बढ्दै गरेका मानिसमा यो समस्या हुन्छ। तथ्याङ्कका आधारमा मुटुरोग पछि यो दोस्रो नम्बरमा आउँछ।

दमको असर बालबालिका र युवामा कत्तिको छ ?
वातावरणीय प्रदूषण, धुवाँ, धुलो, चिसो तथा फूल फुल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहमा दम हुनसक्छ। तर बालबालिका र युवा अवस्थामा हुने दम एलर्जीका कारणले हुने गर्दछ।

दमका बिरामी कुन अवस्थामा अस्पताल आइपुग्दा चाँडो निको पार्न सकिन्छ ? अहिले आउने बिरामी कुन अवस्थामा अस्पताल आइपुग्छन् ?
एलर्जीबाट हुने दमका बिरामीहरु चाँडै अस्पताल आइपुग्छन्। यसले गर्दा अचानक सास फेर्न गाह्रो हुन्छ। सिओपीडी दम जुन बढ्दो उमेरमा हुने गर्दछ। त्यस्ता बिरामी कुनै त समयमै आउँछन् र उपचार गर्न नि सजिलो हुन्छ। कतिपय बिरामी आइसियुमै भर्ना गर्नुपर्ने अवस्थामा पनि आइपुग्छन्।

सिओपिडी दम एक पटक भएपछि पूर्ण रुपमा निको हुँदैन। तर पूर्ण रुपमा निको नभए पनि विभिन्न किसिमको औषधिको प्रयोगबाट दमका रोगीले सामान्य जीवनयापन गर्न सक्छन्।

दम हुनुको मुख्य कारण के रैछ ?
मुख्य कारणहरु एउटा त धूम्रपान नै हो। अर्को प्रदूषण हो। सहरी क्षेत्रमा कलकारखाना यातायातका साधनबाट प्रदूषण बढ्छ भने गाउँघरमा दाउरा बालेर खाना पकाउने चलनले प्रदूषण बढ्छ। यो सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने र खेतवारीमा काम गर्ने समय भएकाले मौसम परिवर्तनको समयमा झन् समस्या बढ्ने हुन्छ। त्यस्तै वंशाणुगत पनि दम हुनसक्छ।

दमलाई उपचारले पूर्णरुपमा निको पार्न सकिन्छ वा बाँचुन्जेल औषधी खाइरहनुपर्छ ?
सिओपीडी दममा त बाँचुञ्जेल औषधी खाइराख्नुपर्ने हुन्छ। सिओपिडी दम एक पटक भएपछि पूर्ण रुपमा निको हुँदैन। तर पूर्ण रुपमा निको नभए पनि विभिन्न किसिमको औषधिको प्रयोगबाट सबै दमका रोगीले सामान्य जीवनयापन गर्न सक्छन्। दम रोगीका लागि एउटा तान्ने र अर्को खाने औषधी हुन्छ। मुखले तान्ने औषधीको प्रयोगले सास फेर्न सजिलो हुने र खोकी कम हुने हुन्छ। एलर्जी वाला दममा भने अवस्था हेरेर खाने औषधी दिने गरिन्छ। मौसम परिवर्तन हुँदा या अन्य कुनै समस्या हुँदा देखिने दमको उपचारका लागि खाने औषधी दिइन्छ।

समयमै उपचार गरिएन भने के कस्ता समस्या निम्त्याउने जोखिम हुन्छ ?
दमका बिरामीले राम्रोसँग ख्याल नगर्ने हो भने अन्य समस्या पनि आउँछन्। दमले मुख्य रुपमा फोक्सोलाई असर गर्छ। दम भएपछि फोक्सोले सास लिने अथवा अक्सिजन शरीरमा पुर्याउनेक्रम कम हुन्छ। यसका साथै दमले मुटुलाई पनि असर गर्छ। मुटुको प्रेसर बढाएर मुटु फेल हुने सम्भावना हुन्छ।

दमले अन्य विभिन्न समस्या पनि निम्त्याउँछ। रक्तधमनी सम्बन्धी रोग सिओपिडी दम भएका बिरामीलाई बढी देखिन्छ।

दमले अन्य विभिन्न समस्या पनि निम्त्याउँछ। रक्तधमनी सम्बन्धी रोग सिओपिडी दम भएका बिरामीलाई बढी देखिन्छ। हुनत सिओपिडी दम र मुटुमा समस्या निम्त्याउनुमा धुम्रपानको पनि विशेष भूमिका हुन्छ। हड्डी कमजोर हुने, व्यायाम गर्ने क्षमता कम हुने, हिँड्न, डुल्न गाह्रो हुने हुन्छ। दमको कारणले एनिमिया हुने, कहिले काहीँ रगत धेरै बढ्ने जटिलता सिओपिडी दम भएका बिरामीमा देखिन्छन्।

लामो समयसम्म उपचार नगराएका दमका बिरामीमा पनि यो समस्या देखिने सम्भावना हुन्छ। तर, समयमै उपचार गरियो भने यो सबै जटिलताबाट जोगिन सकिन्छ।

नेपालमा दमकै कारणले हुने मृत्युदर कस्तो छ ?
अहिले तत्काल त यसबारेमा सर्वेक्षण भएको छैन। तर केही वर्ष अगाडिको तथ्याङ्क अनुसार दमका कारण हुने मृत्यु दर मुटुरोगपछि दोस्रो नम्बरमा छ। १६ प्रतिशतको मृत्यु दमका कारण हुने गरेको छ।

अन्य दीर्घ रोग जस्तै दम रोगका लागि सरकारले उपचारको व्यवस्था गरेको छ कि छैन ?
दमलाई पनि दीर्घरोग मानेर उपचारमा केही सहुलियतको व्यवस्था गरेको छ। त्यस्तै स्वास्थ्य बीमामा पनि दमलाई समावेश गरेको छ।

दम हुने जुन प्रक्रिया छ, त्यो हाम्रो हातमा छैन । त्यसैले समयमै परीक्षण गरेर उपचार सुरु गर्नु नै दमको जटिलताबाट बच्ने उपाय हो।

दमबाट बच्नका लागि के गर्ने ?
सिओपीडी दम लाग्नुको कारक तत्त्वहरु पत्ता लागिसकेका छन्। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो।

त्यसैले दमको बारेमा समाजमा जनचेतना फैलाउनु जरुरी छ। दम मुख्य रुपमा धुम्रपान, वायु प्रदुषण र पेशागत जोखिमका कारण लाग्ने रोग हो। यी कुरालाई निर्मूल पार्नका लागि नीति निर्माणको तहबाट सरकारले गर्नुपर्छ। दमका रोगी कम गराउने हाम्रो सामाजिक दायित्त्व पनि हो।

दम हुने जुन प्रक्रिया छ, त्यो हाम्रो हातमा नभएको हुनाले त्यस्ता रोग देखिएको व्यक्तिले समयमै आफ्नो स्वास्थ्य परीक्षण र उपचार गर्नुपर्छ। समयमै परीक्षण गरेर उपचार सुरु गर्नु नै दमको जटिलताबाट बच्ने उपाय हो।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : १२ बजे

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर