खेलकुद

न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो

By खबरहब

March 22, 2024

काठमाडौं– नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यू डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट डायमण्डले २५–२३ ले जित्दै खेललाई बराबरीमा ल्याए । तेस्रो सेटमा एपिएफले २५–१४ र चौथो सेटमा २५–२१ को जित निकाल्यो । तेस्रो भएको एपिएफले १ लाख २५ हजार रुपैयाँ गरेको छ ।

महिलातर्फको उपाधिका लागि भने शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।