इस्मा आगलागी : आँखै अगाडि खरानी बने सपना र सम्पत्ति | Khabarhub Khabarhub

इस्मा आगलागी : आँखै अगाडि खरानी बने सपना र सम्पत्ति


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

तम्घास । गुल्मीको इस्मा गाउँपालिका- २ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाएका थिए। जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याएका उनको बिहेका गरगहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उनले सुरु गरेको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।

“हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले” उनले भने, “आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।” आफूहरु बल्लतल्ल घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गरेका थिए । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उनी बिहे भोजको निम्तो गर्न बेसी झरेका थिए । सोही समयमा जङ्गलबाट आएको आगोले उहाँको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

“बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,” उनले भने, “मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।” आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहनुभएको छ । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उनले बताए ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी गएका थिए । त्यही बेला गाउँमा लागेको आगोले उनको घर पनि बाँकी राखेन । “बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,” कुँवरले भने, “आगोले मन छियाछिया भएको छ ।” सिङ्गो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उनको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताए । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताए ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिङ्गो गाउँ सखाप भएको बताए । “एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,” उनले भने, “धन्न मानवीय क्षति हुन पाएन ।”

आगालगीबाट पीडित उहाँहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् ।

सिङ्गो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

गाउँपालिकाद्वारा सहयोगको अपिल

इस्मा गाउँपालिकाले आइतबार साँझ विज्ञप्ति जारी गरी आगलागी पीडितलाई सहयोगको अपिल गरेको छ । इस्मावासी आगलागीबाट पीडित भएको भन्दै गाउँपालिकाले सहयोगका लागि सबैसँग अपिल गरेको हो ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब र कर्मचारीहरुले एक महिनाको पाँच प्रतिशत तलब आगलागी पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताए ।

सोही क्षेत्रका प्रदेश सांसद डिल्लीराज भुसालले बस्तीको पुनःनिर्माणका लागि पहल गर्ने बताए । गुल्मी जिल्लाभरमा आगलागीबाट ३७ घर र ४६ गोठ गरी ८३ घरगोठ जलेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : २६ बजे

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा– रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारिसाधन दोलखा हुँदै जाने चापलाई