पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा | Khabarhub Khabarhub

पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

गण्डकीपोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ।

कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । 

मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिए। उनका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

‘अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने, ‘बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।’ मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उनको भनाइ छ । ‘प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ’ उनले भने। 

प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो । 

पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताए। 

२५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिए । मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए। 

पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको संगमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । 

वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। 

पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : १० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः