‘संसद्लाई ब्यारेक बनाइयो’ | Khabarhub Khabarhub

‘संसद्लाई ब्यारेक बनाइयो’



संसदीय राजनीतिको पक्षपाती कांग्रेसका कारण संसदका सम्पूर्ण गतिविधि ठप्प प्राय छ । बजेट सार्वजनिक हुने दिन नजिकिँदै जाँदा सत्तापक्ष र प्रतिपक्षबीच दूरी झन्झन् बढ्दो छ । संसद् नचल्नुको विषयलाई लिएर आरोप प्रत्यारोप थप पेचिलो बन्दैछ । के अवरोध छल्न सरकार अध्यादेशको बाटो रोज्दै छ ? कांग्रेसको भूमिका के हुन्छ त अब ? यिनै विषयमा नेपाली कांग्रेसका सांसद दीपक गिरीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

संसद् भित्रको तमासाका सन्दर्भमा के भन्नु हुन्छ ?

संसद् भनेको जनताको प्रतिनिधित्व गर्ने ठाउँ हो । यसलाई सभामुखले आफ्नो अभिभावकत्व र तटस्थ रूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह नगरेकै कारण संसद्लाई अहिले तमासा मात्रै नभई ब्यारेक नै बनाइएको छ । सभामुख आफैँ एउटा पार्टीको कार्यकर्ताको हैसियत जस्तो गरेर अर्को पोसाक लगाएका प्रहरी राखेर जुन तरिकाले संसद् चलाउने दुष्प्रयास गर्नु भएको छ, त्यो संसदीय इतिहासमै गलत भएको छ ।

हामीले रविको बारेमा सहकारी ठगीका कुराहरू आएपछि छानबिन समितिको माग गरेका हौँ । त्यसमा सरकारले समिति बनाउँछु पनि भन्ने अनि संसद्लाई ब्यारेक बनाउने काम गरेको छ, त्यसको हामीले घोर भर्त्सना गरेका छौँ ।

पहिला अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख हुँदा तत्कालीन कम्युनिस्ट पार्टी विभाजन भएर एमाले र माओवादी जन्मिँदा, केपी ओलीले संसद् विघटन गरिसकेपछि अन्तिम समयमा दल विभाजनको कसरत चल्दै गर्दा सत्ताको बलमा एमाले फुटाउन पार्टीको कार्यकर्ताको काम गरे भन्दा चाहिँ कांग्रेस खुच्चिङ भनेर बसेको थियो, आज त्यही प्रवृत्तिको निरन्तरता त होला नि हैन ?

त्यति बेला पनि हामीले खुच्चिङ भनेर बसेका थिएनौँ । संसदीय मर्यादा राखेर चलाउनु पर्छ । जोर जबरजस्ती गर्नु हुँदैन भन्ने नै भनाइ थियो । प्रतिपक्ष बाहिर उभिँदा सभामुखले किन उभिएको भनेर समाधान गर्न लाग्ने कि नियम उलंघन गरेर जबरजस्ती गर्ने त ? प्रतिपक्षको नै हो संसद् । हामी नकारात्मक भूमिका निभाउँदैनौँ । संसद् कसरी चलाउने भनेर कार्यपालिका छ । यहाँ भन्ने एउटा, गर्ने अर्को जस्तो भयो ।

सभामुखको मर्यादा ख्याल नगर्ने त परम्परा नै बसिसकेको छ । आफूले भने जस्तो भएन भनेर अहिले विधिको कुरा गर्नु जायज हो र ?
व्यक्तित्व हेर्दा सभामुखको शालीन नै देखिन्छ । तर  उहाँको काम त्यस्तो छ । सभामुखले प्रतिपक्षले के कसरी प्रस्तुत भइरहेको छ ? त्यो पनि हेर्नु पर्छ । त्यसमा पनि हाम्रो माग भनेको एउटा संसदीय छानबिन समितिको न हो । सभामुखबाट अनावश्यक समय मात्र लम्ब्याउने काम भएको छ ।

हिजो हामीले चुनावी गठबन्धन बनाएर गल्ती गरेछौँ । अब नयाँ  कोर्सबाट राजनीति अगाडि बढाउनुपर्छ भन्ने कांग्रेसमा समीक्षा अघि बढाउँदा कसो होला ?

म पार्टीको एउटा सिपाही भएकोले पार्टीको वास्तविक निर्णयलाई मान्छु । तथापि यो मल्टी पार्टी प्रणालीमा संसदीय प्रणालीलाई थोरै सुधार गर्नु पर्छ कि भन्ने लाग्छ । किनकि यसले एउटा पार्टीको जनताले मत दिँदा पनि बहुमत नआउने र यो खालको अस्वस्थ राजनीतिक चलखेल बढिरहेको छ । त्यसैले हामी सबै गम्भीर भएर मिश्रित प्रणालीका बारेमा सोच्न जरुरी छ ।

अहिले हामी संसद् भित्रेको पहिलो पार्टी हो । तर त्यो पार्टीलाई दोस्रो बनाउने खेल भइरहेको छ । हामी निर्वाचनको आधारमा पहिलो भएका हौँ।  यहाँ त पार्टी फुटाएर जुटाएर पहिलो हुने प्रयास गरिएको छ । अहिले सदन जति भए पनि प्रधानमन्त्रीको आवाज एउटा, एमाले अध्यक्ष केपी ओलीको दृष्टिकोण अर्कै देखा परेकोले गर्दा संसद्  यो अवस्थामा पुगेको हो ।

सिंगो चुनावी प्रणालीलाई दोष दिने भन्दा आफू भित्रको राजनीतिक संस्कारमा परिवर्तन ल्याउनुपर्छ भन्ने शिक्षाका रूपमा आत्मसात् गर्नुपर्ने होइन र ?

हामीबाट केही त्रुटि भएको छ भने त्यसलाई हामीले स्वीकार गर्नै गर्छ । स्पष्टसँग हामीबाट भएका त्रुटिलाई औँल्याउनुहोस् । कोही पनि दूधले नुहाएको हुँदैन । तथापि बहुदलीय राजनीतिमा हामी स्वस्थ राजनीति गर्न  चाहन्छौँ ।

अहिले संविधान सभा पछि जुन बिन्दुमा आइपुगेका छौँ, यो बिन्दुमा जुन ढंगले राजनीति जानु पर्ने बाटो हो त्यो नभएर धेरै अराजनीतिक काम भएको देखिन्छ । त्यसलाई सुधार गर्नु पर्छ । यो सबै आउनुको पहिलो कारण मिश्रित प्रणाली नै हो ।

राजनीतिमा यहाँ यहाँ गल्ती भयो भनेर सार्वजनिक रूपमा भन्ने साहस नेपाली कांग्रेस सँग छ ?

हाम्रो महाधिवेशनमा पनि त्यो विषय उठेको छ ।  हामी लोकतान्त्रिक परिवारका मान्छे हो । जनतालाई केही राहत हुन्छ कि भनेर माओवादीसँग गठबन्धन गरेका थियौँ । ठूलो हिंसा गरेर आएको माओवादीलाई पनि शान्तिमा ल्याउन हाम्रो नेता गिरिजाबाबुले योगदान गर्नु भएको थियो  । त्यसमा पनि हामी साम्यवादीहरूलाई पनि संसदीय प्रणालीमा ल्याउनु भनेको लोकतन्त्रको उपलब्धि हो भनेका थियौँ ।

यही परिस्थितिका बीचमा कम्युनिस्टहरू अगाडि गए भने त ०८४ मा कांग्रेसको राजनीतिक हविगत के होला ?

हामी अभिमतको आधारमा कम्युनिस्टहरू ठूलो पार्टी हुन सक्छन् । तर संवैधानिक रूपमा फाइदा उठाएर कराएको राम्रो हैन । जनताले अभिमत दिएर ठूलो पार्टी हुन पाइन्छ । हामी त्यही चाहन्छौँ । तर अब नेपाली राजनीतिमा ठूलो परिवर्तन होला जस्तो मैले देखेको छु । किनकि अहिले जसरी आर्थिक अवस्था तल्लो तहसम्म बर्बर छ । संसदमा झगडा बनाइएको छ । यसले मुलुकमा आर्थिक संकट पनि निम्त्याउँछ । यी विषयमा राजनीतिज्ञहरू गम्भीर भएर गएनन् भने भयावह अवस्था आउन सक्छ ।

अब दलीय व्यवस्था, संघीयता वा गणतन्त्र सबै धराशायी अवस्थामा पुगेको हो ?

हैन, जसरी जुन ढंगले संघीय प्रणालीको अभ्यास हामीले गर्न नसकेको हो । हाम्रो भौगोलिक दृष्टिकोणले सानो तर  राष्ट्रियताले विशाल मुलुकमा अहिले हामीले समानुपातिकमा मिश्रित प्रणालीलाई सुधार गर्नै पर्छ । बिस्तारै आर्थिक रूपले सफल भएपछि जसरी अरु देशले डलरको कारणले आयस्रोत चलाएका छन् । हामीले युरेनियम भेटेको भए देश चल्ला तर अहिले प्रदेशको काम नै छैन कि भन्ने भएको छ । त्यसैले यो प्रदेश हटाउनु पर्ने देखिन्छ । नत्र मुलुक सधैँ आर्थिक कमजोरीमा रहिरहन्छ । हाम्रो आर्थिक पक्ष सबल नहुनुको कारण नै मिश्रित प्रणाली हो ।

अब कुन रणनीतिका आधारमा संसद्मा जानु हुन्छ ?

त्यसको लागि संसदीय र कार्यसमितिको बैठक बसेर जनताको आवाजलाई बुलन्द गर्न सकिन्छ भनेर सबै चलखेल कसरी अन्त्य गर्न सकिन्छ भनेर छलफल गरेर जाने हो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : ३५ बजे

युरोकप २०२४ : बेल्जियमको पहिलो जित

काठमाडौं– १७औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ

प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकपको सेमिफाइनल नजिक भारत : कसिलो बलिङ र अस्थिर ब्याटिङ

विश्व क्रिकेटका दुई महाशक्ति भारत र अस्ट्रेलिया टी-२० विश्वकपको समूह

दमौली अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान

तनहुँ– सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई

पोर्चुगल युरोकपको अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६