नायिका बन्ने लक्ष्य, थन्किएका स्क्रिप्ट र विज्ञापनले देखाएको बाटो | Khabarhub Khabarhub

कला

नायिका बन्ने लक्ष्य, थन्किएका स्क्रिप्ट र विज्ञापनले देखाएको बाटो

इस्टु कार्कीको दुःखका नालीबेली


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


42k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार इस्टु कार्की कला क्षेत्र र सामाजिक सञ्जालमा परिचित नाम हुन् । अहिले उनी फरक शैलीमा विज्ञापन गरेका कारण चर्चित छिन् । विज्ञापनको काममा उनको व्यस्तता बाक्लिँदो छ ।

इस्टु टेलिसिरियल ‘हल्का रमाइलो’को ‘नेप्टी’ पात्रबाट सुरुवाती दिनमा दर्शकसँग परिचित भइन । इस्टु सो सिरियलको प्रमुख मध्येकी एक पात्र ‘नेप्टी’को भूमिकामा थिइन् । डेढ वर्षअघि उनी सो सिरियलबाट बिदा भइन् ।

आधा दर्जन नाटक र चार फिल्मको सहायक भूमिकामा काम गरेकी इस्टु ‘थियटर भिलेज’ की उत्पादन हुन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छिन् । तर, उनलाई प्रख्याति चाहिँ ब्राण्ड प्रचारले दिलाइरहेको छ ।

सर्लाहीको हरिपुर गाउँमा हुर्किएर यो अवस्थामा आइपुग्न इस्टुले तय गरेको यात्रा सहज छैन । काठमाडौं छिर्न परिवारको अनुमति पाउनै ठूलो सकस खेप्नुपर्‍यो । बल्लतल्ल शहर छिरेपछि उनले उनले गरेको एकल संघर्ष धेरैका लागि प्रेरणा बन्न सक्छ ।

इस्टुको बाल्यकाल
इस्टु सर्लाहीको दुर्गम गाउँ हरिपुरमा जन्मिएकी हुन् । अहिले विकाससँगै गाउँमा केही परिवर्तन भयो । तर, आफ्नो बाल्यकाल पुरातनवादी सोच हावी भएकै समाजमा बितेको उनलाई महसुस हुन्छ ।

गाउँमा ‘बोक्सी’को आरोपमा महिलाहरू पीडित बनेको इस्टुले देखेकी छन् । साना विषयको विवादको विवादमा पनि पञ्चायत बैठक डाक्ने र चर्को बहस हुने गरेको उनलाई सम्झना छ ।

‘एउटा काँक्राको निहुँमा पनि पञ्चायत बैठक बसेको मलाई थाहा छ,’ इस्टु आफ्नो बाल्यकालीन समाज सम्झन्छिन्, ‘समाज त थियो, तर मेलमिलाप थिएन । अशिक्षाको भूमरीमा रुमल्लिएको समाजभित्र सानो विषयमा पनि विवाद हुन्थ्यो ।’

हजुरबुबा आर्मीको पेन्सनवाल भएकाले इस्टुको परिवारका सदस्यले पढ्ने मौका पाए । उनका बुवा शिक्षक थिए । गाउँमा अन्यका परिवारको तुलनामा आर्थिक हैसियत राम्रै थियो, तर सहज भने थिएन ।

बच्चालाई राम्रै शिक्षा–दीक्षा दिनुपर्छ भन्ने मान्यता राख्ने बुबाका कारण उनले निजी स्कूलमै पढ्न पाइन् । तर, कक्षा आठको पढाइ भने उनका लागि अविस्मरणीय छ ।

‘मैले स्कुल परिवर्तन गरिरहेँ । हरिवनमा होस्टल पनि बसेँ । तर, हजुरबाहरूसँग बस्न मन लागेर जिद्दीले ८ पढ्न गाउँ गएँ,’ उनी स्मरण गर्छिन्, ‘एउटा बेञ्चमा सात जना बस्नुपथ्र्यो, कक्षामा २०० विद्यार्थी हुन्थे । शिक्षकहरू मैथिली बोल्ने । मलाई निकै सकस भयो त्यो वर्ष ।’

नायिका बन्ने इच्छा
बर्दिबासमा प्लस टू पढ्दै गर्दा इस्टुलाई पहिलो पटक अभिनयको चस्का लागेको हो । त्यसअघि भविष्यमा के बन्ने भन्नेबारे कुनै दृढ लक्ष्य थिएन । बरु हरिवन र बर्दीवास बसेर पढेकाले उनलाई उप्रान्त घरमै बस्न रहर थियो ।

प्यारालाइसिस (पक्षघात) भएर लामो समयदेखि थला परेका हजुरबुबासँगको घनिष्ठताले उनलाई सर्लाही छाड्न मन थिएन । भन्छिन्, ‘हजुरबुबालाई पानी पनि खुवाउनु पथ्र्यो । म उहाँको सम्पूर्ण स्याहर गर्थेँ । उहाँ पनि मलाई एकदमै माया गर्नुहुन्थ्यो ।’

तर कलाकार बन्ने तीव्र इच्छा भएकी उनले आफ्नो भविष्य सर्लाहीमा देखिनन् । बर्दीवासमा पनि अभिनय सिकाउने संस्था थिएन । उनलाई काठमाडौं छिर्न मन लाग्यो । कारण थियो– पढ्दै अभिनय सिक्ने ।

‘कलाकार बन्ने इच्छा भएपछि ब्याच्लर (स्नातक) पढ्न काठमाडौं जान्छु भनी घरमा कुरा राखेँ,’ उनी स्मरण गर्छिन्, ‘परिवारले नाइँ पनि भन्नु भएन, जा पनि भन्नुभएन । नबोली मेरो कुरा टार्न लागेजस्तो लाग्यो ।’

त्यसबेला आर्थिक अभावले काठमाडौं पढ्न नपठाएको हुनसक्ने उनको बुझाइ थियो । बर्दिबासमा पढेको भन्दा सस्तो कलेज बुझ्दा समेत उनी काठमाडौं आउन पाइनन् । आफूलाई काठमाडौं पठाउन परिवार किन नकारात्मक थियो, उनले ठोस कारण अझै पाएकी छैनन् ।

इस्टु अनुमान गर्छिन्, ‘म हजुरबुबाको स्याहार गर्थेँ । म हिँडेपछि उहाँ एक्लो पर्नुहुन्छ भनेर हो कि जस्तो लाग्छ ।’

अशक्त भए पनि परिवारमा हजुरबुबाको बोली बिक्ने उनलाई थाहा थियो । सोही कारण अन्तिम आशा राखेर हजुरबालाई ‘काठमाडौं पढ्ने प्रबन्ध मिलाइदिन’ आग्रह राखिन् । तर हजुरबुवाबाट पनि सुनुवाइ भएन ।

‘उहाँले बुवालाई भनिदिनुभयो भने मान्नुहुन्छ भन्ने थियो । उहाँले पनि इच्छा देखाउनुभएन,’ उनी भन्छिन् ।

सबै प्रयास असफल भएपछि काठमाडौं जानका लागि उनीसँग अन्तिम विकल्प बाँकी रह्यो – घुर्की लगाउने । त्यो घुर्की थियो– काठमाडौं बाहेक अन्त ब्याचर पढ्न भर्ना नहुने ! उनको त्यो घुर्कीले पनि काम गरेन । बरु, उल्टै एक वर्ष पढाइ बिथोलियो ।

‘परिवारमा कसैले पढ् भन्नुभएन । सँधै पढ्नुपर्छ भन्ने बुवा पनि छोरी एक वर्ष कलेज नजाँदा चुप बस्नुभयो । बुवासँग बोलचाल पनि हुन छोड्यो । कसैले चिन्ता लिए जस्तै लागेन,’ उनी भन्छिन्, ‘पढाइ रोकियो भनेर आफैँलाई चिन्ता लाग्न लाग्यो । मेरै कारण परिवारको माहोल चिसियो कि जस्तो लाग्न थाल्यो । अनि उतै पढेँ ।’

अभिनयको तृष्णा
काठमाडौंमा पढ्दै अभिनय सिक्ने इच्छा पूरा भएन । बर्दीवासमै ब्याचर भर्ना भइन् । तर, असन्तुष्टिका खात थिए । काकाका छोरीहरू र आफ्नै भाइ काठमाडौंमा पढ्न आएका थिए । सँगै एसएलसी दिएका साथीहरू पनि कोही गाउँमा थिएनन् ।

काठमाडौं आएका साथीहरूले फेसबुकमा राखेका फोटा नै उनलाई विचलित बनाउन काफी थिए । अभिनय सिक्ने रुचि दिन–प्रतिदिन बढ्दो थियो । यस क्रममा अभिनयको भोकले टेलिभिजनमा अन्य हिरोइनभित्र आफूलाई समाहित गर्थिन् । लाग्थ्यो– चलचित्रमा खेलिरहेकी नायिका उनी स्वयम् हुन् ।

‘फेसबुकमा काठमाडौं देख्दा पनि जान मन लाग्ने हुन्थ्यो । कति पटक त हिरोइनको स्थानमा आफ्नो अनुहार देखेको अनुभव मसँग छ,’ उनी भन्छिन्, ‘मलाई काठमाडौं टेक्नै सपना जस्तो भइसकेको थियो । उमेर बढ्दै गएकाले कलाकार नबन्ने हुँ कि भन्ने चिन्ता पनि थियो ।’

तर, उतै पढे पनि ब्याचलर सकिएपछि काठमाडौं आउने उनको प्रयास उनको थियो । कोहीबाट आफ्नो मागको सुनुवाइ नभएपछि ‘काठमाडौं लैजाने आशले’ फुपू माइत आउँदा हरेकपटक काठमाडौं लैजान आग्रह गर्न लागिन् ।

फुपू माइतबाट काठमाडौं हिँड्दाको क्षण सम्झँदा उनी अहिले पनि आँशु थाम्न सक्दिनन् ।

‘फुपूले काठमाडौं लानुहुन्छ भनेर उहाँकै झोलामा कपडा हालेर राखेँ । मेरो कपडा झिकेर एक्लै हिँड्नुभयो,’ उनी आँशु झार्दै त्यो दिन सम्झन्छिन्, ‘उहाँ केही नबोली हिँड्नुभयो ।’

ब्याचलरपछि पढ्ने कलेज नभएकाले काठमाडौं जान पाउने झिनो आशा उनमा थियो । तर, उनले पढ्न भ्याउने गरी बर्दीवासकै कलेजमा मास्टर्स (स्नातकोत्तर)को पढाइ खुल्यो ।

‘बुबाले पनि मास्टर्स यतै पढ् ! कलेज खुल्यो भन्न लाग्नुभयो । अनि मैले आफैँ आँट नगरे नहुने रहेछ भन्ने भयो,’ उनी भन्छिन् ।

अनि काठमाडौंतर्फ यात्रा
ब्याचलर सकेपछि बढ्दो उमेरसँगै इस्टुमा परिपक्वता आएको थियो । आफूमा पनि केही गर्न सक्छु भन्ने आँटको विकास भएको ! करकापले काठमाडौं आउन नपाउने थाहा भएपछि भने उनले बुवाको साथीको सहारा लिइन् ।

‘बुवाको साथीको नरेफाँटमा स्कूल थियो । उहाँले भनेको बुबाले टार्नु हुन्न थियो । उहाँलाई पढाउँछु, जागिर दिनू भनेर आग्रह गरेँ,’ इस्टले सुनाइन्, ‘उहाँले बुबासँग सल्लाह गर्छु भन्नुभयो । सल्लाह गरेर बोलाउनुभयो । भोलिपल्टै गाडी चढेर आएँ ।’

काठमाडौं आएर बस्नका लागि गाह्रो थिएन । भाइ र ममी काठमाडौंमै बस्ने भएकाले उनी त्यहीँ आएर बसिन् ।

‘काठमाडौं आएपछि पढाउनका लागि स्कुलका सरहरूले टेस्ट लिनुभयो । एक सातापछि बोलाउँछौं भन्नुभयो, तर बोलाउनुभएन,’ उनी भन्छिन्, ‘भाइ र ममी बुवाकै साथीको घर सिनामंगलमा बस्नुहुन्थ्यो । म पनि त्यहीँ बस्न लागेँ ।’

जागिर नभए पनि नायिका बन्नका लागि अभिनय सिक्ने अवसर उनी गुमाउन चाहँदैन थिइन् । साथीको सहयोगमा लाजिम्पाटमा रहेको ‘थियटर भिलेज’मा अभिनय सिक्न भर्ना भइन् ।

‘तीन महिना कोर्स गरेको ३० हजार रुपैयाँ लाग्ने रहेछ । सकिँदासम्म तिर्छु भनेर सकसले भर्ना भएँ,’ उनी स्मरण गर्छिन् ।

घरमा ‘मास्टर्स पढ्दैछु’ भनी झुट बोलेर थियटर भर्ना भएकी थिइन् । नायिका बन्ने लक्ष्य थियो । गाडीभाडा नहुँदा हिँड्दै सिनामंगलदेखि लाजिम्पाट ओहरदोहर गर्नु उनको दैनिकीजस्तै थियो ।

थियटरका तीता सम्झना
थियटरमा सिकाइ बाहेक इष्टुले आज पनि बिर्सिन नसक्ने धेरै घटना छन् । कतिपय मीठा छन् । तर आर्थिकसँग जोडिएका केही घटना सम्झँदा उनलाई आज पनि ननिको लाग्छ । ती कुरा उनले खबरहबसँग सेयर गरेकी छन् ।

थियटरको पढाइ शुल्क ३० हजार रुपैयाँ तिर्न कानको गहना बेच्नसमेत प्रयास गरेको उनले बताइन् । ‘तिम्रो पैसा तिर्न बाँकी छ, अफिस आउनू है भन्नुहुन्थ्यो । लाज लागेर गहना बेच्न पनि गएँ, तर नपुग्ने रहेछ । मैले त्यो शुल्क तिर्नै सकिनँ,’ उनी भन्छिन् ।

आर्थिक अभावकै कारण कमजोर बनेको मनोबल छोप्न हरप्रयास गरेको उनी बताउँछिन् । पैसा नभएकाले आफू नहेपिनका लागि निकै सजग बने पनि साथीहरू कार, महँगा बाइक र स्कूटरमा आएको देख्दा उनलाई लाग्थ्यो रे– ‘आर्थिक/मानसिक सबै हिसाबले म नै कमजोर छु ।’

परिवारबाट पनि समर्थन नभएकाले त्यसबेला मनोबल थप कमजोर बनेको उनलाई अहिले महसुस हुन्छ ।

‘अभिनय सिकेर म यो बन्छु, यति कमाउँछु भन्ने ग्यारेन्टी परिवारलाई दिन सक्ने अवस्था थिएन । थाहा पाए भने थियटर जान नपाउने हो कि भन्ने डर थियो,’ उनी भन्छिन्, ‘ममीहरूसँग बोलचाल नै कम भइसकेको थियो । पैसा माग्ने वातावरण नै थिएन ।’

त्यसबेला साथीहरूले खाजा खान हिँड भन्दा पैसा नभएकै कारण अनेक वहाना समेत बनाएको उनी स्मरण गर्छिन् । ‘खाजा खान मन छैन, मीठो लाग्दैन भनेर गफ दिन्थेँ,’ उनी भन्छिन्, ‘आफूले खुवाउन पैसा थिएन, उनीहरूको मात्र खाने कुरा भएन नि !’

पहिलो नाटक नै सफल
इस्टुको पहिलो नाटक ‘मकैको अर्को खेती’ हो, जुन ‘स्टुडेन्ट प्रोडक्सन’ हो । यो नाटक एक महिना हाउसफूल भएर थप १५ दिन चल्यो ।

पहिलो नाटकबाट उनले मिडियामा स्थान पाइन् । चलेका सबैजसो राष्ट्रिय दैनिक पत्रिकामा उनको तस्बिर छापियो ।

‘पत्रिकामा नाटकको टिमका सबैको तस्बिर आउँथ्यो । मेरो चाहिँ अलि ठूलो आउँथ्यो,’ उनी भन्छिन्, ‘बुबाले देख्नुभएछ । त्यसपछि चाहिँ म प्रति अलिक सकारात्मक भएको पाएँ । तर नाटक नै गर् भनेर चाहिँ कहिल्यै भन्नुभएन ।’

पहिलो नाटक सफल भयो । उनी त्यसपछि निरन्तर नाटकमा लागिन् । तर आर्थिक सङ्कट खेपिरहेकी थिइन् । फ्रिल्यान्सर भएर विभिन्न थियटरमा नाटक गर्दासमेत गर्जो टार्ने खर्च जुटाउन सकिनन् ।

‘नाटक चल्थ्यो, तर पैसा पाउँदैन थिएँ । घाटा छ भन्थे,’ उनी सम्झन्छिन्, ‘केही समयपछि त काम पनि पाउन छाडियो । अब के गर्ने भन्ने डर बढ्दै गयो ।’
सोही बेला उनका बुवाले छात्रवृत्तिमा जापानी भाषा पढ्ने च्यानल मिलाइदिए । इस्टु भाषा सिक्न गइन् । दुई दिन गएपछि खगेन्द्र लामिछानेको ‘दाँतको डोब’ नाटकका लागि प्रस्ताव आयो । उनले जापान नजाने निर्णय गरिन् । त्यो निर्णयका कारण बुवासँग दुई वर्ष बोलचाल बन्द भएको उनी बताउँछिन् ।

‘प्रक्रिया पूरा गर्दा जाने निश्चित जस्तै छ भनेर भाषा पढ्न गएको थिएँ । बुवाले उता काम पनि खोजिदिएको छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘नाटकको अफर आएपछि जानै मन लागेन । त्यसबेला बुबाले नाटकमा केही हुँदैन, हामी जस्तो मान्छे कलाकार बन्ने होइन भन्नुहुन्थ्यो । म विदेश नगएकाले नै बोल्न छोड्नुभयो ।’

‘दाँतको डोब’ गर्दा गर्दै फिल्महरूबाट अफर आउन थाल्यो । नाटकका क्रममा उनी अनुबन्ध भएको पहिलो फिल्म ‘साइँली’ हो ।

क्रमशः काम आउन थालेपछि भने विदेश नजाने निर्णयले सार्थकता पाउँदै गएको महसुस भएको उनी बताउँछिन् ।

काँचको पर्दाको यात्रा
पहिलो फिल्मकै क्रममा विभिन्न फिल्म, म्युजिक भिडियो र सिरियलबाट अफर आउन थालेको इस्टु बताउँछिन् । सोही बेला उनी ‘हल्का रमाइलो’ टेलिसिरियलमा ‘नेप्टी’ पात्रका लागि अनुबन्ध भएकी हुन् ।

‘सिरियलमा चाहिँ नियमित पैसा आउँछ भनेर जोडिएँ,’ उनी भन्छिन्, ‘म्युजिक भिडियो नचले पनि काम गरेका निर्देशकहरूको सिफारिसमा अन्य प्रोजेक्ट पाउँदै गएँ । फिल्महरूमा प्रस्ताव पनि आउन थाल्यो । सिरियलसँगै बाहिरी काम गर्न थालेँ । त्यसपछि भने आर्थिक रूपमा अलि सहज हुँदै गयो ।’

फिल्महरू ‘साइँली’ ‘मेरो पैसा खोइ ?’ ‘दुई नम्बरी’ ‘नाङ्गो गाउँ’ र सिरियल ‘हल्का रमाइलो’ मा दुई वर्ष काम गरेपछि फ्ल्याट खोजेर बस्ने हैसियत बनेको उनी बताउँछिन् ।

काँचको पर्दामा काम गर्दा कमाइ हुन लागेपछि केही थपेर थियटरको उधारो समेत सल्टाएको उनीले बताइन् । भनिन्, ‘उपहार भनेर केही थपेरै उधारो चुक्ता गरेँ ।’

यता सिरियल राम्रो चल्दै थियो । ‘अभिनयमा गर्छु भन्छे, तर कतै देखिँदैन’ भन्ने आफन्तले पनि सिरियलमा देख्न थालेका थिए । तर, उनलाई सिरियलमै सीमित हुन मन लागेन । दुई वर्ष काम गरेर ०७९ मा छोडिन् ।

‘अलिकति बचत रकम थियो । सिरियलबाट निर्माण प्रक्रियाबारे ज्ञान पाएर निर्देशन गर्ने सोच आयो । फेरि मलाई त्यहीँ सीमित हुनु पनि थिएन । सिरियलबाट टाढिएँ,’ भनिन्, ‘केही बचत पनि थियो, अनि आफैँ भाडा तिरेर बस्न लागेँ ।’

उनका अनुसार त्यसबेला एक वर्ष काम नगर्दा पनि काठमाडौंमा बस्नखान पुग्ने बचत थियो । आफैँले लेखेको नाटकमा त्यो बचत लगानी गर्ने उनमा हिम्मत आएन । उत्पादक पनि भटिनन् । तर, लेखनलाई निरन्तरता दिन छाडिनन् ।

‘नाटक खेलेर जोगाएको बचत लगानी त गरौंला, तर उठेन भने शून्यमा झर्छु जस्तो लाग्यो,’ भनिन्, ‘स्क्रिप्टहरू लेख्थेँ, चलेका निर्मातालाई पठाउथेँ, तर उहाँहरूले पछि वास्ता गर्नु भएन । धेरैले सुरुमा लेख भन्ने, पछि हराउने गर्नुभयो ।’

विज्ञापन गर्ने सोच
सिरियल छोडेर लेखेको स्क्रिप्ट लगानीकर्ताको अभावले सफल भएनन् । यता पैसा कमाउनु पर्ने दबाब बढ्दै थियो । भिडियो एडिटिङको सीप भएकाले आफ्नो हैसियतले भ्याउने भिडियो बनाएर युट्यूबमा आम्दानी गर्ने सोचले ‘भाइन’ बनाउन थालेको उनी बताउँछिन् ।

‘हल्का रमाइलोमा काम गर्दा पर्दा पछाडिको दृश्य खिचेर हाल्ने गरेकाले युट्यूबमा सब्स्क्राइबर बढेका थिए । अनि त्यही च्यानलबाट पैसा कमाउनकै लागि भाइन गरेँ,’ उनी भन्छिन्, ‘इच्छा भनेर के हुन्थ्यो ? पैसा त चाहिने रहेछ । धेरै दर्शकले पहिलाको कामबाट चिन्नु पनि भएको थियो । भाइन बनाए त लगानी डुब्दैन भनेर आँट गरेकी थिएँ ।’

पहिलो युट्यूब भिडियो चल्यो । त्यसपछि युट्यूबमै केही समय भुलिन् । तर, सोही समय टिकटक प्रयोग उत्कर्षमा थियो । टिकटकको भीडलाई सदुपयोग गर्ने सोच आएपछि नयाँ शैलीको स्टोरी भन्ने सोच पलाएको उनी बताउँछिन् ।

‘मलाई स्टोरी भन्नु थियो । आफ्नो आर्थिक हैसियतले भ्याउनेगरी टिकटक भिडियोबाट कथा भन्छु भन्ने सोच आयो,’ उनी भन्छिन्, ‘पहिलो टिकटक भिडियो नै भाइरल भयो । त्यसपछि विज्ञापन गरिदिन ठूला ब्रान्डको म्यासेज आउन लाग्यो । म त अचम्ममा परेँ ।’

उनको विज्ञापन गर्ने शैली फरक छ । रोचक ढङ्गले जुनै पनि ब्रान्डको विज्ञापन गर्ने क्षमता उनीसँग छ । उनले सहकार्य नगरेको ब्रान्ड नेपालमा सायदै होलान् । आम्दानी सोचेभन्दा बढी भएकाले सन्तुष्ट छिन् ।

‘तीन महिना पछिमात्रै पालो दिनेगरी व्यस्त भएको छु,’ उनी भन्छिन्, ‘फिल्ममा अफर आउँदासम्म पनि काम गर्न भ्याएको छैन ।’

अहिले समय विज्ञापनका लागि छिटो समय मिलाइदिन घरैका सदस्यमार्फत फोन गर्छन् रे ! उनलाई यो गर्व लाग्ने घटना हो ।

‘म व्यस्त भएको बेला पछिलाई समय दिन्छु । अनि फोन गरेर इस्टुलाई छिटो समय मिलाइदिन भन्नु न भन्दा रहेछन्,’ अघि दुःखका पोका फुकाउँदै आँशु झारेकी इस्टु सफलताको यो फेहरिस्त सुनाउँदै गर्दा उज्याली र हर्षित देखिइन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ०६ बजे

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा