आईडीए काठमाडौं बैठकको निचोड- गरिब मुलुकलाई ठूलो आर्थिक प्याकेज जरुरी | Khabarhub Khabarhub

आईडीए काठमाडौं बैठकको निचोड- गरिब मुलुकलाई ठूलो आर्थिक प्याकेज जरुरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बसेको विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले गरिबी झेलिरहेका र विकासमा पछि परेका मुलुकहरुका लागि सन् २०२५ देखि ०२८ सम्म सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ ।

बैठकले ती मुलुकहरुका लागि तीन वर्षे रणनीति खाका तयार पारेको हो । बैठकमा तीन दिनसम्म चलेको प्राविधिकसत्र (बन्दसत्र) मा आईडीए देशहरुको वित्तीय परिदृष्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीहरुबीच गहन छलफल भएको थियो ।

बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरुका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निस्कर्ष निकालेको छ ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए ।

‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो’, उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले बताए ।

आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ । महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निस्कर्ष छ ।

विश्व बैंकको आगामी अक्टुबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरुबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आइडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले बैठक समापन गरे । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो ।

बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि बैठकका लागि आएका थिए ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो ।

विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो । यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १ : ४६ बजे

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ– कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको