जनकपुर चुरोट निभ्यो, खेलकुद पनि ! | Khabarhub Khabarhub

खेल

जनकपुर चुरोट निभ्यो, खेलकुद पनि !

जचुकालिमा निर्भर खेलाडी कोही विदेशमा, कोही सकसमा


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुनै समय नेपालमा भएका अधिकांश खेल प्रतियोगितामा जनकपुरधामलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले सफलताको झण्डा गाड्ने गर्थे ।

नेपालमा बहुदल नआउन्जेल जनकपुरधामको खेल जगत स्वर्णिम युगमा थियो । अधिकांश खेलमा जनकपुरधामका खेलाडीहरू अब्बल हुन्थे ।

देशमा बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था आएपछि जनकपुरधामका खेल क्षेत्रले पनि कोल्टो फेर्ने त्यस समयका खेलाडीहरूको विश्वास थियो । तर खेलाडीहरूले सोचेजस्तो भएन ।

वि.सं. २०२१ सालमा स्थापना भएको जनकपुर चुरोट कारखाना (जचुकालि)ले रोजगारी श्रृजना मात्रै गरेन, कला साहित्य तथा खेलमा रुचि राख्ने व्यक्तिहरूलाई जागिर नै दिने गर्थ्यो ।

खेलाडी तथा कलाकारहरूलाई जचुकालिले जागिर दिने व्यवस्था गरेपछि यहाँका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने गर्थे क्रिकेट खेलाडी रहिसकेका संजय ठाकुर बताउँछन् ।

अर्थोपार्जन गर्न जचुकालिको जागिर भएपछि परिवार पाल्ने समस्या नहुने भएकाले तत्कालीन समयमा खेलाडीहरू आफ्नो खेलको स्तर बढाउन दिनरात मेहनत गर्थे ।

जचुकालिले क्रिकेट, फूटबल, भलिबल, कुस्ती र कबड्डी लगायत खेलहरूमा खेलाडीको भविष्य सुनिश्चित गर्न जागिर दिने गर्थ्यो । २०४६ सालसम्म त जचुकालिको र जनकपुरधाम दुबैको खेल जगतमा भविष्य उज्वल थियो । २०४६ सालमै बहुदलीय प्रजातन्त्र आयो । बहुदलीय व्यवस्था आएसँगै जचुकालि अवन्नतितर्फ बढ्न थाल्यो, यहाँका खेलाडीका भविष्य पनि !

२०४६ सालमा प्रजातन्त्र आएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । सरकार परिवर्तन भएलगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशायी हुँदै गयो । एक समय ४ हजारभन्दा बढी कर्मचारीलाई जागिर दिने क्षमता राखेको जचुकालि आफ्नै कर्मचारीको तलब पूर्ति गर्न नसक्ने अवस्थामा पुग्यो ।

जचुकालिको अवस्था खस्कँदै गएपछि ऋण काढेर पनि सञ्चालनमा ल्याउने थुप्रै प्रयासहरू नभएका होइनन्, तर वर्षैपिच्छे सरकार परिवर्तनको खेलले संचालनमा आउन सकेन । बन्द गरेको वर्षौं भइसके पनि कर्मचारीहरूले पाउने एकमुष्ट रकम तथा बीमा भुक्तानी अझै पाउन नसकेको जचुकालिमा कर्मचारी रहिसकेका सुरेश झा बताउँछन् ।

जचुकालिको अवनतिसँगै जनकपुरधामले खेल क्षेत्रमा गुमाएको साख अझै उकास्न सकिएको छैन । अचेल जचुकालि आफैँ एउटा बोर्डमा सीमित छ । आफ्नो भवन छ, तर अहिले त्यहाँ प्रदेश सरकारका मन्त्रालयहरू तथा मन्त्रीहरूको आवास बनाइएको छ ।

सरकारी उदासिनताकै कारण खेल छोडेँः पूर्व खेलाडी अशोक दत्त
दुई दशक अघिसम्म जनकपुरधामको क्रिकेट र फूटबल टिमसँग राष्ट्रिय टिमले समेत कयौं पटक पराजय भोग्नु पर्थ्यो । तर यो सबै जनकपुरधामको खेल इतिहासमै सीमित भइसक्यो ।

जनकपुरधामको खेल जगतलाई चम्काउने मध्येका एक हुन साहित्यकार एवम्‌ पत्रकार अशोक दत्त । उनी कुनै समय अब्बल दर्जाका क्रिकेटरको रूपमा चिनिन्थे । क्रिकेटमा धारिलो बलिङ गर्न खप्पिस रहेकाले दत्तलाई जचुकालिले जागिर नै दिएको थियो ।

साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले जागिरमा राखेको त्यो दिनलाई स्मरण गर्दै दत्त भन्छन्‌, ‘शुरुमा बलरको रूपमा जनकपुर अञ्चलको टिममा स्थान पाएको थिएँ, पछि ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउण्ड प्रदर्शन गरेर कयौंपटक आफ्नो टिमलाई राष्ट्रिय स्तरमा गोल्ड मेडल तथा सिल्भर मेडल जिताउन सफल भएको थिएँ ।’

जचुकालिले जागिर दिएका कारण साहित्यलेखन त खुबै गर्थे, साथै क्रिकेटमा सुधार ल्याउन निकै मेहनत दत्त बताउँछन् । बहुदलीय प्रजातन्त्र आउँदा उनी औधी खुशी थिए । तर, एक खेलाडीको रूपमा आफ्नो अवशान त्यहीँबाट शुरु भएको उनको भनाइ छ ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि जचुकालिमा समेत खिचातानीको राजनीति शुरु भयो । खेलाडीहरूसँगको सम्झौता एक पछि अर्को गर्दै तोड्न थालिएको थियो ।

‘वर्ष २०५०को कुरो हो- राजविराजमा देशभरका टिम सहभागी थिए । म पनि जनकपुर अञ्चल टिमबाट ! टिमले सो उपाधि हासिल गर्न सफल पनि भयो,’ दत्तले भने ‘सो प्रतियोगिता जितेपछि मैले म सँग रहेको क्रिकेटको बल, प्याडका साथै अन्य सामाग्रीहरू आफ्ना जुनियर खेलाडीहरूलाई दिइहालेँ ।’

क्रिकेट छोड्नुको मूल कारण आफ्नो खेलको स्तर खस्केको नभइ सरकारी उदासीनता र खेलमा भविष्य सुरक्षित नदेख्नु रहेको उनले बताए । ‘त्यसैले नचाहँदा नचाहँदै पनि क्रिकेट छोड्न बाध्य भएँ,’ उनले थपे ।

क्रिकेट करियबाट पूर्ण विराम लगाएपछि उनले साहित्य लेखन र पत्रकारितालाई निरन्तरता दिने निधो गरे । खेल छोडेपछि पछिल्ला लामो समयसम्म पत्रकारिता गरेका उनी अहिले क्यान्सर रोगसँग जुधिरहेका छन् ।

खाजा पसल चलाउँदै पूर्व फूटबलर दिनेश सिंह
जनकपुरधाम उपमहानगरपालिका-७ का दिनेश सिंह जनकपुर क्षेत्रमा फूटबलका चर्चित खेलाडी थिए । खेल प्रतिभाकै कारण दिनेशलाई जनकपुर चुरोट कारखानामा जागिर दिइएको थियो ।

तर, दिनेश अहिले खाजा पसल खोलेर जीवन निर्वाह गरिरहेका छन । भन्छन्, ‘जचुकालिमा ११ वर्षजति काम गरेँ, कारखाना कमजोर बनेपछि हामीलाई हटाइयो, त्यसयता हाम्रा लागि जीवन जीउन गाह्रो भएको छ ।’

६३ वर्षीय दिनेशको धोको युवाहरूलाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी बनाउने छ । तर पेटले खाजा पसलभन्दा बाहिर जान दिइरहेको छैन ।

जनकपुर चुरोट कारखानाको आफ्नै फूटबल टिम थियो । त्यो टिममा दिनेशसहित अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साह लगायतका खेलाडीहरू थिए ।

जचुकालिको टिमसँग नेपालका कुनै पनि फूटबल टिम भिड्न डराउँथे । कतिले त जचुकालिको फूटबल टिमलाई नै राष्ट्रिय टिमसम्म भन्ने गर्थे । विदेश जाँदा पनि यही टिमका कयौं खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्ने गर्थे ।

आफू विदेश जान नसके पनि नेपालका अधिकांश ठाउँमा हुने प्रतियोगिताहरूमा सहभागी हुने गरेको थिए दिनेशले बताए । उनले भने, ‘म कहिले पोखरा, कहिले धनगढी, कहिले विराटनगर, कहिले काठमाडौं…यतिसम्म कि सीमावर्ती भारतमा पनि कयौं खेलमा सहभागी भएको छु ।’

अतीत राम्रो भए पनि वर्तमान एकदमै कष्टकर रहेको पीडा दिनेश सुनाउँछन् । यस उमेरमा सरकारले उनलाई खेल क्षेत्रमा गरेको सेवावापत निवृत्तिभरण दिनुपर्ने थियो । तर, आज घरका सदस्यहरूको भोको पेट भर्न उनी खाजा पसल चलाउँदैछन् ।

वेट लिफ्टिङका पूर्व राष्ट्रिय खेलाडी अमरचन्द्र अनिल देशमा सङ्घीयता आए पनि खेल विकास गर्ने खास योजना प्रदेश सरकारले समेत नल्याउनु दुःखद रहेको बताउँछन् ।

यी खेलाडीहरू प्रतिनिधिमूलक पात्र मात्रै हुन् । कयौँ खेलाडी खेलबाट पलायन भएर आफ्नो भोको पेट पाल्न वैदेशिक रोजगारमा लागि सकेका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : ३० बजे

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

वीरगञ्ज–  जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा

निकुञ्ज आउने पर्यटक घटे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको

धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द

महेन्द्रनगर– बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि