‘अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु’, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट सुत्केरीको उद्धार’, ‘सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार’ लगायत शीर्षकमा हामीले प्राय समाचार सुन्ने र पढ्ने गरेका छौं। हाम्रा लागि यो समाचार मात्रै हो। तर कर्णालीवासी महिलाका लागि दैनिक भोगाइ र पीडा हो। धेरै पछाडि परे पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेका उदाहरण पनि छन्। बाल मृत्युदर, मातृ मृत्युदर, रक्तअल्पताको परिमाणलाई हेर्दा स्वास्थ्य स्थितिमा विगतका तीन दशकको तथ्याङ्कमा केही प्रगति भएको विभिन्न अध्ययनमा उल्लेख छ। तर अझै पनि कर्णाली प्रदेशका आठमध्ये सुर्खेत र जुम्लाबाहेक अन्य जिल्लामा बालरोग, महिलारोग लगायत विभिन्न विशेषज्ञको उपस्थिति छैन। सबै जिल्लामा दरबन्दी भए पनि त्यहाँका अस्पताल मेडिकल अधिकृत, अहेव, अनमीको भरमा चल्ने गरेका छन्।
जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डा. अखण्ड उपाध्याय भन्छन्, ‘सामान्य खालका बीरामीलाई यहाँ उपलब्ध चिकित्सकले हेर्नुहुन्छ भने कडा खालका बिरामी तथा बालबालिकालाई सुर्खेत नै रेफर गर्नुपर्छ।’
खबरहबसँग कुरा गर्दै डा. उपाध्याय भन्छन्, ‘सबै पालिकामा बर्थिङ सेन्टर छन्। जटिल खालका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीको लागि शल्यक्रिया गरेर सुत्केरी गराउने व्यवस्था पनि जिल्ला अस्पतालमा छ। तर नवजात शिशुमा जन्मजातै केही समस्या देखियो भने रेफर गर्नुबाहेक अर्को विकल्प हामीसँग छैन।’
उनका अनुसार जन्मजातै केही बालबालिकामा मुटुको समस्या हुने, सास फेर्न गाह्रो हुने समस्या देखिन्छन्। त्यस्ता बालबालिकालाई जिल्ला अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र काठमाडौं रेफर गर्ने गरिएको छ। यो त्यहाँको एकदमै जटिल समस्या हो।
बच्चाको तौल घट्दै गयो, ख्याउटे देखियो, सुन्निएको जस्तो देखियो भने अस्पतालमा ल्याएर आउने अभिभावक छन्। तर कतिपय अभिभावक अझै पनि बच्चालाई कसैको आँखा लाग्यो, बोक्सी लाग्यो भन्दै धामी र झाँक्रीकहाँ लगेर जाने चलन अझै रोकिएको छैन।
कुपोषणबारे सचेतनाको कमी
बिगतको तुलनामा कुपोषणमा कमी आएको छ। बच्चाको तौल घट्दै गयो, ख्याउटे देखियो, सुन्निएको जस्तो देखियो भने अस्पतालमा ल्याएर आउने अभिभावक छन्। तर कतिपय अभिभावक अझै पनि बच्चालाई कसैको आँखा लाग्यो, बोक्सी लाग्यो भन्दै धामी र झाँक्रीकहाँ लगेर जाने चलन अझै रोकिएको छैन।
उनका अनुसार सदरमुकाम आसपास बस्ने अभिभावक बच्चामा सामान्य समस्या देखिँदा पनि अस्पताल ल्याएर उपचार गराउँछन्। अन्य दुर्गम क्षेत्रका अभिभावकको पहिलो सम्पर्क भनेको धामी र झाँक्री नै हो। त्यसपछि एकदमै गम्भीर अवस्था देखिए मात्र अस्पताल ल्याउने चलन रहेको उनको भनाइ छ।
पहिलेको तुलनामा सुधार आए पनि धेरै अभिभावकलाई अझै पनि कुपोषण हुँदा अस्पताल लैजानुपर्छ भन्ने चेतना नभएको उनले बताए। अहिले डोल्पाका ८ वटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी, ठुलीभेरी, डोल्पोबुद्ध लगायत स्थानीय तहका केहीकेही बालबालिकामा गम्भीर खालको कुपोषण देखिएको छ।
जिल्ला अस्पताल डोल्पामा आउने कुपोषित बालबालिकामध्ये सिरियस खालका बालबालिकालाई सुर्खेत रेफर गर्ने गरिएको छ भने बाँकी सामान्य तथा मध्यम खालका बालबालिकाको जिल्ला अस्पतालमै उपचार हुने उनले बताए।
डोल्पाका ८ वटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी, ठुलीभेरी, डोल्पोबुद्ध लगायत स्थानीय तहका केहीकेही बालबालिकामा गम्भीर खालको कुपोषण देखिएको छ।
कर्णाली प्रदेशमा उत्पादन हुने अन्न नै पोषणको राम्रो स्रोत हो, यसबारे सचेतना जगाउन के पहल गर्नुभएको छ ? भन्ने प्रश्नमा उपाध्यायले भने, ‘हो यहाँ उत्पादन हुने कोदो, फापर, जौ, मकै लगायत अन्न आफैमा पौष्टिक आहार हुन्। सरकारले दिने गरेको पोषिलो पिठो पनि यस्तै अन्नबाट तयार पारिएको हो। हामीले यसबारे स्थानीयलाई जानकारी गराउने गरेका छौं।’
समय मिलाएर कुनै ठाउँमा हप्तामा एक दिन, कुनै ठाउँमा महिनामा एक दिन गाउँ र घरमै गएर स्थानीय खानामै जोड दिनुपर्छ भनेर जनचेतना जगाउने काम गरिरहेको उनले बताए। पछिल्लो समय प्याकेटकै खानेकुरामा धेरैको रुचि बढ्दै गएकाले यसबारे चेतना फैलाउन कठिन भइरहेको उनको भनाइ छ।
पोषण कार्यक्रम र यसको प्रभावकारिता
अहिले सरकारले पोषिलो पिठो वितरण कार्यक्रम सञ्चालन गरेको छ। जसले धेरै फाइदा पुगेको उपाध्यायको अनुभव छ। उनले भने, ‘बच्चाका लागि दिने पोषिलो पिठो एकदमै प्रभावकारी भइरहेको छ। अभिभावकले बच्चालाई खुवाउने तरिका सिकेर जाने गरेका छन्।’ सरकारले पोषिलो खानाका लागि कोशेलीका रुपमा सुत्केरी आमा तथा बालबालिकालाई दिने भनेर छुट्याएको बजेट भने प्रभावकारी नभएको उनले बताए।
‘पोषिलो खानाका लागि सरकारले छुट्याएको बजेट सबै ठाउँमा सदुपयोग भएको देखिँदैन। केही पालिकाले रियल जुस, कसैले हरलिक्स र च्यावनपरास किनेर बाँड्ने गरेको देखिन्छ। यसमा सरकारले अलिकति कडाइ गरेर के–के दिने भनेर निर्देशिका नै बनाउनुपर्ने देखिन्छ।’ तोकिएको खानेकुरा बाहेक अन्य दिन नपाउने भनेर नियम नै बनाइदिएको भए कार्यक्रम पनि राम्रो हुने र कुपोषण हुने दर पनि कम हुने उनको सुझाव छ।
‘पोषिलो खानाका लागि सरकारले छुट्याएको बजेट सबै ठाउँमा सदुपयोग भएको देखिँदैन। केही पालिकाले रियल जुस, कसैले हरलिक्स र च्यावनपरास किनेर बाँड्ने गरेको देखिन्छ।’
कुनै पालिकाले भने प्राप्त बजेटको सदुपयोग गरेको उनले बताए। ‘केही पालिकाले अण्डा, घिउ, सातु लगायतका पोषिलो खानेकुरा दिएर बजेटको सदुपयोग गरेका छन्’, उनले थपे, ‘तर धेरै पालिकाले जंकफुड नै दिने गर्दछन्।’
बिकराल बन्दै आङ खस्ने समस्या
सानै उमेरमा बिहे गरेर बच्चा जन्माउने र भारी काम गर्नुपर्ने बाध्यता भएकाले महिलामा आङ खस्ने समस्या कर्णाली प्रदेशमा विकराल बन्दै गइरहेको उपाध्याय बताउँछन्।
‘आङ खस्ने समस्या धेरै महिलाले लुकाएरै बस्छन्। उपचारका लागि अस्पतालसम्म पुग्नेलाई रेफर गरेर पठाउनुपर्ने हुँदा उपचारका लागि जान समस्या हुने गरेको छ। यसबारे पनि बेलैमा सरकारले चेतनामुलक कार्यक्रम गर्ने, क्याम्प चलाउनु आवश्यक छ’, उनले भने।
बर्खामा झाडापखाला र ज्वरोको प्रकोप
डोल्पा लगायत कर्णालीका जिल्लामा अहिले बर्खाको मौसममा धेरैजसो झाडापखाला तथा ज्वरो प्रकोपकै रुपमा फैलिने गरेको उपाध्याय बताउँछन्। पानीका मुहानमा पहिरो गएपछि खानेपानीको समस्या छ। भएको पानी फोहोर भएकाले पानीजन्य रोग धेरै फैलिने गरेको उनले बताए।
स्वास्थ्यमा सुधार ल्याउन के गर्ने ?
स्वास्थ्य क्षेत्रमा सुधारका लागि जनचेतनाको विस्तार हुनुपर्ने उपाध्यायको अनुभव छ। ‘म विगत तीन वर्षदेखि डोल्पा जिल्ला अस्पतालमा कार्यरत छु। यहाँ विशेषत जनचेतनाको एकदमै कमी देखिन्छ। यौन शिक्ष तथा प्रजनन स्वास्थ्यका बारेमा जनचेतना जगाउनु आवश्यक छ’, डा. उपाध्यायले भने।
म विगत तीन वर्षदेखि डोल्पा जिल्ला अस्पतालमा कार्यरत छु। यहाँ विशेषत जनचेतनाको एकदमै कमी देखिन्छ। यौन शिक्ष तथा प्रजनन स्वास्थ्यका बारेमा जनचेतना जगाउनु आवश्यक छ ।
उनका अनुसार डोल्पा लगायत कर्णाली क्षेत्रको ठुलो समस्या भनेको बाल विवाह हो। यहाँका धेरै आमा १७ र १८ वर्षका हुन्छन्। कतिपयको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ। कतिपय भने प्रशव पीडासँगै ज्यान गुमाउन बाध्य हुन्छन्। अत्याधिक रक्तश्राव भएर राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत कति आमालाई सुर्खेत र काठमाडौं रेफर गर्नुपर्ने अवस्था छ।
उपाध्ययका अनुसार अहिले पनि अन्धविश्वासमा मानिस अल्झिएकाले स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ। ‘यहाँका स्थानीयले स्वास्थ्य संस्था भन्दा पनि धामी र झाक्रीप्रति बढी विश्वास गर्छन्। एकैपटक उनीहरुको धामी र झाँक्रीप्रतिको विश्वास हटाउन नसकिए पनि त्यो सँगसँगै अस्पताल पनि जानुस भनेर यसका फाइदा बेफाइदाबारेमा जनचेतना जगाउन सकिए केही सुधार आउने उनको विश्वास छ।
(जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डा. अखण्ड उपाध्यायसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया