समाचार

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध

By खबरहब

August 22, 2024

तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार साँझ मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो गएको थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानैदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।

पहिरो हटाउन सडक विस्तारको ठेकेदार कम्पनी र नेपाली सेनाको टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले मुख्य सडक बन्द भएकाले सवारी साधनहरुलाई वैकल्पि मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रुट प्रयोग गर्न भनेको छ । यस्तै, घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिने जनाइएको छ ।

ठूला सवारी साधनको हकमा डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ–जाउ गर्न आग्रह गरिएको छ ।