एमालेबारे कांग्रेसको रणनीति : सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा | Khabarhub Khabarhub

मिसन मंसिर १६

एमालेबारे कांग्रेसको रणनीति : सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा

नेता-कार्यकर्तालाई चुनावभर भूगोल नछोड्न निर्देशन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले उपनिर्वाचन हुन लागेका स्थानीय तहका कार्यसमितिलाई ‘मिसन मंसिर १६’ मा केन्द्रित हुन निर्देशन दिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले मंसिर १६ मा उपनिर्वाचन हुने स्थानीय तहका पार्टी कार्यसमितिलाई ‘मिसन मंसिर १६’ मा केन्द्रित हुन निर्देशन दिएको हो ।

‘मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचन लोकतान्त्रिक प्रणाली र कांग्रेस पार्टीका लागि विशेष रूपले महत्वपूर्ण छ,’ संयोजकसमेत रहेका महामन्त्री शर्माद्वारा मंसिर ४ मा जारी परिपत्रमा भनिएको छ, ‘अतः उपनिर्वाचन हुने तहका साथीहरू ‘मिसन मंसिर १६’ मा सम्पूर्ण रूपले केन्द्रित हुन जरुरी छ ।’

मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग सरकारमा सहयात्रा रहे पनि ‘सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा’ को नीति अवलम्बन गरेको कांग्रेसले आपसी एकता, विश्वास र व्यवस्थित कार्ययोजनाका साथ परिणाम हासिल गर्नुपर्नेमा जोड दिएको छ ।

चुनावी प्रतिस्पर्धाका क्रममा दलहरूबीच सद्भाव र सामाजिक एकता कायम राख्न कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै महामन्त्री शर्माले त्यसमा रत्तिभर आँच आउन नदिई पार्टीका उम्मेदवारहरू विजय गराउन एकताबद्ध ढंगले अघि बढ्न भनेका छन् ।

१५ बुँदे परिपत्रमा चुनाव हुने तहका नेतृत्वपंक्तिका नेताहरूलाई चुनाव सम्पन्न हुनुभन्दा अगाडि साह्रै बिरामी परेको अवस्था र आपतकालीन परिस्थितिबाहेक आफ्नो चुनावी भूगोलबाहिरको कार्यक्रम नबनाउन भनिएको छ । परिपत्रमार्फत् कांग्रेसले चुनावमा प्रभाव राख्न सक्ने नेता–कार्यकर्ता चुनावी भूगोलभन्दा बाहिर देशभित्रै कहीँ भए तत्काल बोलाउनेसमेत निर्देशन दिएको छ ।

कांग्रेसले चुनावमा पार्टीलाई विजय गराउनका लागि ठूला सभाभन्दा टोल केन्द्रित भेला, कोणसभा र भेटघाटमा बढी समय प्रयोग गर्न, पार्टीको विजयका लागि मैदानमा खट्ने सबै कार्यकर्ताहरूको रेकर्ड (तथ्यांक) अनिवार्य रुपमा राख्न र निर्वाचन परिणामपश्चात् माथिल्लो समितिमा पठाउन पनि चुनाव हुन गइरहेका तहका मातहतलाई निर्देशन दिएको छ ।

परिपत्रमा गत निर्वाचनमा पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका र विरुद्धमा रहेका नेता–कार्यकर्तालाई आशन्न उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाका आधारमा कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने पार्टीको केन्द्रीय नीति रहेको उल्लेख छ ।

कांग्रेसले गत निर्वाचनपछि पार्टीको कारबाहीमा परेका र आशन्न उपनिर्वाचनमा पार्टीको पक्षमा भूमिका निर्वाह गर्ने कार्यकर्ताको विवरण उपचुनावपछि माथिल्लो कार्यसमितिमा पठाउन पनि भनेको छ ।

उपचुनाव हुने भूगोलमा चुनावकेन्द्रित अभियानबाहेक मंसिर १६ अघि अन्य कुनै पनि कार्यक्रम आयोजना नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले उपचुनाव हुने भूगोलका मातहत कार्यसमितिहरूलाई उम्मेदवार बन्न आकांक्षा राखेर टिकट नपाएका आकांक्षीहरूलाई सम्मानपूर्वक समन्वय गरी विजय अभियानमा अघि बढाउन र आगामी दिनको जिम्मेवारीका लागि प्रेरित गरी विश्वासमा लिन पनि भनेको छ ।

कांग्रेसले उपनिर्वाचन लक्षित गरेर उपनिर्वाचनसम्म सम्पूर्ण समय दिएर व्यवस्थापनमा समय दिन सक्ने कार्यकर्ता सहभागी गराएर ५ देखि ७ जना रहेको सचिवालय, चुनाव हुने तहको मुख्य नेतृत्व पंक्तिको सहभागितामा चुनाव परिचालन समिति र चुनावी प्रचारका लागि अनुभवी कार्यकर्ताहरू सम्मिलित मूल प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ ।

यस्तै पार्टी, महिला संघ र अन्य भ्रातृ संस्थाका महिलाहरूको समन्वयमा महिला प्रचार–प्रसार समिति, सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने उत्साही युवा सम्मिलित युवा प्रचार–प्रसार समिति, प्रचार अभियान, बुथ सुरक्षा, मतपेटिका संकलनदेखि मतगणनासम्म व्यवस्थित रूपले काम गर्न र हरेक प्रकारका दबाब संगठित रूपले सामना गर्न सक्ने युवासम्मिलत स्वयंसेवक समिति पनि गठन गर्न परिपत्रमा भनिएको छ ।

‘यी समितिहरूका अलावा बौद्धिक क्षेत्र, व्यवसायीक क्षेत्र, सामाजिक संघ–संस्था, स्थानीय प्रशासन, अन्य दल समन्वयलगायतको संरचना अविलम्ब निर्माण एवम् परिचालन गर्ने,’ स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको परिपत्रमा उल्लेख छ ।

कांग्रेसले मतदातामाझ पार्टीका मुद्दा र प्रतिवद्धता स्पष्ट ढंगले राख्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ । उसले लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने, स्थानीय तहलाई थप जनमुखी बनाउने, संघीय सरकारलाई अझ जिम्मेवार बनाउने र सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिवद्धता मतदातामाझ राख्न भनेको छ ।

कांग्रेसले विगतमा पुगेका विकासका काम नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनाहरूलाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न र स्थानीयवासीको भावना र आवश्यकता अनुरूप स्थानीय स्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्न पनि मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ ।

परिपत्रमा उम्मेदवार र अन्य प्रचार–प्रसारमा खटिने कार्यकर्ता सबैको सार्वजनिक प्रस्तुति अत्यन्तै सालिन, जिम्मेवार र परिपक्व राख्न सबै तहका नेतृत्वले धैर्यताका साथ समन्वय गर्न पनि भनेको छ ।

‘स्थानीय साथीहरूकै सक्रियतामा विजय हासिल हुने हो, अतः त्यहाँ असर पर्ने गरी तोकिएको जिम्मेवारीका साथीहरूबाहेक बाहिरका कसैलाई पनि चुनावी भूगोलमा भिड गर्नबाट नियन्त्रण गर्ने,’ परिपत्रमा भनिएको छ, ‘यी समग्र कार्यहरूको सम्पादन गर्ने क्रममा आवश्यक सहजीकरण तथा कार्य अनुगमनका लागि एक विशेष संयन्त्रका रूपमा अग्रज नेतृत्व सम्मिलित ‘उपनिर्वाचन विशेष अनुगमन समिति’ गठन गर्ने ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ११ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत