नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड | Khabarhub Khabarhub

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद्को पूर्व सूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि राज्यका जिम्मेवार निकायदेखि समुदायस्तरमा अझै त्यसप्रति गम्भीर ध्यानाकर्षण हुन नसक्दा ठूलो जनधनको क्षति हुने गरेको सरोकारवालाहरूले बताएका छन् ।

प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट) को १६औँ वार्षिक साधारणसभा तथा मनसुन समीक्षा कार्यक्रमका अवसरमा नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा उनीहरूको जोड थियो ।

सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अजरवैजानको बाकुमा जारी जलवायु सम्मेलनमा गत असोज दोस्रो साता आएको बाढी पहिरो जलवायु परिवर्तनको कारण सिर्जित समस्या भएकाले यसलाई हानि नोक्सानीका रूपमा लिनुपर्ने नेपालको मागलाई विश्व समुदायले स्वीकार गरेको जानकारी दिए । उनले पूर्वसूचनासँगै स्थानीयस्तरसम्म पूर्वतयारका कार्यहरू हुन जरुरी रहेको बताए ।

डिपिनेटका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले विपद्सम्बन्धी ऐन, कानुन, कार्य योजना बनाउँदैमा नहुने हुँदा त्यसको पूर्ण कार्यान्वयनमा सरकार, निजी क्षेत्र र आम समुदायबीच सहकार्य र समन्वयको खाँचो औँल्याए । सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनत बस्नेतले द्वन्द्वको समयमा शान्ति सुरक्षार्थ गठन गरिएको बललाई पछि विपद् व्यवस्थापनमा बढी केन्द्रित गरिएको र अन्य देशहरूमा पनि नेपालको अभ्यास उदाहरणीय रहेको उल्लेख गरे ।

सो अवसरमा राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारीले राससले देशभर भएका विपद्का घटना, उद्धार, राहतका समाचारहरूलाई उच्च महत्वका साथ सम्प्रेषण गरी जनतालाई सुरक्षित रहन तथा जिम्मेवार निकायहरूलाई राहत, उद्धार र पुनः स्थापनाका कार्यमा सहयोग पुर्‍याएको बताउँदै यस वर्षको मनसुनका घटनाहरूसम्बन्धी विभिन्न तस्बिर तथा भिडियो प्रस्तुत गरेका थिए ।

डिपिनेटका प्राविधिक सल्लाहकार रामप्रसाद भण्डारीले विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएका यस वर्षको मनसुनसँग सम्बन्धित समाचारहरूको विश्लेषण गरेका थिए ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्दकुमार झाले पनि विभागले पूर्व सूचना दिँदा दिँदै पनि त्यसको बेवास्ता गरिँदा विपद्बाट ठूलो जनधनको क्षति भएको बताए  ।

डिपिनेटका अध्यक्ष डा राजु थापाले विपद् व्यवस्थापनमा संलग्न सरकारी, गैरसरकारी सङ्घसंस्था एवं प्राज्ञिक निकायहरूसँगको सहकार्यमा अध्ययन, अनुसन्धानका कार्यहरू गर्दै आएको बताए ।

महासचिव सुरज गौतमले संस्थाले वर्षभरि गरेका क्रियाकलापहरूका बारेमा प्रस्तुतीकरण दिएका थिए । अक्सफामका राष्ट्रिय प्रतिनिधि तृप्ती राईलगायतले पनि विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो औँल्याए  ।

कार्यक्रममा गत असोज ११ गते काठमाडौंको नख्खुखोलामा आएको बाढीमा परी ज्यान जोखिममा परेका दुई सर्वसाधारणको जीवितै उद्धार गरेका छनिकलाल तामाङलाई १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : २३ बजे

मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव

गोरखा – चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१,

सकियो ‘रंगी’को छायाङ्कन

काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो

एजेन्सी – छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो

दूधमतीको भूभाग सीमाङ्कन गरिने

महेन्द्रनगर – ऐतिहासिक तथा धार्मिक महत्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक

विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ

धनुषा – जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज